Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगरुस–युक्रेन युद्ध र नेपालमा यसको असर

रुस–युक्रेन युद्ध र नेपालमा यसको असर


काठमाडौं । युक्रेनमा आक्रमण गरेर अमेरिका र यसका नाटो सहयोगीहरूलाई सैन्य चुनौती दिने रुसको निर्णय आपसी फाइदाजनक देखिन्छ । ऊ अमेरिकाको अगाडि उभिएको सबैभन्दा शक्तिशाली देश हो भनेर विश्वलाई बुझाउन खोजिरहेका छ । किनभने बलियो राष्ट्रको रूपमा रुसको तस्बिर धमिलो हुँदै गइरहेको थियो र त्यसको ठाउँमा चीनको तस्बिर स्पष्ट देखिन्थ्यो । तर युक्रेनमा रुसको कारबाहीले विश्वव्यापी आर्थिक व्यवस्थाको आधारभूत कुरालाई परिवर्तन गर्न सक्छ । रुसलाई धराशायी गर्ने अमेरिकाको रणनीति रहिरहनेछ । सामान्यरूपमा हेर्दा नेपाललाई कुनै पनि कोणमा युद्धको प्रभाव पर्नेजस्तो नदेखिए पनि नेपालाई ठूलो प्रभाव पर्ने देखिन्छ । खासगरी आर्थिकरूपमा नेपालले अहिले नै कदम चाल्नुपर्ने हुन्छ । विश्व आफ्नो आर्थिक रणनीति बनाइरहँदा नेपालले कस्तो रणनीति लिनुपर्नेछ भन्ने जरुरी छ तर त्यसभन्दा पहिले नेपालले यस युद्धका बेला आफ्नो अर्थव्यवस्थामा कस्तो असर पर्नसक्छ भनी विश्लेषण गर्नु जरुरी छ । नेपालले यस सङ्कटको घडीमा यी कुराहरूमा ध्यान दिन जरुरी देखिन्छ ।

राजस्व सङ्कलनमा कमी आउन सक्छ ।
यदि युद्ध लामो भएमा नेपालले राजस्व सङ्कलनमा ठूलो घाटा उठाउनुपर्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले आकाश छुँदा जनतालाई मार नपर्ने हकमा सरकारले कम मात्रामा व्यापार कमिसन तथा कम मात्रामा कर लगाउनुपर्ने हुन्छ । जसका कारण यस्तो आउँदो केही महिना राजस्व कम उठ्ने सम्भावना हुन्छ । नेपालमा पेट्रोलियम पदार्थबाट राजस्व धेरै उठने गरेको पाइन्छ यदि जनताले महँगाइविरुद्ध विरोध गरेमा सरकारले कर कम गरी वा कमिसन कम गरी बेच्नुपर्ने हुन्छ जसको फलस्वरूप राजस्वमा कमी आउन सक्छ ।

पेट्रोल–डिजेलको माग बढेर समस्या आउन सक्छ
नेपालमा प्रत्येक वर्ष ८ प्रतिशतजति पेट्रोल डिजेलको माग बढिरहेको हुन्छ । यदि यस्तो भई रहनेहो भने सरकारलाई राजस्व सङ्कलनमा ठूलो हानि हुन सक्नेछ । कच्चा तेलमा मूल्य वृद्धि हुनासाथ पेट्रोल–डिजेलको मूल्य बढिहाल्नेछ, जसको प्रतक्ष असर सरसामान ढुवानी र उत्पादनमा पर्नेछ । सरसामान ढुवानीमा मूल्यवृद्धि हुनासाथ दैनिक उपभोग्य वस्तुहरूमा पनि आम नागरिकले मूल्य बढी तिर्नुपर्नेछ । हाल नेपालमा त्यतिकै महँगाइ बढेको भनी सरकारको विरोध हुँदै आएको छ । यदि समयमा नै यसको उपाय खोज्न नसकेमा मूल्यवृद्धि डर आकाश छुनेछ जुन अब आउने दिनमा रेकर्ड कायम गर्नसक्ने अवस्था आउनेछ । यसको सिधा अर्थ हजारौँ किलोमीटर टाढा रहेको रुस र युक्रेन युद्धले नेपालमा मूल्यवृद्धि अधिक नै गराउनेछ ।

निर्यातसहित यी प्रमुख क्षेत्रहरूमा प्रभाव पर्नेछ
यस युद्धसँग नेपालको रणनीतिक स्वार्थ जोडिएको नभए पनि यसले यहाँ आर्थिक प्रभाव पार्नेछ । युरोपको सेवामा नकारात्मक असर पर्नेछ । रुसमाथिको प्रतिबन्धले नेपालबाट निकासी हुने वस्तु र अन्य नियमित उत्पादनमा पनि असर पार्नसक्छ । सुन, प्लेटिनम र प्यालेडियमजस्ता बहुमूल्य धातुहरूको मूल्य बढ्नेछ । रुस र युक्रेन कृषि उत्पादनको प्रमुख निर्यातक हुन् त्यस कारण नेपालमा वा भारतमा आयात रोकिएमा गहुँ, सोयाबिन तेल, मकै, जौ र रासायनिक मल युरियाको भाउ बढ्न सक्छ । यद्यपि नेपालले भारतबाट यी समान बढी आयात गर्ने गर्दछ तर भारतको पनि आयात गर्ने देश रुस र युक्रेन नै हुन् भनी बुझ्नु जरुरी हुन्छ ।

नोमुराको रिपोर्टमा यो अनुमान छ
जापानको अनुसन्धान कम्पनी नोमुराले प्रतिवेदनमा भारत ठूलो तेल आयातकर्ता भएको र युद्ध लम्बियो भने भारतका लागि समस्या बढ्ने कारण रहेको बताएको छ । यदि भारतमा समस्या उत्पन्न हुन्छ भने नेपाललाई सिधै भारत जसरी नै समस्या आउन सक्छ । किनकि नेपालको आयात भारतमा ६५ प्रतिशतजति निर्भर रहेको छ । प्रतिवेदनका अनुसार तेलको मूल्यमा प्रत्येक १० प्रतिशतले उकालो लाग्दा भारतीय अर्थतन्त्रको वृद्धिदर करिब शून्य दशमलव २ प्रतिशतले घट्नेछ जसको असर नेपालमा पनि देखा पर्नेछ । यसबाहेक थोक मुद्रास्फीति दर १ दशमलव २ प्रतिशतले बढ्न सक्छ भने खुद्रा मुद्रास्फीति शून्य दशमलव ४ प्रतिशतले बढ्न सक्छ । यसबाहेक स्वदेशी कोइलाको आपूर्तिमा पनि भारतीय सरकारमाथि दबाब बढ्नेछ । यदि यस्तो अवस्था भारतमा देखा प¥यो भने नेपाल त्यसबाट आफूलाई बचाउन सक्ने अवस्था हुने छैन ।

नेपाली पैसामा क्रय कमजोरीले असर गर्नेछ
नेपालको पैसा भारतीय पैसासँग सधैँ एकै अनुपातमा रहने गरेको छ । यसको अर्थ भारतीय अर्थबजारमा विश्वको प्रभाव पर्दा नेपालमा पनि सिधै पर्ने गर्दछ । जबकि नेपालले आर्थिक रणनीति बनाउन सक्छ । उल्लेखनीयरूपमा नेपाल तथा भारत मोबाइल, ल्यापटपलगायत अत्यावश्यक विद्युतीय सामान र मेसिनरीलगायतका ग्याजेटहरूका लागि अन्य देशहरूबाट आयातमा निर्भर छ । अधिकांश मोबाइल र ग्याजेटहरू चीन र अन्य पूर्वी एसियाली सहरहरूबाट आयात गरिन्छ र अधिकांश व्यापार डलरमा गरिन्छ । द्वन्द्वकालमा पनि यसरी नै रुपैयाँको अवमूल्यन भइरह्यो भने मुलुकमा आयात महँगो हुनेछ । विदेशबाट आयात भएका कारण तिनको मूल्य बढ्ने निश्चित छ, अर्थात् मोबाइल र अन्य ग्याजेटहरूमा मुद्रास्फीति बढ्नेछ र तपाईँले बढी खर्च गर्नुपर्नेछ । साथै, भारतले आफ्नो ८० प्रतिशत कच्चा तेल विदेशबाट खरिद गर्छ । यसको भुक्तानी पनि डलरमा हुन्छ र डलर महँगो भएकाले भाउ बढी हुन्छ । यसका कारण माल ढुवानी महँगो हुने, त्यसको प्रभावले आवश्यक पर्ने सबै वस्तुमा मुद्रास्फीति थपिनेछ ।

खाद्य तेल र मलको मूल्य बढ्नेछ
यदि दुई देशबीच युद्ध भयो भने यसले विश्वको अर्थतन्त्रमा ठूलो असर पार्छ र मुद्रास्फीतिले त्रसित भारतका लागि भने यो दोहोरो झट्काभन्दा कम हुँदैन । तपाइँर्ले याद गर्नुस् कि भारतले युक्रेनबाट ठूलो मात्रामा खाद्य तेल आयात गर्दछ । हो, युक्रेन सूर्यमुखी तेलको सबैभन्दा ठूलो उत्पादक हो । भारतको कुरा गर्ने हो भने केही समयदेखि खाद्य तेलको मूल्य आकाशमै छ र युद्धका कारण आपूर्ति बन्द भए यसको मूल्यले बजारभरि हलचल मचाउने सम्भावना छ । यसबाहेक रुसले भारतलाई विभिन्न खाद्यान्न खुवाउँछ भारतले नेपाललाई र युद्धको स्थितिमा यसको आयातमा पनि अवरोध हुन सक्छ । रुसले भारतलाई युरिया दिएन भने नेपालमा युरियाको सङ्कटको अवस्था झन् बिग्रन्छ, त्यसको प्रत्यक्ष असर किसानलाई पर्नेछ ।

तेल र ग्यास आपूर्तिमा सम्भावित अवरोध हुनेछ
उल्लेखनीय रूपमा रूस प्राकृतिक ग्यासको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो, जसले विश्वव्यापी मागको लगभग १० प्रतिशत उत्पादन गर्दछ । दुई देशबीचको युद्धका कारण प्राकृतिक ग्यासको आपूर्तिमा प्रतिकूल असर पर्ने र इन्धनको मूल्य बढेको छ । रुसमाथि युरोपको निर्भरता बढी छ । युरोपमा ४० प्रतिशतभन्दा बढी ग्यास रुसबाट आउँछ । यसबाहेक, रूस विश्वमा कच्चा तेलको तेस्रो ठूलो उत्पादक हो । युरोपका देशहरूले आफ्नो तेलको ४० प्रतिशतभन्दा बढी रुसबाट लिन्छन् । यसबाहेक, रूसले विश्वको उत्पादनमा १० प्रतिशत तामा र १० प्रतिशत आल्मुनियम उत्पादन गर्छ । यो सम्पूर्ण कुरामा अबरोद आउदा नेपालका विकासका कामहरू रोक्न सक्ने अवस्था सिर्जना हुनेछ ।

सेयर बजारमा द्रुत गिरावट हुनेछ
कोरोना महामारीका कारण पहिल्यै धराशायी बनेको विश्व अर्थतन्त्रमा मुद्रास्फीतिको झट्का पर्नसक्ने विज्ञहरू बताउँछन् । ब्लूमबर्गको प्रतिवेदनमा भनिएको छ, ‘२०१४ पछि पहिलो पटक तेलको मूल्य प्रतिब्यारेल एक सय १५ डलर पुगेको छ, जसले विश्व अर्थतन्त्रलाई ठूलो धक्का दिएको छ । यो यूएस फेडरल रिजर्भ र यसका साथी केन्द्रीय बैंकहरूको लागि चिन्ताजनक छ किनकि उनीहरूले महामारीबाट निको नगरी अर्को सङ्कटको सामना गरिरहेका छन् । कुनै पनि विश्वव्यापी सङ्कटविना मुद्रास्फीति पहिलेदेखि नै प्रमुख टाउको दुखाइ छ । विकसित देशहरूमा थप आक्रामक मौद्रिक कडाइले पनि नेपालजस्ता गरिब साना देशहरूमा पुँजी र विदेशी मुद्रा बजारले दबाब दिनेछ । यसले सेयर बजारमा निकै नराम्रो असर पर्नेछ ।

बिग्रन सक्छ देशको बजेटको अङ्कगणित
नेपालले बजेट बनाउँदा डलरसँग विदेशी व्यापार तथा नेपालको मुद्रा स्फितिको सामान्य कल्पना गरी अङ्कगणितीय जोड गरेको थियो । बीच समयमा यस्तो किसमको बाधा अप्ठ्यारा आइदिँदा तथा विश्व महायुद्धमा जाने सङ्केत आउदा तथा देशले निर्यात गर्ने अनेकौँ वस्तुको मूल्य अधिक तिर्नुपर्ने अवस्था आउँदा तथा पेट्रोलियम पदार्थमा अधिक कर तिर्नुपर्ने गराउन नसक्दा नेपालको बजेट अङ्कगणितीय रूपमा बिग्रने सम्भावना अधिकभन्दा अधिक रहन्छ । जबसम्म सरकार संघीय अन्तःशुल्क घटाउन वा पेट्रोलियम अनुदान बढाउन तयार हुँदैन । यी दुवै निर्णयले ठूलो मात्रामा बजेटमा गरेको हिसाबलाई खलबलाउन सक्छ । मूल्यमा भएको तीव्र वृद्धिले मुद्रास्फीति, आर्थिक सङ्कट र राजनीतिक असन्तुष्टि निम्त्याउने सम्भावना छ ।

यो सङ्कट लामो समयसम्म जारी रहनेछ
सोभियत संघको पतनपछि विश्व अर्थतन्त्रमा ठूलो परिवर्तन आएको छ । सोभियत समूहसँगको शीतयुद्धमा दशकौँ बिताएपछि अमेरिका र उसका सहयोगीहरूले विश्वव्यापी व्यवस्थालाई मात्र बलियो बनाएका छैनन्, आर्थिकरूपमा पनि सक्षम भएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन एक्लैले अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्छ । तथ्यहरूले देखाउँछ कि चीनको आर्थिक भविष्य अमेरिकी अर्थतन्त्रसँग नजिक छ । याद रहोस् आज पनि चीनसँग संसारको सबैभन्दा बढी डलर सञ्चित छ । त्यसकारण अमेरिका चीनलाई आफ्नो निर्यातक बनाई राख्ने कुरा जारी राखिरहनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x