आयोगद्वारा जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।
आयोगमा बिहीबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले उक्त निर्देशिका स्वीकृत गरेको जानकारी दिए । उक्त निर्देशिकामा सम्बन्धित पालिकास्तरमा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरिने उल्लेख छ । यस्तै आयोगले मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी ई–बिडिङको माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाएको छ । साथै मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरूको स्पेसिफिकेसन आयोगबाट स्वीकृत भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
यसैगरी आयोगले निर्वाचनमा भाग लिन चाहने दलहरूलाई दल दर्ता गर्न सूचना जारी गरेको छ । आयोगले फागुन १५ गतेभित्र आफ्नो दल दर्ता गर्नको लागि बिहीबार सूचना जारी गरेको हो । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरूको संख्या एक सय छ पुगेको छ । आयोगका अनुसार जनता प्रगतिशील पार्टी, नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा नयाँ राजनीतिक दल दर्ता भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार आयोगले जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्न फागुन १५ गतेसम्म आयोगमा नामावली उपलब्ध गराउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरेको छ । यस्तै निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्राकिंत द्वितीय श्रेणीका अधिकृतहरूको नामावली पनि फागुन १५ गतेसम्म उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग आयोगले आग्रह गरेको पौडेलले बताए । स्थानीय तह निर्वाचनका लागि आर्थिक कार्यविधि सञ्चालन गर्न आयोगले स्थानीय तह निर्वाचन आर्थिक कार्यविधि, २०७८ तयार गरी सहमतिको लागि अर्थ मन्त्रालयमा पठाएको समेत उनले जानकारी दिए ।
यस्तै निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीति सन्देश, संवादमूलक सन्देश, लघु कथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशन भएको छ । निर्वाचनमा प्रचार हुने यस्ता सामग्रीहरूको तयारीमा सहभागिता जनाई निर्वाचनको काममा सहयोग गरिदिन पनि आयोग सम्पूर्ण सिर्जनाकार एवं श्रष्टाहरूमा आग्रह गरेको छ । उत्कृष्ट रचनाहरूलाई नगद पुरस्कार एवं प्रमाणपत्रको पनि व्यवस्था गरिएको आयोगले जनाएको छ ।
यस्तै अर्थ मन्त्रालयसँगको सहकार्यमा आगामी स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायताको प्राप्तिका सम्बन्धमा छलफल गर्न बुधबार विकास साझेदार समन्वय बैठक गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । बैठकमा नेपालस्थित विभिन्न २० वटा कूटनीतिक नियोगहरू एवं विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति थियो । आयोगद्वारा पहिचान गरिएका मतदाता शिक्षा, सूचना प्रविधि, भौतिक सामग्री तथा विज्ञ परामर्श सेवालगायतका सम्भावित सहायताका क्षेत्रहरूको बारेमा जानकारी गराइएको थियो । त्यस क्रममा केही विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले उक्त सहायताका क्षेत्रमा आयोगसँग सहकार्य गर्न तयार रहेको जानकारी गराएका थिए ।
यस्तै आयोगले २०७३ सालबाट मनाउन सुरु गरिएको निर्वाचन दिवसलाई यस पटक यही फागुन ६, ७ र ८ गते ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने नाराका साथ मनाउन लागेको छ । उक्त छैटौँ निर्वाचन दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउन लागिएको आयोगको भनाइ छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया