Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगोठमा बालविकास केन्द्र !

गोठमा बालविकास केन्द्र !


दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेको श्यारबाराङमा भत्केको गोठमा बालविकास केन्द्र सञ्चालन हुँदै आएको छ । साना बालबालिका पढ्ने स्थान बालविकास केन्द्रको भवन निर्माणको लागि सम्बन्धित निकायले कुनै चासो समेत देखाएको छैन ।

भौगोलिक हिसाबले समेत विकट रहेको श्यारबाराङको बालविकास केन्द्रमा २९ जना बालबालिका पढ्न आउँछन् । यस बालबिकास केन्द्रमा विगत लामो समयदेखि एक शिक्षिकाले विद्यार्थीलाई पढाउँदै आएकी छन् । यस बालविकास केन्द्र २०७२ सालको भूकम्प आउनुअघि निको भगवती प्राथमिक विद्यालय थियो । २०७२ सालमा आएको भूकम्पले विद्यालयको सम्पूर्ण भवन पूर्णरुपमा ध्वस्त भएपछि स्थानीय सरकारले यहाँ भएको विद्यालयको शिक्षक दरबन्दी अन्यत्र सरुवा गरी विद्यालयको सम्पूर्ण सुविधना कटौती गरेको थियो ।

विद्यालय खारेज भए पनि यहाँ बालविकास केन्द्र भने सञ्चालनमा छ । भूकम्पअघिसम्म यहाँ कक्षा पाँचसम्म सरकारी दरबन्दीका शिक्षकले पठनपाठन गर्दै आएका थिए । तर स्थानीय सरकारले यहाँको सरकारी सेवा सुविधा कटौती गरी विद्यालय खारेज गरी निकोभुमे माध्यमिक विद्यालयमा मर्ज गरेका कारण श्यारबाराङ गाउँका २९ जना बालबालिकाको विचल्ली भएको स्थानीयको भनाइ छ । कलिला बालबालिकालाई चित्राको गोठमा राखेर पढाउनुपर्ने बाध्यता रहेको बालविकास केन्द्रकी शिक्षिका चन्द्रमाया थामीले गुनासो गरिन् । विद्यालय मर्जमा गएपछि यहाँ भवन बनाउन कसैले चासो नदेखाएको थामीको भनाइ छ ।

थामीका अनुसार गाउँको विद्यालय हटाएपछि स्थानिय बालबालिकाहरू दुई घण्टा टाढाको विद्यालय जान नमानेपछि बालविकास केन्द्र भने फेरि सोही स्थानमा सञ्चालन भइरहेको छ । गाउँका कलिला ३–५ वर्ष उमेरका बालबालिकाहरू यहाँ पढ्न आउँछन् । गाउँमा पढेलेखेका बुझ्ने र बोल्ने मानिस नहुदा गाउँको एक मात्र विद्यालय अन्यत्र मर्ज भएपछि त्यस ठाउँमा बालविकास केन्द्र सञ्चालन गर्न भवन समेत बनाउन नसकिएको स्थानीय गणेश थामीले बताए । थामीका अनुसार स्थानीय सरकारले आफ्नो गाउँको विद्यालय हटाएपछि बालबालिकाहरूलाई पठनपाठनमा ठूलो समस्या आएको आएको छ ।

गाउँका कलिला नानीबाबुलाई टाढाको विद्यालय पठाउन सक्ने अवस्था नभएपछि स्थानीयसँग बाँसको चित्रा र भकारी मागेर गोठ बनाई सोही ठाउँमा हाल पठनपाठन भइरहेको थामीले बताए । पटक–पटक वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा विद्यालयको अवस्था र पठनपाठनबारे जानकारी गराउँदा समेत कसैले नसुनेको थामीको भनाइ छ । जिल्लाको सदरमुकाम चरीकोटबाट नजिकै रहेको कालिञ्चोक गाउँपालिकाको यो विद्यालय निर्माण नहुनुमा स्थानीय सरकार जिम्मेवार नहुनु मुख्य समस्या भएको स्थानीय सरोकारवालाहरूले बताउँछन् । स्थानीय बबिता थामी भन्छिन्, ‘अहिलेसम्म बाँसको चित्रो र भकारीले बारेर बालबालिकाहरूलाई पठनपाठन गर्दा समेत कसैको ध्यान नजानु दुखद कुरा हो । अन्यत्र बालबालिकालाई खाजासम्मको सुविधा हुन्छ रे, हाम्रा छोराछोरीको पढ्ने ठाउँ व्यवस्थासम्म हुनुप¥यो भन्दा कसैले सुनेनन् ।’

यो विद्यालय बालविकास केन्द्रको रुपमा सञ्चालन गरिएकोले भबन निमार्ण हुन नसेकेको जिल्ला शिक्षा समन्वय अधिकारी शंकरबाबु श्रेष्ठले बताए । भवन निर्माण तथा विद्यालय सञ्चालनबारे कालिञ्चोक गाउँपालिकाको शिक्षा शाखाप्रमुख रोषनी आचार्य भन्छिन्, ‘सुरुमा विद्यालय मर्ज गरियो अहिले विद्यालयको आवश्यकता छ । भवन निमार्णको पहल गरिरहेका छौँ, पालिकाले र वडाले भवनका लागि बजेट विनियोजन नगर्दा समस्या भयो ।’ यस विद्यालयकी बालविकास सहजकर्ता चन्द्रमाया थामीले मासिक राज्यले दिने आठ हजार र गाउँपालिकाले दिने दुई हजार गरी १० हजार रुपैयाँ मासिक तलबमा काम गरिरहेको बताइन् । राज्यले न्यूनतम तलब १५ हजार दिने घोषणा गरे पनि उनले १० हजार मात्र बुझ्ने गरेको सुनाइन् । श्यारबाराङ बस्तीमा करिब ७० घर दूरी रहेको र तत्काल प्राथमिक तहको विद्यालय आवश्यक रहेको स्थानीयले बताएका छन् । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x