Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकाठमाडौं ट्रिएनालेमा प्रत्यक्ष सहभागिता फागुन १७ बाट

काठमाडौं ट्रिएनालेमा प्रत्यक्ष सहभागिता फागुन १७ बाट


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा सुरु भएको काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा प्रत्यक्ष सहभागिता फागुन १७ बाट सुरु हुने भएको छ । २०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड १९ संक्रमणका कारण सुरुमा तोकिएको मितिमा सुरु हुन नसकेर गत माघ २८ बाट सुरु भएको हो ।

ट्रिएनालेमा भिन्न–भिन्न विषयवस्तु समेट्ने गरी क्युरेट गरिएका तीन सयभन्दा बढी कलाकृतिहरु काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच ठाउँमा प्रदर्शन भइरहेका छन् । चैत १७ सम्म चल्ने काठमाडौं ट्रिएनाले २०७७ का सम्पूर्ण कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमबाट सहभागिता जनाउन सकिने गरी हाइब्रिड तरिकाले सञ्चालन भइरहेको आयोजकको भनाइ छ । यसको भर्चुअल उद्घाटन गत माघ २८ गते भएको थियो । काठमाडौं ट्रिएनाले २०७७ को आयोजना र सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण भएको सिद्धार्थ आर्ट्स फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले उक्त साझेदारी नेपालको कला र संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुआत भनेको छ । यो साझेदारी सिद्धार्थ आर्ट्स फाउन्डेसनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट सुरू भएको थियो । नेपालका असंख्य कलात्मक प्रतिभा र कलाहरु प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा संलग्न गर्न यस सम्झौताले थप अवसर प्रदान गर्ने फाउण्डेसनकी निर्देशक संगीता थापाले बताइन् ।

ट्रिएनालेको चौथो संस्करणको क्यारेटोरियल टिममा निर्देशक हङकङस्थित पारा साइटका कला निर्देशक तथा क्युरेटर रहेका कस्मिन कोस्टिनास र सह–क्युरेटरद्वय हितमान गुरूङ र शीलाशा राजभण्डारी छन् । संस्थापक अध्यक्षका रुपमा संगीता थापा र कार्यक्रम निर्देशक शरारे बज्राचार्यले दिशानिर्देश गर्ने ट्रिएनाले उपनिवेशवाद, प्रवास र विस्थापन, स्थानीय ज्ञान परम्परा र युरोकेन्द्रित दृष्टिकोणबाट कलाको उन्मुक्तिका वरपर रही हुने विमर्शले निर्देशित हुने बताइएको छ ।

‘अनगिन्ती कलात्मक, सामाजिक तथा सामूहिक कथा र संकथनको मिलनविन्दुका रुपमा रहेको यो गौरवपूर्ण कार्यक्रम नेपाल मात्र नभई विश्वका ४० भन्दा बढी देशका स्थानीय र सीमान्तकृत कलापरम्पराका कलाकृति प्रदर्शनको थलो समेत हो’, फाउण्डेसनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ ट्रिएनाले हंगकंगमा रहेको साझेदार संस्था पारा साइटको सहयोगमा आयोजना भएको हो । कार्यक्रमको प्रथम प्रदर्शनीका रुपमा सन् २०२० मा गार्डेन अफ सिजनस नामक प्रदर्शनी हङकङमा सञ्चालन भइसकेको छ । काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सवको रूपमा परिचित काठमाडौं ट्रिएनालेको यो दोस्रो त्रिवार्षिक संस्करण हो । यसले व्यापक कला प्रदर्शनी र सुदृढ शैक्षिक कार्यक्रममार्फत ज्ञानको आदानप्रदानमा आधारित कलाको स्वस्थ वातावरणको विकासमा ध्यान दिन्छ ।

ट्रिएनाले प्रदर्शनी पाटन, काठमाडौं र बौद्धका सेरोफेरोमा रहेका ५ ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थानमा हुन्छ । यस प्रदर्शनीले ४० भन्दा धेरै देशका सयभन्दा बढी कलाकारलाई समेटेको छ । प्रदर्शनीका साथै ट्रिएनालेमा सर्वसाधारणका लागि क्यूरेट गरिएका सार्वजनिक प्रस्तुति, कार्यशाला, छलफल तथा विचार–गोष्ठी लगायत शृंखलाबद्ध कार्यक्रम पनि छन् । विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा आयोजित यी कार्यक्रम ट्रिएनाले अवधिभर प्रस्तुत गरिनेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x