Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभन्सार सहजीकरण गर्न नाडाको आग्रह

भन्सार सहजीकरण गर्न नाडाको आग्रह


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भन्सार सहजीकरण गर्न विभागसँग आग्रह गरेको छ । नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलले भन्सार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार सहजीकरणको लागि आग्रह गरेको हो ।

साथै नाडाले भन्सारसम्बन्धी नीतिगत सुझावहरु समेत पेश गरेको जनाएको छ । भेटमा भन्सार मूल्यांकनमा देखिएका विभिन्न समस्याहरुबारे छलफल भएको थियो । छलफलमा अध्यक्ष थापाले नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा भन्सार मूल्यांकन सन्दर्भसूची नै खारेज गरी भन्सारमा माल वस्तुको यथार्थ घोषणा गर्न आग्रह गरे । साथै उनले सही वर्गीकरण गराई भन्सार मूल्यांकन पद्धतिलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउने व्यवस्थाका लागि आवश्यक पहल गर्न समेत आग्रह गरे । त्यसैगरी छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले गरेको एम्बुलेन्सको वर्गीकरणमा केही परिमार्जन गरिनुपर्ने बताए ।

आयातित सवारीसाधनहरुको भन्सार जाँचपासमा पनि ढिलाइ भइरहेको भन्दै उनले तत्काल त्यसको समाधानका लागि आग्रह गरे । त्यस्तै अर्का उपाध्यक्ष सुनिल रिजालले एलसी खोलेर सामान आयात गर्दा परिरहेको समस्याहरुबारे बताउँदै एउटै वस्तुमा भिन्न–भिन्न भन्सार कार्यालयहरुमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, बे्रक लाइनिङजस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखी एलसी खोल्नुपर्ने नियमले व्यवसायीहरुलाई समस्या परेको उल्लेख गरे । त्यसको समाधानका लागि पहल गरिदिन समेत उनले आग्रह गरे । त्यसैगरी उनले न्यून बीजकीकरण र अनधिकृत आयातबाट हुने समस्याहरुको निराकरणका लागि सुझाए ।

छलफलमा महासचिव सुरेन्द्र उप्रेतीले २०७३ असार २६ गते भन्सार विभाग र नाडाबीच भएको सहमतिबारे जानकारी दिँदै विभागले अनलाइन पेमेन्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैंकको चेकलाई पनि मान्यता दिने व्यवस्थाका लागि आग्रह गरे । त्यसैगरी महासचिव उप्रेतीले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरु बढ्दै गएको क्रममा सबै किसिमका सवारीसाधनहरुमा प्रयोग हुने ब्याट्रीहरुको उत्पादनलाई प्रोत्साहित गर्न त्यसका लागि आवश्यक हुने सबै प्रकारका कच्चा पदार्थहरुमा एक प्रतिशत मात्र भन्सार महशुल लाग्ने व्यवस्था गर्न माग गरे ।

छलफलमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नुपरेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने बताए । साथै उनले नाडाबाट प्राप्त सुझावहरुका विषयमा आवश्यक पहल गरिने जानकारी दिए । छलफल तथा भेटघाटमा सचिव विक्रम सिंघानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल र एसोसिएसन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको नाडाले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x