Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमेलम्ची बजारदेखि खाल्डे खोलासम्मको सडक मर्मत नहुँदा सास्ती

मेलम्ची बजारदेखि खाल्डे खोलासम्मको सडक मर्मत नहुँदा सास्ती


 सिन्धुपाल्चोक । मेलम्ची हुँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको केन्द्र यात्रा गर्ने जो–कोही बाटोका कारण दिक्क मान्छन् । पाँचपोखरी गाउँपालिकाको माथिल्लो बस्तीमा पुग्दा जति आनन्द मिल्छ, त्यति नै सास्ती त्यहाँ पुग्नलाई पनि भोग्नुपर्छ । उत्तरी भेगमा चौतारा सांगाचोकगढी नगरपालिकाले र दक्षिणी भेगमा मेलम्ची नगरपालिकाले पाँचपोखरी सीमा जोड्ने सडक व्यवस्थित नगरिदिँदा यो भेगका नागरिकले सास्ती खेप्दै आएका हुन् ।

मेलम्ची बजार पार गरेर खाल्डे खोला (पाँचपोखरी थाङपाल गाउँपालिकाको सिमाना) सम्मको बाटोमा यात्रा गर्दा साह्रै कष्ट भोग्नुपर्ने भोताङका ट्रिपरचालक दलु पाख्रिन बताउँछन् । सडककै कारण खर्चमा समेत वृद्धि हुने उनको गुनासो छ । खाल्डाखुल्डीका कारण सवारीसाधनको पत्ता जानेदेखि टुटफुट हुँदा व्यवसायी मर्कामा छन् । मेलम्ची, खाल्डे हुँदै तिपेनीसम्मको सडकमा साधन चलाउँदा दुर्घटनाको जोखिम र सास्ती भोग्नुपरेको लागर्चेका स्थानीय सरोज धिताल बताउँछन् । ‘सजिलो हुने हो भने ३० मिनेटमा मेलम्चीबाट पाँचपोखरीको सीमासम्म पुग्न सकिन्छ’, उनले भने, ‘तर दुई घण्टा बढी समय लाग्छ । त्रसित भएर यात्रा गर्नुपर्छ ।’ साँघुरो सडक त्यसैमाथि पहिरो र बाढीले छिया–छिया बनाएकाले सवारी सञ्चालन गर्न समस्या छ । दुर्घटनाको जोखिम घटाउन पहिरो नियन्त्रण र सडक स्तरोन्नति गर्नुपर्ने स्थानीय बताउँछन् ।

वर्षायाममा त यहाँ हरेक वर्षजसो सडक अवरुद्ध नै हुँदा जटिल अवस्थाका बिरामीलाई अस्पताल पुग्न हेलिकोप्टर चड्नुपर्ने हुन्छ । पाँचपोखरी थाङपाल गाउँपालिकाको सिमानासम्म रहेको मेलम्ची नगरपालिकाभित्र पर्ने छ किलोमिटर सडकमा खाल्डाखुल्डी छ । पानीको निकासा पनि भएको देखिँदैन । २०७४ सालमा जनप्रतिनिधि आएपछि चार किलोमिटर सडकको मेलम्ची नगरपालिकाले डीपीआर गरेर लगानी व्यहोर्ने र थप सडक विभागले टेन्डर गर्ने सैैद्धान्तिक सहमति बनेको थियो । तर पाँच वर्षको कार्यकाल पूरा हुँदै गर्दा मेलम्ची नगरपालिकाले सडकको टेन्डर गरेन । मेलम्चीका मेयर डम्बर अर्यालले नागरिकको समस्यालाई नदेखेझैँ गरी कार्यकाल सकाउन लागेका छन् ।

मेलम्चीको सीमा काटेपछि भोग्नुपर्ने सास्ती पाँचपोखरीको सीमा सुरु भएपछि भने केही कम हुन्छ । १० किलोमिटर पाँचपोखरी सडक कालोपत्रे गर्नेगरी सडक विभागले टेन्डर निकालेको छ । सडकको काम अगाडि बड्दै गर्दा गत असार १ गते आएको बाढी तथा पहिरोको कारण निर्माणाधीन सडक हाल जोखिममा छ ।

पाँचपोखरी थाङपाल गाउँपालिकासँग वैकल्पिक सडक नहुँदा वर्षायाममा थुप्रै चुनौती खेप्नुपर्छ । बर्खापछि सडकमार्ग प्रयोग गरेर मेलम्ची पुग्न सकिँदैन, हेलम्बुको चनौटे पुल पुग्ने सडकमार्ग नै छैन । पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासि लामा चौतारा साँगाचोकगढी नगरपालिकाले गोब्रेको सिमानासम्म सडक स्तरोन्नति गरेमा चौताराको सडकमार्ग प्रयोग गर्न सकिने बताउँछन् । सिमाना जोडिएका चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकासँग वर्षाको समयमा पर्ने सडक समस्याबारे छलफल भइरहेको पालिकाअध्यक्ष लामाले बताए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x