Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह

निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न महासंघको आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न बैंकिङ क्षेत्रलाई आग्रह गरेको छ । कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको अवस्थामा बैंकिङ क्षेत्रले निक्षेपमा ब्याज वृद्धिको निर्णय गरेपछि उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार उद्योग व्यवसाय कोभिडपूर्वको अवस्थामा सञ्चालन हुनसकेका छैनन् भने उत्पादित वस्तुहरुको बिक्रीवितरणबाट उठ्नुपर्ने रकम समेत बजारबाट उठन सकिरहेको अवस्था छैन । बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको महासंघले जनाएको छ ।

महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको भए पनि हाल अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढेमा यो क्षेत्र थप धराशायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता रहेको जनाएको छ । हरेक त्रैमासिकमा निक्षेपमा ब्याजदर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुकभित्र उद्योग व्यवसाय गर्न सम्भव नरहेको महासंघको भनाइ छ । यसरी ब्याजदरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यावसायिक लागत प्रक्षेपण गर्नसक्ने अवस्था समेत नहुने महासंघले जनाएको छ । ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुने भन्दै महासंघले ब्याजदर वृद्धिलगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने बताएको छ । व्यापारघाटाको दायरा निकै बढिरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको ब्याजदर वृद्धि हुन गई उद्योग व्यवसाय थप शिथिल हुने र त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउनेतर्फ पनि महासंघले सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

महासंघले अनपेक्षित रुपमा गरिएको निक्षेपमा ब्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउँ पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघले राष्ट्र बैंकसँग माग गरेको छ । साथै थलिएका उद्योग व्यवसायहरुलाई सुुसञ्चालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैंकिङ क्षेत्रसँग आग्रह गर्दै यसका लागि निरन्तर संवाद र सहकार्यमा रहन महासंघ सदैव तयार रहेको प्रतिबद्धता समेत जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x