Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने

मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने


धन बहादुर जप्रेल
महेन्द्रनगर, माघ २६
संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थललाई पुनः सञ्चालनमा ल्याइने बताएका छन् । उनले विमानस्थल सञ्चालनमा ल्याउन सरकारले तयारी समेत थालेको हुँदा चाँडै सञ्चालनमा आउने बताए ।

भीमदत्त नगरपालिकाले शनिबार आयोजना गरेको ‘विमानस्थल सम्बन्धमा छलफल’ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले विमानस्थल पुनः सञ्चालनका लागी केही पूर्वतयारी गर्नुपर्ने र प्राविधिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय मापदण्ड समेत समावेश गर्नुपर्ने हुँदा केही समय लाग्ने बताए । ‘सरकारले विगतमा सञ्चालन भएका विमानस्थल जो हाल बन्द रहेका छन्, ती विमानस्थल पुनः सञ्चालन गर्ने नीति लिएको छ, सोही नीतिअन्तर्गत मझगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने छ’, उनले भने, ‘त्यसका लागि केही पूर्वतयारी गर्नुपर्छ, प्रावधिक दृष्टिबाट अन्तर्राष्ट्रिय मापदण्ड समेत समावेश गर्नुपर्छ ।’ उनले सबै मापदण्ड पूरा गर्दा केही समय लाग्न सक्ने बताए । विमानस्थलका लागि अपुग जमिन अधिग्रहण गर्ने तयारीमा सरकार रहेको उनले बताए ।

विमानस्थल सञ्चालन संघीय सरकार अन्तर्गत रहेको बताउँदै मन्त्री भट्टराईले यसमा तीनै तहका सरकारको सहभागिता हुनुपर्ने नीति सरकारले लिएको बताए । ‘विमानस्थल पुनः सञ्चालनका लागि यहाँका जनप्रतिनिधि, संघर्ष समिति तथा राजनीतिक दहरुले ठूलो उत्सुक्ता देखाएका छन्, विमानस्थल निर्माण तथा सञ्चालनमा तीनै तहको सहभागिता गराउने नीति अन्तर्गत यहाँ स्थानीय तहले केही बजेट पनि बिनियोजन गरेका छन्’, उनले भने, ‘यसरी तीनै तहका सरकारको साझेदारीमा सञ्चालन गर्दा त्यसको व्यावसायिक फाइदा बाँडफाँट गर्न सक्छौँ ।’ उनले विमानस्थल सञ्चालनका लागि तीन तहको सक्रियता बढेको बताउँदै आगामी आर्थिक वर्षबाट विमानस्थल धावन मार्ग निर्माण गरी सञ्चालन कार्य अगाडि बढाइने समेत बताए ।

मन्त्री भट्टराईले विमानस्थल आत्मनिर्भर हुनुपर्ने नीति सरकारले अगाडि सारेको बताए । ‘विमानस्थल बनाइ सकेपछि त्यहाँ पर्याप्त मात्रामा उडान हुनुपर्छ, व्यावसायिक कामहरु हुनुपर्छ, आत्मनिर्भर हुनुपर्छ । जसले गर्दा कर्मचारीहरुलाई केन्द्रीय बजेटबाट दिनुपर्दैन, यहीको बजेटले पुग्छ’, उनले भने, ‘सरकारले यसमा ठूलो लगानी गरेको छ, त्यसैले आत्मनिरभर हुनु जरुरी छ ।’ सविधानः विमानस्थल सञ्चालन गर्ने केन्द्र सरकारको जिम्मेवारी भए पनि तीनै तहको साझेदारीमा विमानस्थल सञ्चालन गरिने उनको भनाई छ ।

विमानस्थलको प्राविधिक तहबाट अध्ययन भईसकेकाले अब भौतिक र आन्तरिक तयारीमा जोड दिईने उनको बताए । साथै स्थानीय जनप्रतिनिधिको विमानस्थल सञ्चालनमा निकै चाँसो देखाएकामा उनले प्रशंसा समेत गरे । विमानस्थल सञ्चालनपछि यहाँको व्यापार र व्यवसायिक गतिविधि समेत बढ्ने उनको विश्वास छ । विमानस्थल पुनः सञ्चालनमा नआएमा यहाँ निर्माण हुने भनिएको सुख्खा बन्दरगाह, निर्माणाधीन चार लेनको पुल लगायत योजनाको कुनै औचित्य नरहने उनको धारणा छ । असुरक्षाको कारण देखाउँदै सशस्त्र द्धन्द्धकालमा मझगाउँ विमानस्थल बन्द गरिएको थियो । त्यसयता विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

२०३० सालदेशि सञ्चालनमा आएको मझगाउँ विमानस्थल २०५१ सालदेखि बन्द अवस्थामा छ । उनले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सरकारी र निजी क्षेत्रको सहयोग भूमिकाको अपेक्षा गदैँ पर्यटनमन्त्री भट्टराईले पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिन विभिन्न स्थानमा डिजिटल सुचना बोर्ड र पर्यटक सुचना केन्द्र स्थापना गर्न स्थानीय तहलाई निर्देशन समेत दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x