सडकमा फोहोर थुप्रिनुको दोषी को ?
काठमाडौं । केही सातायता काठमाडौंको फोहोर उठ्न छाडेको छ । काठमाडौंका चोकदेखि लिएर गल्ली–गल्लीमा फोहोरको डङ्गुर थुप्रिएको छ । काठमाडौं उपत्यकावासीले आफ्नो घरभित्रको फोहोर सबै सडकछेउ ल्याएर फ्याँकेका छन् । बाटोमा यसरी फोहोर ल्याएर थुपार्दा अन्तर्राष्ट्रियमै नेपाल दुर्गन्धित देश हो भन्ने छवि बनेको छ । अर्कोतिर, फोहोरको कारणले सर्वसाधारणलाई सास्ती भएको छ । यता, गर्मी मौसममा यसबाट अर्को महामारी उत्पन्न हुने देखिएको छ । प्रभावकारीरूपमा फोहोर व्यवस्थापन गर्न नसक्दा हैजा, झाडापखालाजस्ता रोगहरू निम्तिने सम्भावना बढी छ ।
काठमाडौंवासीहरू आफू सुकिलामुकिला बन्छन्, चिल्ला गाडी चढ्छन्, एसीमुनि बस्छन्, तर आफ्नो भान्साबाट निस्किएको फोहोरचाहिँ सडकमा ल्याएर फाल्ने ? यसो गर्न मिल्छ ? आफ्नो कोठा, घरचाहिँ सफासुग्घर राख्ने अनि बाटोमा फोहोर फालेर अरुलाई दुःख दिने ? काठमाडौंलाई राजधानीको नाम दिइएको छ तर राजधानी नै फोहोरले भरिपूर्ण छ । मुलुकभरका मानिसहरू आ–आफ्नो काम लिएर राजधानी आउँछन्, उनीहरूले के सोच्छन् ? जताततै फोहोर नै फोहोर देखिन्छ । पर्यटकहरू फोहोर हेर्नलाई काठमाडौं आउने हो ? विदेशी पाहुनाहरू नेपाल आएनन् भने अर्थतन्त्रमा निकै असर पर्छ । यसको जिम्मा कसले लिने ? सरकारले कि काठमाडौंवासीले ?
सिसडोलको ल्यान्डफिल साइट जाने बाटो अवरुद्ध हुँदा सरकारले केही सातायता फोहोर उठाउन सकेको छैन । सरकारले कैयौँ कोसिस गर्दा पनि सिसडोलका स्थानीयले फोहोरको गाडी जान दिइरहेको छैनन् । यस्तोमा सरकारलाई सहयोग गर्नुपर्ने जिम्मा हाम्रो होइन ? सहयोग गर्नको साटो सरकारलाई गिज्याउन काठमाडौंवासीले सडकमा ल्याएर फोहोर फ्यालेका छन् । फोहोर बाटोमा ल्याएर फाल्दा नेपाल बदनाम बनेको छ । जसरी हरेक नागरिकप्रति सरकार जिम्मेवार हुनुपर्छ, नागरिक पनि सरकारप्रति जिम्मेवार हुनुपर्छ । फोहोरको गाडी नआउन्जेल फोहोर यसरी बाटोमा ल्याएर नफाल्दा घर–घरमा राख्दा काठमाडौंवासीको के जान्थ्यो ? भान्सादेखि लिएर व्यापार गरेका फोहोर सबै सडकमा छन् । अहिले काठमाडौं कति घिनलाग्दो देखिएको छ । अन्य मुलुकको आनीबानी सिको नेपालीले पनि गर्न सिकौँ । हामी सबैलाई थाहा नै भएको कुरा प्रायजसो देशमा आफ्नो घर वरपरका बाटोघाटो त्यहीँका सर्वसाधारणले गर्छन् । उनीहरू कति जिम्मेवार छन् । सरकारलाई सहयोग गर्नुपर्छ भन्नेको कुरा उनीहरूलाई थाहा छ । एउटा चकलेटको खोल समेत डस्टबिनमा लगेर फाल्छन् । अरुमा नभए पनि सरसफाइमा उनीहरू अब्बल छन् । सरसफाइकै मदतबाट उनीहरूले आफ्नो मुलुकलाई विश्वभर चिनाएका छन् । सरकारले बनाएको ऐनकानुन मान्नदेखि जिम्मेवार बन्नमा उनीहरू सबैभन्दा अघि हुन्छन् ।
तर, नेपालको सन्दर्भमा हेर्ने हो भने ठ्याक्कै त्यसको उल्टो छ । चकलेट खाएर खोल डस्टबिनमा होइन जथाभावी फाल्ने प्रचलन छ । खाना खान्छन् बढी भएको ल्याएर बाटोमा फाल्छन् । यसलाई जिम्मेवार नागरिक भनिन्छ । भान्साबाट निस्किने फोहोर त आफैँले व्यवस्थापन गर्न सक्नुपर्ने होइन ? फोहोर उठाएबापत राज्यलाई कर तिरेको छ भन्दैमा बाटोमा ल्याएर फोहोर फाल्न पाउँछन् ? सरकारले कोठादेखि लिएर भान्साको फोहोर उठाउन ठेक्का लिएको हो ? भान्साबाट निस्किएको फोहोर त कम्पोस्ट मल बनाउँदा पनि हुन्छ । तर, मल बनाउने जाँगर र सरकारलाई सहयोग गर्ने सोच काठमाडौंका स्थानीयमा देखिँदैन । काठमाडौंका स्थानीयका बानी फोहोर उठाएन, सरकारले केही गर्न सकेन भनेर जतिबेला नि सरकारलाई कोसिरहेका हुन्छन् । तर, उनीहरू हामी जिम्मेवार बन्नुपर्छ भनेर सोच्दैनन् ।
फोहोरमा पनि राजनीति घुसेको छ । अहिले काठमाडौंमा वडाध्यक्षदेखि लिएर मेयर एमालेको छ । तर, नेपालका प्रधानमन्त्री त कांग्रेसको छन् । फोहोर उठाउन असमर्थ कांग्रेस भन्दै एमालेले आउने चुनावमा भोट माग्छ । कांग्रेसलाई गिराउनका लागि पनि काठमाडौंका मेयर र वडाध्यक्षले फोहोर नउठे पनि कुनै चासो देखाएका छैनन् । मेयर एमालेको भए पनि कांग्रेसको उपमेयरले पनि फोहोर उठाउन कुनै पहल गरेको देखिँदैन । कामचाहिँ केही नगर्ने तर अबको चुनावमा मेयरमा उठ्छु भन्ने उपमेयरको दाबी छ । तर, काठमाडौंको उपमेयरले के राम्रो काम गरेकी छिन् र जनताले उनलाई भोट दिन ? काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले चुनाव जितेको एकसय दिनमा एक सय एक काम गर्छु भनेर वाचा गरेका थिए । तर, चुनाव भएको पाँच वर्षमा पनि उनले पाँचवटा काम गर्न सकेका छैनन् । उपमेयर हरिप्रभा खड्गीको दाउ मेयरको टाउकोमा काम गर्न नसकेको दोष हालिदिने अनि मेयरमा उठ्ने । काठमाडौंमा जुनसुकै पार्टीका मेयर र उपमेयर आए पनि फोहोर व्यवस्थापन गर्न सक्दैन । घरधनी र भाडावाल गरेर राजधानीमा झण्डै एक करोड जनसंख्या छ । यत्रो जनसंख्याबाट दैनिक निस्किएको फोहोर सरकारले कहाँ लगेर व्यवस्थापन गर्ने ? फोहोर फाल्नलाई खाली ठाउँ कतै छैन । भएको पनि बेला–बेलामा अवरोध भइरहन्छ । सरकारले यत्रो जनसंख्यालाई राजधानीमा बसोबास गर्न दिनु नै गलत भयो । घर बन्यो तर फोहोर फाल्ने ठाउँ बनेन ।
यसमा सहरी विकास मन्त्रालय र सहरी विकास विभाग पनि दोषी छ । एक÷दुई आना जग्गामा घर बनाउन स्वीकृति दिइएको छ । सहरीकरणको नाममा तीनतिरै जोडेर घर बनाउन दिइयो । घर बनाउँदा खाली ठाउँ छोड्नुपर्छ भनेर कुनै पनि मापदण्ड बनाइएन । वडा र नगरपालिकाले कुन घरमा कतिवटा कोठा बहालमा लगाएको छ यसको विवरण सङ्कलन गर्नुपर्छ । एउटा घरमा कतिवटा कोठा बहालमा लगाइएको छ त्यसअनुसार वडाले राजस्व लिने कार्यको सुरुवात गर्नुपर्छ । एउटा घरमा १० वटा कोठा भाडामा लगाएका हुन्छन् तर सरकारले फोहोर उठाएबापत लिने राजस्व उति नै छ । यसले शान्तिसुरक्षामा पनि सहज हुन्छ भने पालिका र वडालाई आफ्नो नगरभित्र कति जनसंख्या छ यसको हेक्का राख्न सजिलो हुन्छ । वडा र पालिकाले कर्मचारी राखेर घरबहाल उठाउनुपर्छ । यसरी घरबहाल उठाउने, राज्यले लिनुपर्ने राजस्व काट्ने अनि बाँकी रकम घरधनीको खातामा हालिदिने । यसो गर्दा पछिल्लो समय निम्तिएको बेतिथिको पनि अन्त्य हुन्छ । विकसित मुलुकमा भूमिको अधिकार जनतालाई दिइँदैन ।
भूमिलाई राज्यकै अधीनमा राखिएको हुन्छ । भोलिको दिनमा अप्ठयारो नपरोस् भनेर भूमि सरकारकै नाममा हुन्छ । तर, नेपालमा त भूमि सबै व्यक्तिको नाममा छ । भूमिलाई सरकारले निजी क्षेत्रको रूपमा छाडिदिएको छ । सरकारले आफ्नो मुठ्ठीमा जमिन राखिदिएको भए आज नेपालको यो अवस्था हुँदैनथ्यो । सहरीकरण पनि व्यवस्थित हुन्थ्यो । वनजंगल मासिँदैनथ्यो भने जथाभावी घर बन्दैनथ्यो । घर बनाउँदाबनाउँदै हरियाली सबै मासियो, खाद्यको सङ्कट पर्दै गएको छ । घर बनाउने काम भइरहेको छ तर त्यसभित्रको व्यवस्थापन कसरी भइरहेको छ चेकजाँच हुँदैन । घरलाई पनि पञ्जीकरण गर्ने व्यवस्था गर्नुपर्छ । पञ्जीकरण नगरेका घरहरूको नामसारी रोकिदिएपछि मानिसहरूले घर बनाउनै छोडिदिन्छन् । यसो गर्दा राज्यलाई पनि राजस्व आउँछ र अव्यवस्थित सहरीकरण पनि रोकिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया