Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीएस–६ चरणबद्ध रुपमा लागू गर्न नाडाको जोड

बीएस–६ चरणबद्ध रुपमा लागू गर्न नाडाको जोड


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारीसाधन प्रदूषण मापदण्ड बीएस ६ अर्थात् युरो ६ नेपालमा चरणबद्ध रुपमा लागू गर्नुपर्नेमा जोड दिएको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधिमण्डलले केही दिनअघि वन तथा वातावरणमन्त्री राम सहायप्रसाद यादवसँग भेटी मन्त्रालयले ल्याउनलागेको बीएस ६ को कार्यान्वयनका बारेमा छलफल गरेको नाडाले जनाएको छ ।

सो छलफलमा अध्यक्ष थापाले सम्पूर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने सरकारको प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाउँदै यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागू गर्दै जानुपर्ने बताएका थिए । युरो–६ लागू गर्नको लागि देशमा आवश्यक पूर्वाधारहरुलगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइसकेकोले यसलाई चरणबद्ध रुपमा लागू गर्ने व्यवस्था गर्न आग्रह गरेको नाडाले जनाएको छ । सवारीसाधनले गर्ने प्रदूषण कम गर्न विश्वभर प्रदूषण मापदण्ड कायम हुँदै आएको छ । जुन समयानुकूल परिमार्जन हुने गरेको छ । विश्वभर यूरो स्ट्यान्डर्डलाई धेरै देशहरुले मान्यता दिने गरेका छन् । त्यसैलाई आधार मानेर आ–आफ्नो देशमा मापदण्ड तय गरेका हुन्छन् । नेपालले पनि यूरो–६ लाई आधार मानेर नेपालले अन्य देशका प्रदूषण मापदण्ड समेत हेरेर नेपाल सवारी प्रदूषण मापदण्डको स्तरोन्नति गर्ने तयारी गरेको छ । बीएस–६ इन्जिनयुक्त सवारीमा विशेष खालको इन्धन फिल्टर प्रयोग गरिएको हुन्छ । यो इन्जिनले ८० देखि ९० प्रतिशत पीएम २.५ सम्मका कण रोकेर नाइट्रोजन अक्साइडलाई नियन्त्रण गर्दछ । यस्तै बीएस–६ युक्त इन्जिनले गाडीले गर्ने प्रदूषण ०.०५ प्रतिशतबाट ०.०१ प्रतिशतमा सीमित गर्दछ । बीएस–६ इन्जिन भएको डिजेल/पेट्रोल गाडीले पर्ने प्रदूषण ७५ प्रतिशत कम हुन्छ ।

यस्तै नाडाको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटी चालू पुँजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा समेत छलफल गरेको जनाएको छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको प्रतिनिधिमण्डलले मस्यौदाबारे पत्र समेत बुझाएको थियो । भेटमा उपाध्यक्ष श्रेष्ठले बैंकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत कायम गर्ने व्यवस्था गर्न आग्रह गरेका थिए । त्यसैगरी हालै नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा सवारीसाधनहरु आयातका लागि एलसी खोल्दा न्यूनतम मार्जिनको सीमा १० प्रतिशतबाट वृद्धि गरेर ५० प्रतिशत पु-याएकोले यसले सवारीसाधनहरुको सहज आपूर्तिमा समस्या भएको भन्दै उनले पूर्वव्यवस्थाअनुसारको न्यूनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्न आग्रह गरे । यस्तै उनले एलसी मार्जिनको लागि राखेको धितो रकममा बैंकहरुले व्यवसायीहरुलाई ब्याज समेत दिने व्यवस्था गर्न समेत माग गरे । यस्तै नाडाले भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटासँग भेटी भन्सार मूल्यांकन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्याहरु समाधान गर्न आग्रह गरेको छ ।

नाडाले माघ महिनादेखि आफ्ना सम्बद्ध मन्त्रालय तथा विभागसँगको भेटघाट तथा छलफललाई तीव्रता दिँदै आएकोे जनाएको छ । नाडा प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग भेटी एजेन्सी, फर्म दर्ता एवं नवीकरणलगायत आधिकारिक बिक्रेताले मात्र अटोमोबाइल वस्तुहरु आयात गर्न पाउने व्यवस्थाबारे छलफल गर्दै पत्र समेत बुझाएको छ । भेटघाटलाई निरन्तरता दिने क्रममा नाडा प्रतिनिधिमण्डलले उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसँग भेटी नेपालमा सवारीसाधनको एसेम्बली प्लाण्टको स्थापना, त्यसको प्रक्रिया र व्याख्याबारे धेरै अन्योल भएकोले त्यसमा स्पष्टताको लागि अनुरोध समेत गरेको नाडाले जनाएको छ । यसैगरी प्रतिनिधि मण्डलले राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी नेपालमा स्वच्छ व्यवसायलाई प्रेरित गर्न एक आपसमा सहकार्य गर्ने, व्यवसायीहरुलाई परेको समस्याहरुबारे सहजीकरण गर्नेलगायत नाडाको पहलमा निकट भविष्यमा हुने भीसीटीएससम्बन्धी तालिम कार्यक्रमका लागि विभागले सहयोग गर्ने इत्यादि विषयमा छलफल गरेको छ ।

त्यस्तै नाडा प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसँग भेटी सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट, भारतबाट सवारीसाधन पैठारी गर्दा ६÷६ महिनामा कप बुझाउनुपर्ने व्यवस्था लगायतबारे छलफल गरेको छ । यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेशराज जोशीसँग पनि द्विपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेको छ । उक्त सबै छलफल तथा भेटघाट कार्यक्रमहरुमा नाडाका पदाधिकारीहरुलगायत सम्बन्धित समितिका सभापतिहरुको उपस्थिति रहेको नाडाले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x