एमसीसीको धरापमा गठबन्धन सरकार
काठमाडौं । नेपालको सार्वभौम संसद्बाट एमसीसी छिटो पास गर्नको लागि अमेरिकाको निरन्तर एकपछि अर्को धम्किपूर्ण दबाबका कारण गठबन्धन सरकारको भविष्य धरापमा पर्दै गएको छ । नेताहरूको निजी पद, प्रतिष्ठा र धनको लोभका कारण समग्रमा राष्ट्रिय मुद्दाहरू ओझेलमा पर्नेगरेका छन् । नेताहरूको अदूरदर्शिता र नेतृत्व गर्ने हैसियतको अभावका कारण आफ्नो मात्रै नभएर नेपाल र नेपालीको साख समेत गिराउने हर्कत बेलाबखत हुने गरेको छ । राजनीतिक दलहरूले संवेदनशील राष्ट्रिय मुद्दाहरूमा समेत क्षणिक लाभ र हानीका आधारमा व्याख्या र विश्लेषण गर्ने कारण सहज निकास ननिस्कने टड्कारो नै छ । एमसीसी अहिले दलहरूलाई नखाऔँ भने दिनभरिको शिकार खाऔँ भने कान्छाबुबाको अनुहार भनेजस्तै भएको छ । एमसीसीको बहस चुनावी फन्डा समेत बन्ने गरी गिजोलिएकाले दलहरूले विगतमा गरेका गल्तीहरू एक–अर्कामा थोपर्न अनेक तिकडम र आक्षेपको सहारा लिन थालेका छन् । शीर्षस्थ भनिएका कतिपय नेताहरूको शाख र छबी राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा मौसमी एवं पिपलपाते अडानका कारण गिर्दो क्रममा रहेको जगजाहेर नै छ ।
संसदबाट एमसीसी अनुमोदन गर्ने बारेमा विवाद र बहस चुलिँदै गएको छ । प्रधानमन्त्री र प्रचण्डले पाँच महिनाअघि एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएपछि मुद्दा झन् पेचिलो बन्दै छ । प्रचण्डले विगतमा अमेरिकालाई आफूले कुनै पत्र नै नपठाएको भन्दै आएका थिए । अहिले उनको झुटको पर्दाफास भएको छ । गठबन्धन सरकारको भविष्य धरापमा परेको छ । एमसीसीलाई अस्वभाविक गिजोलिएको र सत्ता साझेदारकै मतभिन्नताका कारण टुँगोमा पु-याउन सरकारलाई सकस परेको छ । एमसीसीको समझौतामा संशोधन गर्न नसकिने अमेरिकाको स्पष्ट जवाफका कारण गठबन्धन सरकारलाई यो मुद्दा झन् पेचिलो बन्दै गएको छ ।
विगतमा एमसीसीको उपाध्यक्ष र डेपुटी उपाध्यक्षको नेपाल भ्रमण र राजनीतिक दलका नेताहरूसँगको तीव्र भेटघाटले एमसीसी नेपालमा जसरी भए पनि लागू गर्ने अमेरिकाको ध्येय रहेको स्पष्ट हुन्छ । सम्बन्धित देशमा विवाद भइराखेको, अनुदान प्राप्त गर्न आवश्यक न्यूनतम सर्त समेत पूरा नगरेको अवस्थामा अमेरिकाले अरर्बौँ रुपैयाँ लगानी गर्न किन मरिहत्ते गरिराखेको छ ? सोचनीय विषय बनेको छ । नेताहरूले आफ्नो स्वार्थअनुसार एमसीसीको व्याख्या र विश्लेषण गरिदिनाले आम जनसमुदायमा आशंका र अन्यौलता छाएको छ । नेपालीको विकास र स्वाभिमानमा प्रत्यक्ष सरोकार विषयमा पनि राजनीतिक दलहरूको मतक्यैता नहुनु दुर्भाग्य नै हो ।
अमेरिकन राष्ट्रपति जर्जडब्लू बुसले सन् २००२ मार्च १४ मा अल्पविकसित र विकासोन्मुख दुवैथरी राष्ट्रका विकासका लागि अनुदान प्याकेजको घोषणा गरेका थिए । त्यही प्याकेज नै अहिले मिलेनियम च्यालेन्ज कर्पोरेसन अर्थात् एमसीसी हो । राष्ट्रपति बुसले प्राराम्भमा औसत एक हजार चार सय ३५ यूएस डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकसँग साझेदारी गर्ने प्रस्ताव गरे पनि पछि आफ्नो कार्यकालको अन्त्यतिर सन २००८ मा तीन हजारदेखि ३६ सय अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकसँग पनि साझेदारी गर्न सकिने बनाएका थिए ।
संयुक्त राज्य अमेरिकाको विदेशी सहायता एजेन्सीको रुपमा समेत परिचित एमसीसीले १७ वटा सूचांकका आधारमा अनुदान प्रदान गर्छ । जसमा नागरिक स्वतन्त्रता, राजनीतिक अधिकार, उत्तरदायित्व, प्रभावकारिता, कानुनको शासन, भ्रष्टाचार नियन्त्रण, खोप दर, सार्वजनिक स्वास्थ्य क्षेत्रमा लगानी र खर्च, बालिकाको प्राथमिक शिक्षा पूरा दर, प्राथमिक शिक्षामा सार्वजनिक खर्च, प्राकृतिक स्रोत व्यवस्थापन, मुद्रास्फिति दर, व्यापार नीति, भूमि अधिकार, नियामक गुणस्तर, वित्तीय नीति र व्यापारको अवस्थाको आधारमा अनुदानको लागि निष्कर्षमा पुग्छ ।
नेपालको विकासका लागि एमसीसीको योगदान अर्थपूर्ण भए पनि सम्झौतामा उल्लेख भएका र आलोचकहरूले प्रश्न उठाएका विषयवस्तुहरूमा पारदर्शीरूपमा छलफल र बहस गरिनु अन्यथा होइन । एमसीसीको कथा र व्यथा दलहरूको सत्ता छिनाझप्टीले बेलाबखतमा अल्झिने र बल्झिने गरेको जगजाहेर नै छ । एमसीसी अध्ययनका लागि तत्कालीन नेकपाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा गठित तीन सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाए पनि अहिलेसम्म खासै बहस र पहल भएको देखिँदैन ।
कार्यदलले औँल्याएको मुख्य निष्कर्षको रुपमा एमसीसी इन्डोप्यासिफिक रणनीति (आईपीएस)को अंग होइन भनेर अमेरिकाले लिखित प्रतिबद्धता जनाउनुपर्ने, बौद्धिक सम्पत्तिमा नेपालको अधिकार रहनुपर्ने, लेखापरीक्षण नेपालकै महालेखापरीक्षकबाट गराउनुपर्ने, नेपालको संविधान र कानुनलाई सर्वाेच्चता दिनुपर्ने, नेपालको तर्फबाट १३ अर्ब अनुदान दिनुपर्ने प्रावधान हटाउनुपर्ने आदि प्रमुख पर्दछन् । मौजुदा सर्तअनुसार सम्झौता गरिएमा भविष्यमा अन्य देशहरूमाबाट प्राप्त हुने अनुदान सहयोगमा पनि लागू हुने नजिर बस्ने आशंका गरिएको छ । भर्खरै श्रीलंकाले पनि अमेरिकाले प्रस्तावहरूमा परिमार्जन भएमा मात्र एमसीसी अनुदान स्वीकार्ने निर्णय गरेको छ । नेपालमा एमसीसी बहस राजनीतिक सत्ता र शक्ति प्राप्तिको स्वार्थसँग समेत जोडिएकोले थप पेचिलो बनेको जगजाहेर छ ।
यो आयोजना कार्यान्वयनका लागि अमेरिकासँग अहिलेसम्म कुल २७ देशहरूले सम्झौता गरिसकेका छन् । दक्षिण एसियाली देशहरूमा सहायता प्राप्त गर्ने नेपाल पहिलो देश हुनेछ । यो सहायता प्रदान र प्राप्त गर्न अमेरिकी संसद्ले अनुमोदन गर्नुपर्ने भएकोले प्राप्त गर्ने देशले पनि आफ्नो संसद्बाट नै पारित गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । सकारले संसद्बाट अनुमोदन गराउन २०७५ असार ३० मा प्रस्ताव दर्ता गरेको थियो । एमसीसी नेपाल कम्प्याक्टको औपचारिक कार्यान्वयन २०७७ असार १६ गतेबाट हुनुपर्नेछ । यसको कार्यान्वयनका लागि छवटा सर्तमध्ये चारवटा पूरा भइसकेको तर संसदीय अनुमोदन र आयोजना क्षेत्रमा पहुँच मात्र बाँकी रहेको परियोजना कार्यालयले जनाएको छ । सरकार परिवर्तन भइराख्ने विगतको अनुभवले पनि एमसीसीको दिगो व्यवस्थापनका लागि संसद्बाटै पारित गर्नुपर्ने बाध्यता रहेको हुनसक्छ ।
यस अनुदानका लागि सन २०११ ताका नेपाललाई छनोट गर्दा दैनिक १८ घन्टासम्म लोडसेडिङका कारण उद्योगधन्दा धराशायी हुँदै गएको, विकासको मेरुदण्डको रुपमा रहेको सडक सन्जालको अवस्था नाजुक रहेकोले लगानी प्राथमिकतामा परेको हो । यी लगानीका क्षेत्र पहिचानसँगै विस्तृत कार्ययोजान समेत तयार गरिसकेको अवस्था छ । सम्झौताअनुसार चार सय केभी क्षमताको तीन सय १२ किलोमिटर लामो विद्युत् प्रशारण लाइन निर्माण गरिनेछ । यसअन्तर्गत भारतीय सीमादेखि बुटवल, दमौली, रातमाटे, हेटौंडा, लप्सेफेदी प्रशारण खण्ड निर्माण गरिनेछ । करिब ४० करोड डलर खर्च गरिने यस आयोजनाअन्तर्गत रातमाटे, दमौली र बुटवलमा चार सय केभीका ठूला सबस्टेसनहरू निर्माण हुनेछन् । यस परियोजनाको अन्त्यसम्म नेपालको जनसंख्या करिब तीन करोड १५ लाख पुग्ने आकलन गरिएको छ । त्यस बखतसम्म ५० लाख ३५ हजार घरधुरीमा बस्ने झण्डै दुई करोड २६ लाख ५९ हजार जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ । सन २०२३ सम्म नेपालको विद्युत् उत्पादन तीन हजार नौ सयय ८६ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । यसरी देशभित्रको मौजुदा खपत मागभन्दा पनि अधिक उत्पादन हुने विद्युत्को सदुपयोग गर्न र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा व्यापार व्यवस्थापनको लागि पनि समयमा नै विद्युत् प्रशारणको व्यवस्थापनतर्फ ध्यान दिनु बुद्धिमानी ठहर्छ ।
यातायात विकास र विस्तारका लागि पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रौटा, भालुवाङ, लमही शिवखोला ९९ किलोमिटर सडक स्तरोन्नति गरिने योजना छ । सडक स्तरोन्नतिबाट दुई लाख पाँच हजार घरधुरीका नौ लाख २५ हजार जनता लाभन्वित हुने अपेक्षा गरिएको छ । सडक यातायात विस्तारका लागि पाँच करोड डलर र १८ करोड डलर प्रशासनिक व्यवस्थापनमा खर्च गरिने योजना रहेक छ । लाभग्राही संख्याको दृष्टिकोणले विश्लेषण गर्दा विद्युत् प्रशारण परियोजनाबाट प्रतिदिन दुई डलरभन्दा कम ७ प्रतिशतले, दुईदेखि चार डलरसम्म ३१ प्रतिशतले र चार डलरभन्दा बढी ६२ प्रतिशतले लाभ पाउनेछन् । त्यस्तै सडक मर्मत परियोजनाले प्रतिदिन दुई डलरभन्दा कम ८ प्रतिशतले, दुईदेखि चार डलरसम्म ३९ प्रतिशतले र चार ढलरभन्दा बढी ५३ प्रतिशत जनसंख्याले लाभ पाउने कुरा सम्झौतामा उल्लेख छ ।
नेपाल सरकारले यस सहायताअन्तर्गत अहिलकोे सटही दरअनुसार करिब ७२ अर्ब रुपैयाँबराबरको कोष सञ्चालन गरी विकास निर्माण गर्ने अवसर पाउनेछ । यस सहयोग कोषमा अमेरिकाको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलर समेत ६३ करोड डलरको कोष स्थापना गरिनेछ । यति ठूलो रकम देश विकासमा परिचालन हुने अवसरलाई केही नेताहरूको विरोधका कारण विवादमा परेको छ । उद्योगधन्दाको विकास र विस्तारको लागि अपरिहार्य विद्युत् तथा समग्र देश विकासको मेरुदण्डको रुपमा लिइने यातायात क्षेत्रको सुदृढीकरणका लागि खर्चिने यस आयोजना नेपालको लागि अर्थपूर्ण छ । तथापि सत्तापक्षका नै केही नेताहरूले चर्को विरोध गर्नुको ठोस कारणहरू सर्वसाधारण जनताले बुझ्ने गरी छर्लङ्ग बाहिर ल्याएका छैनन् ।
यो बहस कतै केही नेताको सत्ता शक्ति प्राप्तिका विरोधको कारण सहिद बन्ने त होइन, आशंका बढेको छ । यसरी नै दुई दशकअघि अरुण जलविद्युत् आयोजनाको अन्धाधुन्द विरोध गरेर अहिले त्यही परियोजना प्राथमिकताका साथ लागू गर्दाको लाचारिता नेताहरूको अदूरदर्शिता र अपरिपक्वता एमसीसीमा पनि नहोला भन्ने विश्वसनीय आधार छैन । किनकि एमसीसी बारेमा अनेक बखेडा र बहस गरेर नकारात्मक टिप्पणी र आशंका एवं भ्रम फैलाउने कार्यलाई लक्षित गर्दै अमेरिकाले यस सहयोगबाट हात झिक्ने आशय व्यक्त गरिसकेको छ । नेपालको विकासमा सहयोग गर्दै आएका अधिकांश देश तथा अन्तर्राष्ट्रिय, राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूसँग अमेरिकाको प्रत्यक्ष अप्रत्यक्ष हात रहने भएकोले उससँग अनावश्यक सिँगौरी खेल्दाको परिणामले हाम्रो विकासमा गम्भीर असर नपर्ला भन्न सकिन्न ।
राष्ट्रिय स्वाधीनता, आत्मनिर्णयको अधिकार, नीति निर्माण र कार्यान्वयनमा समानताको हक आदिबाट संविधान र स्वाभिमानमा आँच पुग्ने भनेर उठेका बहस र विवादबारे सरकार र सरोकार पक्ष सचेत हुनै पर्छ । इन्डोप्यासिफिक रणनीति र एमसीसीको सम्बन्धले पार्ने असरबारे पनि उत्तिकै चनाखो रहनु पर्छ । एमसीसीले नेपालको आर्थिक समृद्धिमा पु-याउने टेवा र चुनौतीबारे अन्य देशको अनुभव तथा विज्ञहरूसँगको छलफलबाट निष्कर्षमा पुग्नु बुद्धिमानी हुन्छ ।
देश विकासमा एमसीसीको योगदानबारे रौँचिरा विश्लेषण गर्न अल्छी मान्नु हुन्न । वर्तमान स्पष्ट बहुमतको सरकारले विशेष चासो दिएर कार्यान्वयनमा तदारुकता देखाएमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तीमा होस्टेमा हैँसे हुनेछ । छिमेकी देश चीनको बीआरआई र अमेरिकाको एमसीसीअन्तर्गतका सहयोगहरूलाई सन्तुलित ढङ्गले नेपालको समृद्धिमा अधिकाधिक सदुपयोग गर्न आफ्नो कौशल देखाउने अवसर र चुनौतीको रुपमा नेपाल सरकार र राजनीतिक नेतृत्वको परीक्षाको घडी आएको छ । आयोजनालाई नेपालको हितमा अधिकाधिक उपयोग गर्ने मनसायले आएको सुझाव र प्रयासलाई सरकारले सकारात्मकरुपमा ग्रहण गर्नु दूरदर्शिता ठहर्छ । परियोजना कार्यान्वयनका लागि नेपालको तर्फबाट पूरा गर्नुपर्ने प्रावधान बेलैमा सम्पन्न गर्न सकेमा मात्र सहयोग प्राप्त हुनेछ । परियोजनाका लागि आवश्यक नीतिनियम, स्पष्ट कार्ययोजना, भारतको सहमतिलगायतका सर्त र प्रावधानलाई समयमा नै तय गर्न चुनौतीपूर्ण भए पनि असम्भव भने छैन ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया