Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकोरोनाले स्थानीय तहका कामकाज ठप्प, धमाधम बन्द हुँदै सेवा

कोरोनाले स्थानीय तहका कामकाज ठप्प, धमाधम बन्द हुँदै सेवा


दोलखा । तेस्रो लहरको कोरोना सुरु भएसँगै जिल्लाका स्थानीय तहले दिने सेवा धमाधम बन्द हुन थालेका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेकोे दोलखाका धेरैजसो स्थानीय तहका कर्मचारीलाई कोरोना संक्रमण भएको छ । जिल्लाको शैलुङ गाउँपालिका मात्र १७ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ । त्यस्तै तामाकोशी गाउँपालिकामा पनि केही कर्मचारीलाई कोरोना संक्रमण भएको भन्दै पालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।

यता जिल्ला प्रशासन कार्यालय दोलखाले पनि कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दै जिल्ला प्रशासनका सेवामा कटौती गर्दै नागरिकता तथा राहदानी बनाउन आउनेलाई स्थानीय तहअनुसार बार छुट्याइदिएको छ । प्रशासनले कोरोना भाइरसको संक्रमणदर उच्चरुपमा वृद्धि हुँदै गएको भन्दै भिडभाड कम गर्न सेवामा कटौती गरेर बारअनुसार सेवा दिन लागेको हो । प्रशसनले नौ गतेबाट लागू हुनेगरी समय तालिका निर्धारण गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुरले जानकारी दिए ।

उनका अनुसार जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र इलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्रबाहेकका गौरीशंकर गाउँपालिकाका वडाहरुका नागरिकका लागि आइतबार, मंगलबार र बिहीबार सेवा दिने भएको छ । त्यसैगरी भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, शैलुङ गाउँपालिका र इलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्रबाहेकका कालिञ्चोक गाउँपालिकाका वडाहरुका नागरिकलाई सोमबार, बुधबार र शुक्रबार सेवा दिने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

शैलुङ गाउँपालिकाले पनि बिहीबार एक सूचना जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमणका कारण शुक्रबारदेखि १३ गतेसम्म गाउँपालिका सम्पूर्ण सेवा बन्द गरेको छ । धेरैजसो स्थानीय तहले हिउँदे अधिवेशन गर्न समेत बाँकी रहेको हुँदा दर्जनौँ विकास निर्माणका काम समेत प्रभावित भएका छन् । अन्तिम समयमा पुगेका विकास निर्माणका योजना पूरा गर्न तथा बजेट संशोधन गर्न जिल्लाका स्थानीय तहले पुस र माघभित्रमा हिउँदे अधिवेशन गर्ने गर्छन् तर धेरैजसो कर्मचारीलाई कोरोना संक्रमण हुँदा गाउँपालिका नै बन्द हुन थालेकाले स्थानीय तहका कामकाज प्रभावित बनेका हुन् । जिल्लाका अन्य सरकारी कार्यालयमा कार्यरत कर्मचारीमा समेत दैनिक संक्रमण फेला परिरहेकाले नियमित कामकाज बन्द भएका छन् । कोरोनाकै कारण जिल्लाका शैक्षिक संस्था बन्द भएका छन् । जिल्लामा हाल एक सय ११ जना कोरोना भाइरसका सक्रिय बिरामी रहेका छन् । बिहीबार पनि जिल्ला ३४ जना नयाँ संक्रमित थपिएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x