Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआयातामा प्रतिबन्ध लगाउँदै केन्द्रीय बैंक

आयातामा प्रतिबन्ध लगाउँदै केन्द्रीय बैंक


काठमाडौं । उपभोगका लागि वस्तु तथा सेवा अन्यदेशबाट आफ्नो देशमा ल्याउनु आयात हो । नेपालको वार्षिक आयात हरेक वर्ष वृद्धि हुँदै गइरहेको छ । आयात वृद्धि हुँदै जाँदा देशको ठूलो धनराशि बाहिरिन्छ । यसका लागि राष्ट्र बैंकमा रहेको विदेशी विनिमयको सञ्चिति खर्च हुन्छ । विदशी सञ्चिति बचाएर लामो समयसम्म आयात धान्ने गरी विदेशी मुद्रा सञ्चित गरी राख्ने जिम्मेवारी केन्द्रीय बैंकको हो ।

चालू आर्थिक वर्ष २०७८/७९ को मंसिर मसान्तसम्ममा मुलुकको वैदेशिक व्यापार ६३ दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा तीन खर्ब ६६ अर्बले व्यापारमा वृद्धि भएर कुल व्यापार नौ खर्ब ४१ अर्ब पुगेको हो । भन्सार विभागबाट जारी पछिल्लो तथ्यांकअनुसार पाँच महिनामा पाँच खर्ब ७५ अर्ब रहेको वैदेशिक व्यापार यस आवको पाँच महिनाम बढेर नौ खर्ब ४१ अर्ब पुगेको छ । अघिल्लो वर्षको तुलनामा आयात ५९ दशमलव ५५ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो पाँच महिनामा पाँच खर्ब २५ अर्बबराबरको आयात भएकोमा चालू आवको पाँच महिनामा आठ खर्ब ३८ अर्ब पुगेको छ ।

गत वर्षको तुलनामा चालू आवको निर्यात १०५ दशमलव ६१ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा ५० अर्ब पाँच करोडबराबरको निर्यात भएकोमा चालू आवमा एक खर्ब दुई अर्बबराबरकोे निर्यात भएको देखिन्छ । विभागको तथ्यांकअनुसार चालू आवको पाँच महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा वृद्धि भए पनि मुलुकको व्यापारघाटा भने अघिल्लो आवको तुलनामा ५४ दशमलव ७ प्रतिशतले बढेर सात खर्ब ३५ अर्ब पुगेको छ ।

अघिल्लो वर्षको पाँच महिनामा व्यापारघाटा चार खर्ब ७५ अर्ब थियो । देशको कुल वैदेशिक व्यापारमा गत आवको पाँच महिनासम्म आयातको हिस्सा ९१ दशमलव ३ प्रतिशत रहेकामा यसको हिस्सा २ दशमलव ४५ प्रतिशतले घटेर चालू आवमा ८९ दशमलव ०७ प्रतिशतमा झरेको छ । पछिल्लो पाँच महिनामा वैदेशिक व्यापारमा निर्यातको हिस्सा २५ दशमलव ७२ प्रतिशतले बढेर १० दशमलव ९३ प्रतिशत पुगेको छ । यो हिस्सा अघिल्लो आवको पाँच महिनामा ८ दशमलव ७ प्रतिशत रहेको थियो ।

यो अवधिमा व्यापारमा प्रमुख हिस्सा ओगट्ने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी ४९ अर्ब दुई करोडबराबरको डिजेल आयात भएको देखिन्छ । दोस्रामा भटमासको कच्चा तेल रहेको छ । चालू आवको पाँच महिनामा ३३ अर्ब ६६ करोडको भटमासको तेल, २४ अर्ब ६१ करोडको पाम आयल, २४ अर्ब १० करोडको पेट्रोल, २३ अर्ब ११ करोडको एलपी ग्याँस र २० अर्ब ३५ करोडको टेलिफोनआयात भएको विभागले बताएको छ । नेपालबाट निर्यात हुने वस्तुमध्ये भटमासको तेल ३० अर्ब ५५ करोडबराबरको निर्यात भएको छ । त्यसैगरी सबैभन्दा बढी निर्यात हुने वस्तुमध्ये पाम तेल पनि एक हो । भटमासको तेतजस्तै पाम तेल पनि कच्चापदार्थ आयात गरी प्रशोधनपश्चात् निर्यात हुनेगरेको छ ।

चालू आवको पाँच महिनामा नेपालबाट २७ अर्ब ४२ करोड मूल्यबराबरको पाम तेल, तीन अर्ब ७३ करोडबराबरकोे गलैँचा, दुई अर्ब ६५ करोड मूल्यबराबरका जुटका बुनिएका कपडा निर्यात भएको विभागको तथ्यांक छ । चालू आवको मंसिर मसान्तसम्म नेपालले भारतबाट करिब पाँच खर्ब तीन करोड मूल्यबराबरका वस्तु आयात गरेको छ भने ८४ अर्ब १५ करोड मूल्यबराबरको वस्तु निर्यात गरेको छ । नेपालको व्यापारघाटा भारतसँग मात्रै चार खर्ब १५ अर्बभन्दा धेरै देखिन्छ । नेपालले छिमेकी राष्ट्र चीनबाट एक खर्ब २२ अर्ब मूल्यबराबरका वस्तु आयात ग-यो भने ३८ करोड १६ लाख मूल्यबराबरको वस्तु निर्यात गरेको देखिन्छ ।

चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले आठ अर्ब ५९ करोड रुपैयाँबराबरको तरकारी मात्र आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको विवरणअनुसार नेपालले प्रतिमहिना औसत एक अर्ब ७१ करोड रुपैयाँबराबरको तरकारी खरिद गर्नेगरेको छ । यसलाई आधार मान्दा नेपालले दैनिक करिब ६ करोडको तरकारी मात्रै आयात गरेको देखिन्छ । यस अवधिमा नेपालमा आलुको आयात सबैभन्दा ठूलो छ । आलु खरिदमा पाँच अर्ब २७ करोड, प्याज खरिदमा दुई अर्ब ४७ करोड, गोलभेँडा खरिदमा १८ करोड ६६ लाख, हरियो लसुन खरिदमा ३७ करोड ४२ लाख, च्याउ खरिदमा सात करोड १७ लाख, फर्सी खरिदमा एक करोड ४ लाख, गाँजर खरिदमा ४२ लाख, भिण्डे खुर्सानी खरिदमा चार करोड, हरियो सागपात खरिदमा १६ करोड, हरियो तरकारीका गेडागुडी खरिदमा तीन करोड ३७ लाख रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

नेपाल आयात भएको तरकारीमा सबैभन्दा ठूलो हिस्सा भारतीय उत्पादनको छ । भारतबाहेक पाकिस्तान, बंगलादेशबाट समेत नेपालमा हरियो तरकारी र यसको गेडागुडी भित्रिएका छन् । चालू आवको पाँच महिनामा पाँच अर्ब १६ करोडको आलु नेपालले भारतबाट र १० करोड मूल्यबराबरको आलु बंगलादेशबाट खरिद गरेको छ । पाकिस्तानबाट ८२ हजारको हरियो लसुन र दक्षिण कोरियाबाट रातो बन्दा नेपाल आयात गरिएको छ ।

कुन–कुन वस्तु आयातमा लगायो रोक ? मुलुकमा बढ्दै गएको आयातले नेपाल राष्ट्र बैंकको ढुकुटी रहेको विदेशी मुद्राको सञ्चिति रित्तिँदै गएपछि राष्ट्र बैंकले आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले यही पुुस २३ गते जारी गरेको एकीकृत परिपत्रअनुसार सौन्दर्य प्रशोधनका सामग्री, सवारीसाधनलगायतका विभिन्न विलासिताका सामग्री, खाद्य पदार्थ तथा पेय पदार्थको आयातमा आयात गर्नु पूर्वस्वीकृति लिनुपर्ने उल्लेख गरेको छ । एकीकृत परिपत्र २०७८ मा विभिन्न १६ वटा बुँदामा उल्लेख भएका खाद्य तथा पेय पदार्थको आयातमा पूर्वस्वीकृत लिनुपर्ने व्यवस्था छ ।

खाद्यान्न र अन्न तथा यसबाट तयार भएका खाद्य पदार्थ, प्रशोधित तथा अप्रशोधित तेल, घिउ, दुध तथा दुधजन्य पदार्थ, फलफूल तथा तरकारीजन्य उत्पादन, फ्रोजन तथा प्रशोधित माछा, मासु तथा यसका उत्पादन, दलहन, गेडागुडी, तेलहन, बदाम, ओखर, काजु, पेस्ताजस्ता खाद्य नट्स, पिउने पानी, विशेष उपयोगका खाद्य पदार्थ, शिशु आहार तथा शिशु फर्मुला खाद्य पदार्थ, बाल आधार तथा बाल फर्मुला खाद्य पदार्थ शिशु तथा बाल आहारपूरक खाद्य पदार्थ, फुड सप्लिमेन्ट, डाइटरी सप्लिमेन्ट, न्युट्रिसनल सप्लिमेन्ट, विभिन्न पेय पदार्थ, चकलेट, चुइङगम, टफी, कोको पदार्थ, पापड भुजिया, फिङगचिप्स, दालमोठ, मिठाइ, सोनपापडी काँचो तथा तयारी स्न्याक्स फुड्स, मसला, चिया, कफी, नुन, अण्डा तथा अण्डाजन्य खाद्य पदार्थ खाद्यरङ, वासना, इमल्सिफायर, एन्टिअक्सिडेन्ट, खाद्य तथा पेय पदार्थमा प्रयोग हुने खाद्य उद्योगका अन्य सामग्री, चिनी, महलगायतका गुलियो पदार्थ अन्य विभिन्न अप्रशोधित, अर्धप्रशोधित तथा प्रशोधित खाद्य पदार्थको आयातमा कडाइ गर्दै आयातका लागि स्वीकृति आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार वस्तु आयात गर्दा आयातकर्ता, निर्यातकर्ता, परिमाण र मूल्यसम्बन्धी विवरण अनुमतिपत्रमा उल्लेख भएको विवरणसँग मेल खाएको हुनुपर्नेछ । सोही आधारमा मात्र राष्ट्र बैंकले आयातका लागि अनुमति दिने जनाएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x