‘लालपुर्जा नपाएसम्म अब कसैलाई भोट हाल्दैनौं’
दैलेख । दैलेखको नारायण नगरपालिकास्थित नमूना बस्तीका बादी समुदायलाई सरकारले बसोबास गर्न थालेको १८ वर्ष बितिसक्दा पनि अझै व्यवस्थापन गर्न सकेको छैन । सदरमुकाम समेत रहेको नारायण नगरपालिका ६ गणेशचोकको पछाडि भिरालो ठाउँमा रहेको नमूना बस्तीमा करिब ५१ घरपरिवार बादी समुदायको बसोबास छ ।
तत्कालीन द्वन्द्वकालमा राज्य र माओवादी दुवै पक्षबाट असुरक्षित भएपछि उनीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट ल्याएर उक्त ठाउँमा राखिएको थियो । अहिले उनीहरू बिहानदेखि साँझसम्म अरूकै घरमा काम गरेरै बालबच्चा पढाउनेदेखि परिवारको छाक टार्ने गरिररहेका छन् । बसोबास गर्न थालेको १८ वर्ष बितिसक्दा पनि उनीहरूसँग न त जमिन छ, न त आफू बस्ने घरको जमिनको लालपुर्जा नै । जब–जब चुनाव आउन थाल्छ, तब–तब नेताहरू नमूना बस्तीमा पुग्छन् र भन्छन, ‘हामीलाई भोट दिनुहोस्, तपाईँको अमूल्य भोटले हामीले जित्यौँ भने तपाईँका समस्या हल गर्नेछौँ ।’ बस्तीमा रहेका नागरिकलाई लालपुर्जा दिलाइदिन्छौँ भनेर विभिन्न दलका नेताहरूले आश्वासन दिन थालेको पनि १८ वर्ष पूरा भएको नमूना बस्तीका राजन बादी सुनाउँछन् । चुनावका बेला नेताहरूले विभिन्न प्रलोभन देखाएर भोट माग्ने तर चुनावपछि भने बस्तीमा कुनै पनि दलका नेता फकर्रे नआउने गरेको उनले गुनासो गरे ।
उनी भन्छन्, ‘नमूना बस्तीमा बस्न थालेको १८ वर्ष भयो, हामीले अझै लालपुर्जा पाएनौँ, लालपुर्जा नदिने भए हामीलाई बस्तीमा किन बसाल्ने ?’ उनी मात्र होइन नमूना बस्तीका ५१ घरधुरीमा बसोबास गर्ने सबै नागरिकको समस्या एउटै छ । स्थानीय सरकार आएपछि नमूना बस्तीका बादी समुदायलाई आफ्ना दैनिकी फेरिने आशा थियो, तर उक्त आशाहरू सबै निराशामा परिणत भएका छन् । बादी समुदायकी अगुवा गिता बादी भन्छिन्, ‘सरकारले आश्वासन दिएअनुसार नै लालपुर्जा मात्र दिएको भए पनि गाँस र कपासको त व्यवस्था आफैँ गरिहाल्ने थियौँ ।’ १८ वर्षदेखि बसोबास गरेको जग्गा आफूहरूले नै प्रयोग गर्न पाउनुपर्ने उनी बताउँछिन् । ‘अब हामी हाम्रा माग पूरा नभएसम्म कसैलाई भोट हाल्नेवाला छैनौँ, बस्तीका सबै एकजुट भएका छौं’, उनले भनिन् ।
नमूना बस्तीकै गोरबहादुुर बादीले पनि यसअघि भएका निर्वाचनका बेला नेताहरूले पटक–पटक बस्तीमा आई झुक्याएकोले अब काम नगरी भोट नदिने बताए । गोरबहादुरले भने, ‘हुनेलाई फलिफाप, नहुनेलाई सधैँ पुर्पुरोमा हात भन्थे हो रैछ ।’ गरिबदुःखीहरूका लागि जुनसुकै सरकार आए पनि केही फरक नपर्ने उनी बताउँछन् । बिहान साझ छाक टार्नका लागि दिनभर सदरमुकाममा आउने ठूला–ठूला मालवाहक गाडीहरूमा आएको समान लोड अनलोड गरेर कमाएको थोरै पैसाले यहाँका नागरिकहरू छाक टार्दै आएका छन् । बस्तीका अधिकांश नागरिक पेट पाल्नकै लागि कोही भारतमा छन् त कोही यतै साहुकोमा ज्यालादारी काम गरिरहेका छन् । लालपुर्जा नभएकै कारण यहाँका नागरिकले सरकारले दिने विभिन्न सेवासुविधाबाट पनि वञ्चित हुँदै आउनु परेको छ । राजनीतिक दलहरूले चुनावका बेला मात्रै लालपुर्जाका विषयलाई जोडतोडका साथ चुनावी एजेन्डा बनाउने गरेका छन् ।
यता राष्ट्रिय भूमि आयोग दैलेखका अध्यक्ष नयाँराम थापाले भने यहाँका भूमिहीन नागरिकले छिटै लालपुर्जा पाउने बताए । उनले स्थानीय सरकारको वडादेखि जति छिटो विवरण आयोगको जिल्ला समितिमा प्राप्त हुन्छ, त्यहीअनुसार तत्काल भू– स्वामीत्वविहीन नागरिकहरूले जग्गाको लालपुर्जा पाउने बताए । आयोगले जिल्लाका तीन स्थानीय तहलाई सूचना जारी गर्न लगाएको र केही निवेदन वडाबाट गाउँपालिका तथा नगरपालिकामा आइसकेको बताए । स्थानीय तहको ३५ दिने सूचनापछि वडाबाट सङ्कलित भूमिहीनका निवेदन पालिकाहरूमा आउने र ती निवेदनको अध्यनपछि स्तानीय तहले फेरि सातदिने दाबी–विरोधको सूचना निकाल्ने उनले बताए । यसमा थप अध्यनपछि राष्ट्रिय भूमि आयोगको जिल्ला समितिमा आएका निवेदनको अध्ययन गरी लालपुर्जाविहीन नागरिकलाई पुर्जा उपलब्ध गराउने उनको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया