Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएफटीटीएच प्रविधि र अप्टिकल फाइबर परियोजना समयमै सक्न निर्देशन

एफटीटीएच प्रविधि र अप्टिकल फाइबर परियोजना समयमै सक्न निर्देशन


काठमाडौं, माघ २३
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । टेलिकमको १६औं वार्षिकोत्सवको अवसरमा कम्पनीको केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले कम्पनीले प्रदान गरेका सेवाहरुमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनु पर्ने बताए ।

मन्त्री बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजनाबमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको तथा एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरे । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकुल विभिन्न स्मार्ट सेवाहरु वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नु पर्ने बताए । उनले यसका लागि बजारको प्रतिस्पर्धामा अब्बल ठहरिने गरी योजना कार्यान्वयन गरिने र गुणस्तरीय सेवा उपलब्ध गराइने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौताअनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरु सहप्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्य अनुरुप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्याइएको बताए ।

उनले स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको र निकट भविष्यमा आईपीटीभी सेवा समेत एफटीटीएच मार्फत प्रदान गरिने बताए । कम्पनीको सञ्चालक समितिका सदस्य (कर्मचारी प्रतिनिधि) राजबहादुर रावलले कम्पनीका विभिन्न योजना कार्यान्वयनमा अझ प्राथमिकताका साथ लाग्नुपर्ने बताउँदै यसबीचमा संस्था र कर्मचारीको भलाईका लागि गरिएका कार्यहरु उल्लेख गरे ।

नेपाल टेलिकमले वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि विभिन्न छुट तथा अफर उपलब्ध गराएको छ । त्यसैगरी कम्पनीले थप नयाँ सुविधाहरु र विशेषता समेटिएको नवीन अफिसियल वेबसाइट बुधबारदेखि सार्वजनिक गरेको छ । कम्पनीको नयाँ वेबसाइट प्रयोग गरी कम्पनीद्वारा प्रदत्त सम्पूर्ण सेवाहरु सहजै प्रयोगमा ल्याउन, रिचार्ज गर्न, शुल्कहरु बुझाउन सहज हुनेछ । ग्राहकलाई अतिरिक्त सुविधाहरु उपलब्ध गराउन कम्पनीले नबिल बैंकसँगको सहकार्यमा मास्टर कार्ड, भिसा कार्डबाट नेपाल टेलिकमका मोबाइल सेवामा रिचार्ज गर्न तथा बिल भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ ।

मन्त्री बाँस्कोटाले वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका विमोचन समेत गरेका छन् । समारोहमा समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र वितरण गरे । त्यसैगरी कम्पनीको रिचार्ज सेवा तथा रिचार्ज कार्डको बिक्री लक्ष्य हासिल गर्ने थोक विक्रेता एवं कम्पनीका विभिन्न सेवाहरु प्रयोग गरी सर्वाधिक बिल भुक्तानी गर्ने संस्थागत तथा ब्यक्तिगत ग्राहकहरुलाई पनि कदर स्वरुप कार्यक्रममा सम्मान गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x