Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविन्टर इन्टेक कोड क्याम्प सुरू

विन्टर इन्टेक कोड क्याम्प सुरू


काठमाडौँ । नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प सुरू भएको छ । आईएमई पे, स्विफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजना भइरहेको विन्टर इन्टेक कोड क्याम्प आइतबारदेखि हेरिटेज गार्डेनमा एक कार्यक्रमको आयोजना गरी सुरू भएको हो । कार्यक्रममा दुई सय बढी विद्यार्थीहरुको सहभागिता छ ।

आईटी उद्योग र एकेडेमिया बीचमा देखिएको ग्यापलाई कम गर्ने उद्देश्यअनुरुप आयोजना गरिएको कार्यक्रममा गत पुस २ देखि १६ गतेसम्म रजिस्ट्रेसन आह्वान गरिएको थियो । कोडक्याम्पको लागि चार सय बढी विद्यार्थीहरुको आवेदन परेको थियो । पहिलो चरणबाट दुई सय बढी विद्यार्थीहरु छानिएर रुचि भएको प्रोग्रामिङको समूहमा सहभागी भएर प्रोजेक्ट तयार गर्नेछन् । यसपश्चात् छनौटमा परेका एक सय प्रतिस्पर्धीहरु स्किल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । उनीहरुलाई माघ ३ देखि चैत ३ गतेसम्म दुई महिना कम्पनीमा रहेर इन्टेक ट्रेनिसिप कार्यक्रममा सहभागी गराइने आयोजकले जानकारी दिएको छ ।

चैत १७ गतेदेखि आयोजक कम्पनीहरुले उत्कृष्ट ५० देखि सय विद्यार्थीलाई नियमितरुपमा रोजगारीको अवसर प्रदान गर्नेछन् । आईटी उद्योग र एकेडेमीबीचको एक महत्वपूर्ण सहकार्य र दायित्वको रुपमा यो कार्यक्रम विकास गरिएको आयोजक इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए । यसले नेपालको डिजिटल इकोसिस्टमको विकासमा पनि सघाउ पु¥याउने उनको विचार थियो ।

आईटी उद्योगमा पछिल्लो समय दक्ष जनशक्तिको अभाव भइरहेको कारण आईटी कम्पनीहरुले यस किसिमको कार्यक्रमको आयोजना गरेर दक्षता विकास गर्दै अवसर प्रदान गर्नु अत्यन्त राम्रो काम भएको क्यान महासंघका पूर्वअध्यक्ष तथा ग्रिन आइटी सोलुसनका अध्यक्ष विनोद ढकालले बताए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्विफ्ट टेक्नोलोजीका सीईओ रघु भण्डारीले नयाँ प्रतिभाहरू पहिचान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको जानकारी दिए ।

यस कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका ४० बढी कलेजहरुबाट विद्यार्थीहरुको सहभागिता छ । सातौँ तथा आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको लागि तयार पारिएको यो कार्यक्रममा सहभागी हुन पाउनु महत्वपूर्ण उपलब्धि भएको विद्यार्थीहरुले बताए । क्याम्पमा सहभागी विद्यार्थीहरुले आईटी उद्योगमा चर्चित प्रोग्रामिङ ल्याङ्ग्वेज र डिजाइनमा समेत आफ्नो सीप देखाउँदै थप सिक्ने अवसर प्राप्त गर्नेछन् ।

क्याम्पमा जाभा, रियाक्ट, डटनेट, एंगुलर, लाराभेल, एन्ड्रोइड तथा आईओएस एप डेभलपमेन्ट, एआई, डेटाबेस, युएक्सयुआई डिजाइन, ग्राफिक्स डिजाइन, पाइथन, फ्लटर, पीएचपी, बिजनेस एनालिष्ट लगायतमा छुट्टाछुट्टै समूह बनाएर ट्रेनिसिप प्रदान गरिनेछ । यसको लागि हरेक समूहको टिम लिडर आईटी कम्पनीमा नै काम गरिरहेका सिनियर एक्सपर्ट रहेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x