Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयखाद्यमा कैफियत भेटिए कठोर बन

खाद्यमा कैफियत भेटिए कठोर बन


काठमाडौं । केहीअघि एक जना मन्त्रीले खाद्यपदार्थ उत्पादन गर्ने उद्योगलाई केही कैफियत भेटियो भन्दैमा कारबाही गर्न नमिल्ने वा नहुने भनी प्रतिक्रिया दिएका थिए संसदीय समितिसामु । त्यस बेला उनको यो भनाइको व्यापक आलोचना भएको थियो । खाद्यपदार्थजस्तो संवेदनशील वस्तु उत्पादन गर्ने उद्योगले मापदण्ड नै पलना गर्न नपर्नेजस्तो उनको त्यस्तो प्रतिक्रिया आएकै केही समयअघि काठमाडौँको ज्याठाटोलबाट ठूलो परिणाममा नक्कली मह उत्पादन गर्ने कारखाना नै फेला परेको थियो । त्यो कारखानाले चिनी र ग्लुकोजको मात्रा मिलाएर मह उत्पादन गर्नेगरेको थियो । मिसावटको यो एउटा सांगठनिक उदाहरण थियो । मह भनेको औषधिको रूपमा बढी प्रचलनमा आउँछ । त्यही वस्तु नक्कली भयो भने त्यसले ठगी मात्र होइन एक प्रकारको ज्यानामाराकै काम गरेको माने पनि हुन्छ । औषधिका रूपमा प्रयोग हुने वस्तु नक्कली हुनु भनेको सामान्य कुरा होइन ।

नेपाली बजारको खासगरी सहरी क्षेत्रमा सबैभन्दा बढी मारमा पर्ने कुरानै मिसावट हो । कसैलाई पनि विश्वास हुँदैन कुनै कुरा शुद्ध होला भन्ने । जुनसुकै दैनिक उपभोग्य सामग्री पनि शुद्ध छ भन्ने विश्वास दिलाउन सकेको छैन राज्यले । यसको कारण हो बजार अनुगमनमा भेटिएका कैफियतयुक्त कुरा पनि यो वा त्यो बहानामा सम्बन्धित पक्षले मुक्ति पाउनु । विगत लामो समयदेखि यस्तै भइरहेको छ । बैंकको ऋण नतिर्दा उनीहरूका जायजेथा लिलामीमा पर्छन् । त्यसपछि उद्योग नै बन्द हुन सक्छ । यसरी खण्डहर भएर बसका उद्योगहरू अझै पनि देख्न सकिन्छ तर अखाद्य वस्तु उत्पादन गरेर उद्योग बन्द भएका भन्ने उदाहरण अपवादबाहेक नपाइएला । खासगरी खाद्यान्नमा दलहन, तेलहन र दुध घिउजन्य पदार्थ, दुधजन्य पदार्थ, पिउने पानीलगायतका दैनिक उपभोग्य सामग्रीहरू खानयोग्य नहुँदा पनि बजारमा बिक्रीवितरणमा आइरहेको पाइन्छ । जब खाद्य स्वच्छता कायम हुन सक्तैन भने त्तयसले निम्त्याउने डरलाग्दा रोगहरूको सामना गर्न नागरिक बाध्य हुन्छन् ।

धेरैजसो रोगको उत्पत्ति भान्साबाट हुन्छ भनिन्छ । भान्सामा स्वच्छ खाद्यपदार्थले प्रवेश पाएन, अस्वच्छताले जित्यो भने रोगको सुरुवात त्यहीँबाट हुन्छ । त्यसै पनि मधुमेह, उच्च रक्तचाप र मुटुका बिरामीहरू खाद्यपदार्थबाटै फैलिने गर्दछन् । यी रोग शरीरमा आइसकेपछि उपचारका लागि कति कठोर हुन्छन् भन्ने भुक्तभोगीहरूका अनुभव डरलाग्दा छन् । यी रोग अब सहरबाट गाउँमा समेत प्रवेश गरेको बताइन्छ कारण हो गाउँमा समेत बजारीया वस्तुहरूको वर्चस्व बढ्नु । पछिल्लो समय तयारी खानाप्रति आकर्षण बढ्दो छ । त्यसमा हालिएका मसलाहरूले लोभ्याउँछन् तर स्वास्थ्यका लागि भने विषसरह नै हुन जान्छन् ।

यस्ता अखाद्यका उत्पादनप्रति बजारको कारबाही खासै प्रभावकारी पाइँदैन । सरकारी विवरणअनुसार चलिरहेको वर्षको बितेकोे छ महिनामा खाद्यान्न/दलहन, तेल तथा घिउजन्य पदार्थ, दुधजन्य पदार्थ, पिउने पानीलगायतका नौ सयवटा नमूनाहरूको विश्लेषण परीक्षण भएको थियो । विभागका अनुसार तीमध्ये ७४ वटा (८.२२ प्रतिशत) नमूनाहरूको परीक्षण प्रतिवेदन प्रतिकूल पाइयो । यस्तो प्रतिकूलता शून्य हुनुपर्ने हो । किनभने यो खाद्यपदार्थको कुरा हो, जसले प्रत्यक्ष असर पार्छ जनस्वास्थ्यमा । सोमध्ये खाद्यान्नका २२ वटा, प्रशोधित पिउनेपानीका १५ वटा, फलफूल तथा सागपातजन्य पदार्थका ११ वटा, दूध तथा दुग्धजन्य पदार्थका पाँचवटा, तेल तथा घिउजन्यका तीनवटा, चियाकफीका तीनवटा, मसला पदार्थका दुईवटा, मासु तथा मासुजन्य पदार्थका एउटा र दाना पदार्थका चारवटा र अन्य खाद्यपदार्थका आठवटा नमूनाहरू उपभोग्य योग्य देखिएनन् । आजको सवाल हो यी कैफियत देखाएकालाई के गरियो भन्ने । जब राज्य कारबाहीको पक्षमा कठोर हुँदैन यस्ता कैफियतहरू बढ्दै जान्छन् । 


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x