Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहवाइ सुरक्षाको सवाल

हवाइ सुरक्षाको सवाल


काठमाडौं । हवाइ यातायात अन्तर्राष्ट्रिय तथा आन्तरिक यातायात आबद्धताका लागि छिटो र भरपर्दो साधन हो । नेपालको भौगोलिक अवस्थिति र भू–धरातलीय स्वरूपका कारण आन्तरिक एवं बाह्य सम्पर्कका लागि यसको सान्दर्भिकता बढी नै रहेको छ । नेपालको हवाइ नीतिले हवाइ उडान सुरक्षा र हवाइ सुरक्षाको उच्चतम स्तर कायम गर्ने नीतिगत उद्देश्य राखे पनि व्यवहारमा त्यसो हुन सकिरहेको छैन । मुलुकभित्र पटक–पटक हुनेगरेका हवाइ दुर्घटनाका घटनाहरूले ‘नेपाली आकाश, सुरक्षित आकाश’ भन्ने मान्यताको व्यावहारिक रूपान्तरणलाई चुनौतीपूर्ण बनाउनुका साथै हवाइ सुरक्षाको सवाल समेत पेचिलो बन्दै गएको देखिन्छ ।

नेपालमा पटक–पटक भएका आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ दुर्घटनाका कारण थुप्रै मानिसहरूको मृत्यु भइसकेको छ । सन् १९७३, अक्टोबर ६ मा पहिलो पटक नेपाल वायुसेवा निगमको ट्वीनटर जहाज लुक्ला विमानस्थलमा दुर्घटना हुँदा तीन यात्रु र चालकदलका तीन सदस्य घाइते भएका थिए । त्यसयता, नेपालको सात दशकलामो हवाइ इतिहासमा ९० भन्दा बढी दुर्घटना भई करिब आठ सय मानिसहरूले ज्यान गुमाइसकेको तथ्याङ्क छ । सन् १९९२, जुलाइ ३१ मा थाइ एयरलाइन्सको विमान दुर्घटना हुँदा एक सय १३ जनाको ज्यान गएको र त्यो नेपालमा भएको पहिलो अन्तर्राष्ट्रिय विमान दुर्घटना थियो । पछिल्लो समयसम्म आइपुग्दा सन् २०१८ माभएको यूएस बंगलाको विमान दुर्घटनाको भयावह स्मरण पनि ताजै रहेको छ ।

आन्तरिक वा अन्तर्राष्ट्रिय हवाइ दुर्घटनाको दुःखद अवस्थाले नेपाली आकाशको असुरक्षालाई मात्रै उजागर गर्दैन, यसले बहुआयामिकरूपमा नै मुलुकलाई असर गरिरहेको हुन्छ । यस किसिमको भयावह अवस्थाबाट अरबौँ आर्थिक क्षतिका साथै सामाजिक, पारिवारिक र मानवीयरूपमा पर्न जाने क्षतिको लेखाजोखा नै छैन । पटक–पटक हुनेगरेका दुर्घटनाका कारण अन्तर्राष्ट्रिय जगतमा मुलुकको छवि धुमिल बनिरहेको छ । नेपाली आकाश असुरक्षित रहेको भनी विश्वभरि नकारात्मक सन्देश प्रवाह भइरहँदा यसले मुलुकको पर्यटन उद्योगलगायत सिंगो अर्थतन्त्रमा नै गम्भीर असर पु-याइरहेको छ ।

नेपालको हवाइ सुरक्षासम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार आईकाओको ग्लोबल एभिएसन सेफ्टी प्लानमाऔसत मापदण्ड ६० प्रतिशत रहने गरेकोमा नेपालको अवस्था ६६ दशमलव ७६ प्रतिशत रहेको छ । नेपालको अङ्क औसतभन्दा केही राम्रो देखिए पनि यो अवस्था सन्तोष गर्नलायक हुँदै होइन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले नेपालको हवाइ सुरक्षाका सन्दर्भमा सन् २००९ मा हवाइ क्षेत्रको सेफ्टी अडिट गरी सुधारका लागि केही सुझावहरू अघि सारेको थियो । ती सुझावहरूअनुसार सुधार गर्न नसकेका कारण सन् २०१३ मा आईकाओले नेपाललाई गम्भीर हवाइ सुरक्षाचासो भएको श्रेणीमा राखेको थियो । यही आधारमा युरोपेली संघले नेपाललाई कालोसूचीमा राखी उडान प्रतिबन्ध लगाएको छ । नेपालले हवाइ उडान सुरक्षाका क्षेत्रमा केही सुधारहरू गरेसँगै आईकाओले सन् २०१७ मा गम्भीर सुरक्षाको सूचीबाट हटाइसकेको भए पनि युरोपेली संघले भने हालसम्म नेपाललाई कालोसूचीबाट हटाएको छैन । युरोेपेली संघको कालो सूचीमा रहेका कारण नेपाली विमानले युरोपेली आकाशमा उडान अनुमति पाउन सकेका छैनन् । यसबाट पनि नेपालले ठूलो क्षति बेहोर्नु परिरहेको छ ।

नेपालमा हवाइ दुर्घटना बारम्बार निम्तिनु र हवाइ सुरक्षाको सवाल जल्दोबल्दो बन्नुमा विभिन्न कारणहरू जिम्मेवार रहेका देखिन्छन् । विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम, यससम्बद्ध सूचना व्यवस्थापनका लागि विमानस्थलहरूमा आधुनिक उपकरणको न्यूनता, पुराना मोडलका जहाजलगायतका कारण नेपालमा हवाइ दुर्घटना बढ्दो क्रममा रहेको यस क्षेत्रका विज्ञहरूको तर्क छ । हवाइ दुर्घटनापश्चात् गठित विभिन्न जाँचबुझ समितिका प्रतिवेदनहरूलाई आधार मान्दा हवाइ दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि वा पाइलटको कारणले भएको देखिन्छ । नेपालमा भएका धेरैजसो हवाइ दुर्घटना पहाडी क्षेत्रमा हुनेगरेको र मौसममा अचानक आउने खराबीका कारण चालकले हवाइ मार्ग पत्ता लगाउन नसकी दुर्घटना हुनेगरेको देखिन्छ । अर्कोतर्फ, नेपालमा सञ्चालनमा रहेका हवाइ कम्पनीले सीमित संख्यामा मात्र पाइलट राख्ने र एउटै पाइलटलाई उडानको बोझ पर्नेगरेका कारण पनि मानवीय त्रुटिबाट दुर्घटना बढिरहेको देखिन्छ ।

यसबाहेक, विमानस्थल र धावनमार्गहरूको खराब अवस्था, एयर ट्राफिक व्यवस्थापन प्रभावकारी बन्न नसक्नु, पुराना इन्जिन भएका जहाजहरूका कारण प्राविधिक कठिनाइ निम्तनुजस्ता कारणहरू पनि हवाइ दुर्घटनामा जिम्मेवार रहेका देखिन्छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा हवाइ सुरक्षा मापदण्ड तय गरिएको भए पनि मापदण्डको कमजोर परिपालना, उडान सुरक्षा नियमनका क्षेत्रमा दक्ष जनशक्तिको अपर्याप्तता, दक्ष प्राविधिक एवं पाइलटको न्यूनताजस्ता समस्याहरू पनि हवाइ दुर्घटनाको कारक बनिरहेका छन् ।

नेपालको सन्दर्भमा विमानस्थलवरपर जंगली जनावर र चराहरूको आवागमनलाई नियन्त्रण गर्न नसक्दा समेत दुर्घटना बढिरहेको देखिन्छ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलवरिपरि भएका जंगल र त्यहाँ रहेका विभिन्न ३० प्रजातिका चराहरूका कारण पनि यो विमानस्थल असुरक्षित रहेको एक अध्ययनले देखाएकोे छ । यस क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमनकारी भूमिका र संस्थागत क्षमता कमजोर रहेका कारण प्राधिकरणले अपेक्षित जिम्मेवारी वहन गर्न सकेको पाइँदैन ।

नेपालको सन्दर्भमा जब–जब हवाइ दुर्घटनाका घटनाहरू घट्छन्, सुरक्षित नेपाली आकाशको विषयमा निकै चर्चा र बहसहरू हुने गर्दछन् । दुर्घटनाको कारण पत्ता लगाउन तत्कालै छानबिन समिति गठन हुने र समितिले निश्चित अवधिमा प्रतिवेदन बुझाउने सिलसिला पनि चल्ने गर्दछ । दुर्घटनालगत्तै देखिने यस किसिमको कर्मकाण्डका अलावा अन्य समयमा हवाइ सुरक्षाजस्तो संवेदनशील विषयले अपेक्षितरूपमा प्राथमिकता पाउन सकेको देखिँदैन । छानविन प्रतिवेदनमार्फत प्राप्त सुझावहरूलाई पृष्ठपोषणका रूपमा लिई यस क्षेत्रमा सुधारको कार्य अघि बढाउने सन्दर्भमा समेत हामी चुकिरहेका छौँ ।

नेपालको सन्दर्भमा भौगोलिक अवस्था र मौसमका कारण हुने दुर्घटनाभन्दा मानवीय त्रुटिलाई मात्रै घटाउन सके पनि ठूला हवाइ दुर्घटनाबाट मुलुकलाई निकै हदसम्म सुरक्षित राख्न सकिने देखिन्छ । समय–समयमा हुनेगरेका भयावह दुर्घटनालाई न्यूनीकरण गरी नेपाली आकाश, सुरक्षित आकाशको मान्यतालाई साकार तुल्याउन यस क्षेत्रमा थुप्रै सुधारहरू आवश्यक रहेका छन् । मूलतः अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले निर्दिष्ट गरेका हवाइ उडान सुरक्षासम्बन्धी प्रावधान र अन्तर्राष्ट्रिय मापदण्डको कडाइका साथ कार्यान्वयन गरिन आवश्यक छ । विमानस्थलहरूमा आधुनिक उड्ययन उपकरणहरूको व्यवस्था गर्ने, उडान सुरक्षा अनुगमन र जाँच प्रणालीलाई प्रभावकारी बनाउने, पाइलट र प्राविधिकहरूलाई दक्ष र सचेत बनाउने, भिजिबिलिटी मापदण्डको पालना गर्नेजस्ता सुधारहरू अवलम्बन गरिन जरुरी छ ।

यसैगरी, विमानस्थलवरपर चरा र जनावरहरूको आवागमनलाई नियन्त्रण गर्ने, हवाइ इन्जिनको अवस्थाबारे जाँच र अनुगमन प्रभावकारी बनाउने, सञ्चालक र पाइलटहरूले सुरक्षालाई पहिलो प्राथमिकता दिने, निर्माणाधीन विमानस्थलहरूको निर्माणसम्पन्न गरी एयर ट्राफिक कम गर्ने, हवाइ दुर्घटना जाँचबुझका लागि स्थायी संयन्त्रको व्यवस्था गर्ने, दुर्घटना जाँचबुझ समितिहरूका सुझावलाई तदारुकताका साथ कार्यान्वयन गर्नेजस्ता कदमहरू चाल्न पनि ढिला भइसकेको छ ।

नेपालको भू–धरातलीय जटिलताकै कारण सडक यातायात पनि अति जोखिमपूर्ण रहेको तथ्य पटक–पटक हुनेगरेका सडक दुर्घटनाहरूले पुष्टि गरिरहेका छन् । यो परिप्रेक्ष्यमा हवाइ यातायातलाई सुरक्षित, सर्वसुलभ र भरपर्दो बनाउन अति आवश्यक रहेको छ । यसका लागि नेपालको हवाइ उडान व्यवस्थापनका सन्दर्भमा देखिएका मानवीय, भौगोलिक, प्राविधिक, व्यावसायिक तथा व्यवस्थापकीय कमजोरी हरूलाई सुधार गर्नतर्फ बेलैमा तदारुकता देखाउन अपरिहार्य छ । हालसम्मका हवाइ दुर्घटनाहरूको सूचना र प्रतिवेदनहरूको विषयविज्ञहरूबाट गहन अध्ययन र विश्लेषण गरी ठोस निष्कर्ष निकाल्दै हवाइ उडान सुरक्षासम्बन्धी प्रस्ट मार्गचित्र निर्माण र कार्यान्वयन हुनसके यस क्षेत्रमा ठोस सुधारको अपेक्षा गर्न सकिन्छ ।

विश्वमा नै सबैभन्दा छिटो र सुरक्षित मानिएको हवाइ सेवा नेपाल भने दिनदिनै असुरक्षित बन्दै जानु सुखद् विषय हैन । यसले एकातिर मानवीय र आर्थिक क्षतिलाई बढाइरहेको छ भने अर्कोतिर हवाइ दुर्घटनाका घटनाहरूले विश्वमा राष्ट्रको छवि धुमिल बन्दै गएको छ । अतः नेपाली आकाशका असुरक्षाका सवालहरूलाई सम्बोधन गर्दै हवाइ सेवालाई जोखिमरहित, सुरक्षित र भरपर्दो बनाउने सन्दर्भमा हवाइजहाज सञ्चालक, नीति निर्माता, नियामकलगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयत्नको खाँचो देशलाई खड्किएको देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x