Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयतोडफोडको क्षतिपूर्ति देऊ

तोडफोडको क्षतिपूर्ति देऊ


काठमाडौं । लामो समयदेखि हो आन्दोलनका नाममा बन्द, हडताल र तोडफोड गरेर त्रास खडा गरी सफल भएको घोषणा गर्ने गरिएको अवस्था । बितेको केही समयदेखि यस्ता दृश्यहरू पातलिएका थिए । प्रतिनिधिसभा विघटन हुँदा त्यसबेलासम्म सत्तामै रहेको दलले एक दिन बन्द ग-यो । नत्र यो काम विप्लव समूहको थियो जसले एकान्त अवस्थामा रहेका सवारीसाधनहरू तोडफोड र आगजनी गर्नेगरेका थिए । तर पछिल्लो समय यसको भिन्न रूप देखियो । बन्द हडताल नभई तोडफोड भयो । सत्तामै रहेका दलले वा तिनका कार्यकर्ताले तोडफोडको परम्परालाई पुनः सुरु गरेका छन् ।

अमेरिकी सहायतासम्बन्धी सम्झौता ‘एमसीसी’ संसद्मा दर्ता गर्ने क्रमको एक हप्ता बानेश्वर क्षेत्र तनावग्रस्त रह्यो । पसलहरू क्षतविक्षत भए । सभाहल परिसरको भिडन्त बिजुलीबजारसम्म आइपुग्यो । सोमबार त त्यो विस्तार भएर बुद्धनगरसम्म नै आयो । यो कल्पना नगरिएको अवस्थामा बुद्धनगरका पसलहरू तोडफोडमा परे ।

यो गएको आइतबारको कुरा हो जो यस दिन अमेरिकी सहायतासम्बन्धी सम्झौता ‘एमसिसी’ संसद्मा दर्ता हुँदै थियो । संसद्मा त्यस्तो कारबाही चलिरहँदा यता सडकमा भने प्रहरी र प्रदर्शनकारीबीच भिडन्तले उग्ररूप लिइरह्यो । नयाँबानेश्वर चोक रणभूमिजस्तै थियो । सडकमा छरिएका ढुंगाहरू टायर र डिभाइडरमा दन्किएको आगो आफैँमा डरलाग्दा थिए । यही चपेटामा प-यो बुद्धनगरकी जानकीको पसल । उनको पसल यो घटनाको तीन दिन बित्दा पनि सफा भइसकेको छैन । भण्डै छ लाखको नोक्सानी भएको उनको अनुमान छ । पसलभित्र पुलिस पसे भनेर प्रदर्शनकारीहरूले हानेका ढुंगा र त्यही ढुंगा लागेर फुटेका सिसाका टुक्रा उठेका छैनन् । यो ठाउँ सडकभन्दा अलिक टाढा भएकाले यस्तो होला भन्ने उनले सोचेकै थिइनन् ।

एक्कासि भयो के भने प्रदर्शनकारीहरू बुद्धनगरतिर ओइरिन थाले । त्यही बेला पाँच जना प्रहरी प्रदर्शनकारीको घेरामा परे । त्यसैबेला प्रदर्शनकारीबाट घेरिएका प्रहरी आफ्नो ज्यान जोगाउन जानकीकै पसलमा छिरे, उनले ढोका लाउन खोज्दाखोज्दै । उनले भनेकी छिन्, ‘यताबाट पनि उताबाट पनि प्रदर्शनकारीले घेरा हालेपछि पाँच जना प्रहरीले जाने ठाउँ कतै देखेनन् । बाहिर भएको भए जे पनि हुन सक्थ्यो । भित्र आएको मान्छेलाई बाहिर जाऊ भन्न मैले उचित ठानिनँ, पुलिस आए पनि, जनता आए पनि त्यसरी ज्यान जोगाउन भित्र आएको मानिसलाई मानवताको नाताले पनि बाहिर पठाउन मिल्दैन । प्रदर्शनकारीहरूले उग्र रूप लिए, पसल नै तोडफोड गर्नथाले ।’

यतिबेला यी महिला रनभुल्लमा परेकी छिन् । उनको दोष भनेको प्रहरीलाई आश्रय दिनु हो । यसको दोषी मान्ने हो भने सत्तापक्ष हो । खासगरी गठबन्धनका कम्युनिस्ट घटकले दोहोरो भूमिका निर्वाह गर्दा यस्तो दृश्य प्रकट हुन गयो । उसले यो सम्झौता संसद्मा पेस गर्न सहमति पनि जनायो र आफ्ना कार्यकर्तालाई सडकमा पनि उता-यो । परिणाम आयो यस्तो । यदि सडकआन्दोलन गर्ने हो भने आन्दोलनकर्ताले यस्ता क्षति व्यहोनुपर्ने परम्परा बसाउनुपर्छ ता कि तोडफोडले पश्रय नपाओस् । सरकारले आन्दोलनका नाममा यस्ता ज्यादती गर्नेहरूबाट क्षतिपूर्ति असुलेर पीडितलाई जे–जति हुन्छ राहत भराउने काम गर्नुपर्छ । यो दिनको आन्दोलनमा त पेट्रोलबम समेत प्रयोग भएको अवस्था देखिन्छ । सार्वजनिक भएका चित्रहरूमा आन्दोलनकारीहरूले हातमा त्यस्तो बम बोकेर हिँडेका देखिन्छ । सत्तामा रहेको दल नै हिंसात्मक भएपछि देशको स्थिति कस्तो होला अनुमान गर्न सकिन्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x