Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभूकम्पपछि घर त बने, मान्छे बसेनन् !

भूकम्पपछि घर त बने, मान्छे बसेनन् !


दोलखा । जिल्लामा भूकम्पपछि बनेका धेरै घरमा मानिस बसोबास नगर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को लागि जिल्लाका प्रत्येक घर–घरमा पुगेका सुपरिवेक्षक तथा गणकले जिल्लाका २५ प्रतिशतभन्दा बढी घरमा मानिसहरू बसोबास नगर्ने गरेको बताएका छन् ।

जिरी नगरपालिकाका, तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकाका सात हजारभन्दा बढी घरमा मानिस भेट्न नसकेको जनगणनामा खटाइएका सुपरिवेक्षकले जानकारी दिए । अधिकांश मानिसहरू सहरकेन्द्रित भएकोले गाउँमा बसोबास गर्ने मान्छे निकै कम छन् । बैतेश्वर गाउँपालिकामा तीन हजार तीन सय घरपरिवार घरमा ताला लगाएर सहरमा बसोबास गर्नेगरेको पाइएको जनगणनाको लागि बैतेश्वर खटिएका सुपरिवेक्षक देव कुमार श्रेष्ठले बताए ।

भूकम्पपछि गाउँमा घर बनाए पनि मानिसहरू आफ्ना आवश्यकता परिपूर्तिका लागि सहरकेन्द्रित भएको श्रेष्ठको भनाइ छ । उक्त घरपरिवारका मानिस मुख्य चाडपर्वमा मात्र घरमा बस्ने गरेका छन् । गाउँका कतिपय घर निर्माण गरेर ताला लगाएर राखिएको छ भने केही घरमा मुख्य चाडपर्वमा मात्र घरका मान्छे आएर ताला खोल्ने गरेको बैतेश्वर मिर्गेका स्थानीय किरण तामाङले बताए । तामाङका अनुसार भूकम्पपछि धेरै घर निर्माण भए पनि मानिस बसोबास नगर्दा गाउँ नै सुनसान देखिने गरेको छ ।

त्यस्तै जिरी नगरपालिका करिब दुई हजार ७ सय घरपरिवार पनि गाउँमा बस्दैनन् । उनीहरू दशैँ तिहारमा मात्रै गाउँमा आउने र चाडपर्व सकिएपछि सहर छिर्ने गरेका छन् । भूकम्पपीडितलाई सरकारले दिएको तीन लाख रूपैयाँ लिन अनिवार्यरूपमा आवास निर्माण गुनपर्ने भएकोले सोही रकम लिनका लागि मात्रै पनि मानिसहरूले घर बनाएका छन् । गाउँमा घर बनाए पनि उनीहरू सहरबजारमा बस्नेगरेको पाइएको छ ।

धेरै मानिसहरू सहरकेन्द्रित बन्दा गाउँमा भूकम्पपछि निर्माण भएका सयौँ घरहरू रित्तै भेटिएको गणकहरूको भनाइ छ । जिल्लामा भूकम्पपछि करिब ६६ हजार घर निर्माण भएका छन् । निर्माणसम्पन्न भएका घरमध्ये अहिले २५ प्रतिशत घरमा मानिस बसोबास गर्दैनन् । तथ्याङ्क विभागले जनगणनामा छ महिनाभन्दा बढी बाहिर बसोबास गर्ने मानिसलाई आफू बसेकै ठाउँबाट आफ्नो विवरण टिपाउने व्यवस्था मिलाएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x