आर्थिक समृद्धिका लागि एभोकाडो खेती
काठमाडौं । नेपाल एक कृषिप्रधान देश भएकोले यहाँको कुल जनसंख्याको झण्डै दुई तिहाइ जनता कृषिमा निर्भर छन् । त्यसैले यहाँका सबै कृषकहरूको प्रमुख आयस्रोत यही हो ।
वास्तवमा कृषिले यहाँको कुल गार्हस्थ्य उत्पादनमा सरदर २७ प्रतिशत योगदान पु-याउँदै आएको छ भने अन्य क्षेत्रको विकासमा पनि केही योगदान पु-याउँदै आएको छ । तर विगतमा खाद्यान्न उत्पादनमा मात्र विशेष जोड दिनाले यस क्षेत्रको ठोस विकास गर्न सकिएन । वास्तवमा यस क्षेत्रको ठोस विकासका लागि फलफूल खेतीले पनि महत्वपूर्ण भुमिका खेल्न सक्छ । यसै सन्दर्भमा एभोकाडो खेती गर्नसके धेरै फाइदा हुनेछ ।
नेपाल एक कृषिप्रधान देश भए पनि यहाँ फलफूलको खेती त्यती फष्टाउन सकेको छैन । तर केही वर्षयता यहाँको केही जिल्लामा नयाँ किसिमका फलफूल खेती गर्ने प्रवृत्ति बढेको छ जसमध्ये एभोकाडो खेती पनि एक हो । नेपालमा घिउ फलको नामले चिनिने एभोकाडो मेक्सिको रअमेरिकाबाट भित्रिएको अनुमान छ । यो फलको खेती पाँच सयदेखि १७ सय मिटरसम्मको उचाइमा उष्ण र समशीतोषण हावापानी भएको ठाँउमा गर्न सकिन्छ ।
मंसिर, पुस र माघबाहेक अरु महिनामा रोप्न सकिने यो फलको बिरुवा एक पटक रोपेपछि धेरै वर्षसम्म निरन्तर रूपले फल दिइरहन्छ । यसको खेती खासगरी तुसारो नपर्ने र हावा नलाग्ने ठाउँमा गरिन्छ । यो फलको बिरुवा रोपेको ४ देखि ६ वर्षभित्र उत्पादन सुरु हुन्छ ।
नाम नै घिउ फल हुनाले यस फलको बाहिरको पातलो बोक्रा निकालेपछि भित्रको गेडावरिपरि रहेको घिउ वा क्रिमजस्तो सेतो भागलाई दूध वा दहीमा मिसाएर खान सकिन्छ । योबाहेक यसलाई पाउरोटीमा मिसायर पनि खान सकिन्छ ।
आजकाल केही तारे होटलहरूमा यो फलको भित्री सेतो भागलाई खासगरी मेवा, गाँजर र केरासँग मिसाएर सेवन गर्ने चलन निकै बढेको छ । यसले प्रत्येकको स्वास्थ्यमा निकै फाइदा गर्छ । यो फलमा भिटामिन, प्रोटिन, खनिज, फसफोरस, क्यालसियम र चिल्लो पदार्थ हुनाले स्वास्थ्यवर्द्धक हुन्छ । त्यसैले विदेशीहरूले यसलाई धेरै रुचाउँछन् र यसका उपभोक्ताहरू पनि दिन प्रतिदिन बढीरहेका छन् ।
यो फलको धेरै गुण भए पनि महँगो छ । यस्तो हुनुमा मुख्यतया यसको बजारको प्रतिस्पर्धा हुन नसक्नु र निश्चित ठाउँमा निश्चित ग्राहकहरू मात्र हुनाले हो । यसैले आजसम्म पनि उक्त फलको बजार धेरैजसो देशहरूमा व्यावसायिक बन्न सकेको छैन ।
एभोकाडोको बोट हेर्दा राम्रो देखिन्छ । यसले वातावरणलाई स्वच्छ बनाउँछ । यसको बोट हरियो, ठूलो पात भएको र फल हरियो तथा लामो हुने भएकोले सजिलैसँग चिन्न सकिन्छ । यसको बोट ठूलो भए पनि जरा धेरै तलसम्म नफैलिने हुदा हावाहुरीले ढल्ने धेरै सम्भावना हुन्छ ।
यसको खेती गर्दा एक बोटबाट अर्को बोटको दूरी आठ मिटर हुन उपयुक्त हुन्छ । यसको प्रत्येक बोटबाट सरदर ३० देखि १०० किलोग्रामसम्म फल फल्छ ।
नेपालमा एक लाख १९ हजार एक सय १४ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिन्छ भने सरदर १० लाख ९६ हजार छ सय ७४ मेट्रिकटन फलफूल उत्पादन गरिन्छ । तर यहाँ नौ हजार दुई सय छ किलो फलफूल प्रतिहेक्टर उत्पादन भएको अनुमान छ ।
यहाँको कुल गार्हस्थ्य उतपादनमा फलफूल तथा मसला बालीको योगदान ७ दशमलव ०६ प्रतिशत छ । जुन अरु देशको तुलनामा निकै कम छ ।
यहाँ प्रत्येक वर्ष फलफूलको खपत बढे पनि उत्पादन भने खासै बढेको छैन । यहाँको स्वदेशी फलफूल उत्पादन अपर्याप्त भएकाले प्रत्येक वर्ष भारत र चीनबाट प्रचुर मात्रामा आयात गरिन्छ ।
फलफूलमा नेपालको परनिर्भरता बढिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चिया, कफी, अलैँची, सुपारी, केरा, कागती आदिको उत्पादनमा जोड दिएको छ । तर अन्य फलफूलको खेतीमा खासै ध्यान दिएको देखिँदैन ।
वस्तुतः यहाँका धेरैजासो कृषकहरूलाई एभोकाडोको खेतीबारे राम्रो ज्ञान छैन । कही वर्षअघिसम्म यहाँका ग्रामीण क्षेत्रका केही घरमा सोखका लागि एक–दुई बोट रोपिन्थ्यो । परन्तु हाल व्यावसायिक भविष्य देखेका केही कृषकहरू उक्त फलको खेती गर्न आकर्षित भएका छन् । थोरै मिहिनेत गरेर धेरै आम्दानी गर्न सकिने भएकाले हालसालै पूर्वी नेपालका केही कृषकहरू उक्त फलको खेती गर्न तम्सेका छन् ।
वर्तमान समयमा एभोकाडोको खेती खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धनकुटा र सर्लाहीका ग्रामीण क्षेत्रहरूमा हुन थालेको छ । यद्यपि उक्त खेतीले व्यापक रूप लिन भने सकेको छैन । एभोकाडोको मूल्य धेरै हुनाले यहाँका धेरैजसो उपभोक्ताहरू यसको सेवन गर्न त्यति आकर्षित छैनन् । हाल यसको बजार खासगरी काठमाडौं, ललितपुर, धनकुटा र सर्लाहीमा सीमित छ ।
यथार्थतः एभोकाडोको खेतीका लागि यहाँको हावापानी उपयुक्त छ । यसैले केही समययता यसको खेती विभिन्न ठाउँमा गर्न थालिएको छ । यसको खेती भीरपाखामा पनि गर्न सकिन्छ । त्यसैले यसको खेतीबाट एकातिर यहाँको बाँझो तथा खेर गएको जग्गा उपभोग गर्न सकिन्छ भने अर्कोतिर कृषकहरूको आय आर्जन बढाउन पनि सघाउ पुग्नेछ ।
हाल यहाँ एभोकाडोको माग निकै नै कम छ । परन्तु यसको माग क्रमिक रूपले बढिरहेकोले आगामी दिनहरूमा यसको खेतीका लागि सरकारले बीउ, बेर्ना तथा अन्य आवश्यक सामग्रीहरूको उचित व्यवस्थापन गर्नसके धेरै कृषहरू आकर्षित हुनेछन् र यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ ।
हालको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले निर्देशित कर्जा प्रवाहमा विशेष जोड दिएको छ । विशेषतः उत्पादनमूलक मानिएका क्षेत्रमा लगानी बढाउन बैंकहरूलाई बाध्यकारी बनाइएको छ ।
कृषि कर्जामा वाणिज्य बैंकहरूले २०८० असारसम्म कुल कर्जाको कम्तीमा १५ प्रतिशत र विकास बैंक तथा वित्त कम्पनीहरूले भने कृषि तथा अन्य क्षेत्रहरूमा क्रमशः २० र १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । योबाहेक एभोकाडोलगायत अन्य व्यावसायिक फलफूल खेतीमा भएको कर्जाको नोक्सानी कम गरिने भएको छ । यस्तो कर्जाको नोक्सानी कम गर्नुपरे पहिलो वर्ष शून्य दशमलव २ प्रतिशत र दोस्रो वर्ष शून्य दशमलव ६ प्रतिशत नोक्सान व्यवस्था गर्नुपर्ने भएको छ । यसबाट एमोकाडो खेतीमा प्रवर्द्धन हुनेछ र आर्थिक समृद्धिमा सघाउ पुग्नेछ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
- प्रमको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
- मङ्सिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
- ऐतिहासिक चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा पूर्वाधार निर्माण थालियो
- नेपाल र बङ्गलादेशबीच जलवायुका विषयमा सहकार्यकोे महत्व छ: मन्त्री शाही
- कांग्रेस आकस्मिक बैठक: शोक प्रस्ताव पारित, दुई दिन आधा झण्डा झुकाउने
- पूर्वसभामुख ढुङ्गानाप्रति देउवाद्वारा श्रद्धाञ्जली अर्पण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया