परिवर्तित मौसम र आगलागीको पीडा
काठमाडौं । चैतको आरम्भ अघिदेखि नै मौसम अनौठो देखिएको छ, भारी गर्मीको लक्षण देखिँदै छ । वसन्तको आगमनसँगै प्रकृतिको हराभरा मौसम शान्त र नवीन हुनुपर्ने हो । तर जब–जब चैत, वैशाखको मौसम सुरु हुन्छ, तब हाम्रो मन कुँडिन्छ, विगतलाई हेर्दा र भोग्दा । आगलागी त विदेशमा पनि हुन्छ । अमेरिकाको भीषण डँढेलोले कसलाई छोएन र विगतमा ? यसै फागुन २९ गते छिमेकी देश दिल्लीमा अगलागी हुँदा सात जनाको जीवन सकियो । यो रामकहानी हाम्रो देशले धेरै भोगेको छ । वसन्तको आगमनमा नयाँ–नयाँ स्थानहरू खरानी भएका छन् । वनको खरानी मलिलो हुन्छ, झारपातहरू डढ्छन् कृषि पैदावारलाई मल प्राप्त हुन्छ । यस्तै गलत धारणाले मानिस जाने रै आगो लाउछन्, डँढेलो लाग्छ, जसबाट वन अतिक्रमण त हुन्छ नै, त्यहाँ बास गर्ने जीवजन्तु भाग्न सक्दैनन् र मर्छन् जलेर । घस्रने प्राणी त ठाउँको ठाउँ नै सिद्धिन्छन् । सन् २०१६ मा यस्तै भयो चुरे क्षेत्रमा र त तीन सय १४ पालिकाहरू प्रभावित भए । मधेश प्रदेश बढी प्रभावित हुने स्थान हो र पूर्वको १ न प्रदेश पनि । देशमा जनघनत्व बढी छ, चरणको अभाव, घाँस, दाउरा, स्याउला, पतकरको अभाव, आगोका स्रोतको लापरबाही, चुरोट खाँदै ठुटाहरू फालिदिने, ग्याँस, दाउरा ननिभाई छोड्ने र बाटोको समस्या आगलागी भइहाल्दा दमकल, पानीको अभाव, साँघुरा बाटा अनेकानेक समस्याहरू छन् हाम्रा । तथ्याङ्क त स्याटेलाइट्बाट लिनुपर्ने अवस्था, जोखिमको उद्धारमा समस्या, भौगोलिक विकटता केले पिरोलेको छैन हामीलाई ? अझ भनौँ आगलागी, डँढेलो नियन्त्रण गर्न जाने मानिसकै अकाल मृत्यु, विपत्ति पनि कति सहनु ?
पूर्वको ताप्लेजुङ सदाझैं यसैपाली पनि आगलागीमा परिसकेको, हालै एकको मृत्यु भइसकेको, अलिक वर पाँचथर आगलागीको घटनाले याशोक बजारको अवस्था र २०औँ लाखको धनमाल क्षति भर्खरैको घटना हो । यसअघि मात्रै दुई करोडबराबरको धनमाल नष्ट भएका खबर बाहिरिएकै हुन् । त्यसो त गत वैशाखदेखि देशले यस्ता दुई हजार ६३ स्थानको घटनाबाट ८१ जनाको मृत्यु व्योहोरिसकेको छ । तीन सय ५० घाइते भइसकेका छन् । दुई हजार चार सय २८ घर–परिवार प्रभावित भइसकेका छन् । यसै फागुनमा देशका ११ जिल्लामा आगलागीका घटना घटिसकेका छन् । कहीँ हेलिकोप्टरबाट उद्धार गरिएका छन् । वर्षामा पानीको विपत् हिउँदमा यस्ता घटनाको फेहरिस्त कति छन् कति देशमा । चुरे, मध्यपहाडी क्षेत्र, तराई क्षेत्रमा यस्ता बग्रेल्ती समस्या यथावत् छन् । विगत पाँच वर्षको अध्ययन गर्ने हो भने १४ अर्बबराबरको धनमाल क्षति र चार सय सात जनाको मृत्युको आधिकारिक तथ्याङ्क छ देशमा ।
नयाँ वसन्तको आगमनसँगै मौसम परिवर्तन भएको छ । चिसो मौसमलाई बिदा गर्दै गर्मी मौसमतिर जाँदै छौँ हामी । सबैलाई थाहा छ यो वर्ष पानी अधिक, वर्षाको सुरु र अन्त्यमा भएको अपूरणीय कृषि धनमालको क्षति, पिउने पानीको सधैँ हाहाकार वर्षे पानीको भण्डारण र त्यसको उपचार पद्धतिको अभाव । देशमा पोस्ट मौसमको समय १५ असोजदेखि १५ मंसिरमा पनि पानी परेको अवस्था । १६ मंसिरदेखि १५ फागुनको समय हिउँद यसमा कठ्याङ्ग्रिदो चिसो, धुवाँ, धुलोले स्वास्थ्यमा समस्या, जहिले पनि मनोवैज्ञानिक त्रासै त्रास छ देशमा । अहिलेको समय मार्च महिना भनेको प्रिमौसमको समय हो । यतिबेला हावाहुरी, आगलागी, चट्याङको समस्या धेरै हुने गर्छन् । भूकम्प, बाढी, पहिरो हाम्रो नियति हो, भोग्नै पर्छ, साँच्चै देशको विपत्ति पहिलो श्रेणीको हो यो आगलागीको घटना र दोस्रोमा पर्छ । विगत वर्षको चर्चा गर्ने हो भने एक वर्षमा चट्याङको घटना संख्या दुई सय ३२ वटा देखियो भने ६७ जनाले यसैबाट आफ्नो जीवनी अन्त्य गर्न पुगे ।
चट्याङकै कारण ६२ लाख २९ हजार पाँच सयबराबरको धनमाल नोक्सान भएको विपत् न्यूनीकरण प्राधिकरणको भनाइ छ । चैत वैशाखमा किसानहरू प्रायः मकैबारीको काम, चैतेधानका कारण खेतबारीतिरै रहन्छन् । यस्ता विपत्तिमा पर्ने पनि तिनै हुन्छन् बढी । देशमा मौसम पूर्वानुमानका सङ्केत दिने स्थानहरू नभएका होइनन् र पनि तिनमा प्रविधिको अभाव छ वा के हो काम भएको छैन । पहाडी जन जीवन जंगलका कारण चट्याङको सम्भावना बढ्ने र यसकै कारण बढी आगलागी हुनेगरेको अनुभव छ । तराईमा गर्मी धेरै हुने, घरहरू फुसका, खरका छाना हुन्छन्, खाना पकाइसकेपछि सामान्य लापरबाहीले ठूलो आगलागीमा परी ज्यान जोखिममा परेका घटना धेरै छन् । तराई क्षेत्र, पाँचथर, ताप्लेजुङ, भोजपुर, इलाम, पश्चिमी भूभाग लुम्बिनी आदि क्षेत्र त्यस्तै छन् ।
ताप्लेजुङको गत फागुन १८ गतेको दोभान बजारको आगलागीको घटनाले सबैलाई तर्साएकै हो । ताप्लेजुङमा यस्ता घटना विसं १९९४, ९५, २००६, २०१३, २०१८, २०३५, २०६०, देखि ६५ सम्म हरेक वर्ष, २०६८, ०७०, ०७१ सालमा पनि यस्ता घटनाहरू भएका थिए तर यसबारे सचेतना त भएन नि । मौसम पूर्वानुमानझैँ चट्याङको पूर्वानुमान गर्न सकिने प्रविधि जडान गर्ने सरकारी भनाइ छ र पनि प्राकृतिक र मानव निर्मित मानौँ सधैँ आइरहने विपत्ति सहिरहनु नेपालीको नियती नै भएको छ । चट्याङकै कारण वर्षेनी हामीकहाँ एक सय औसतमा मानिसको ज्यान जाने गरेको यथार्थ पनि छ । सरकार अहिले प्रतिनिधिसभालाई विजनेस दिन सकिरहेको छैन र संसद्को अन्त्य पनि भइसकेको छ, सरकार चलाउने दलहरूको अवस्था सत्ताको अङ्क गणित, जोड घटाउ र दलहरू तानातानको अवस्थामा छन् । एकजुट भई राष्ट्रिय एजेण्डामा जान सकेका छैनन् । बाढी, पहिरो, हावाहुरी, चट्याङ र आगलागीका घटनाहरूले मुलुकलाई आक्रान्त पारेको छ । हामीसँग विश्वव्यापी जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको दक्षता सीप र क्षमता छैन ।
कहिले भूकम्प, कहिले अतिवृष्टि, कहिले अनावृष्टि त कहिले बाढी र पहिरो अनि हावाहुरीलगायत आगजानीको चपेटोले मुलुक आक्रान्त छ । चट्याङ, खडेरी, विभिन्न रोगका महामारी मात्रै होइन, शीतलहर र हिमपात ताल तलैयाहरूको विस्फोटको सम्भावनाले पनि देशलाई आक्रान्त बनाएकै छ । हैजा, वर्डफ्लु, स्वाइनफ्लुका घटनाले पनि जीवन धराशायी भएकै हो । अन्तर्राष्ट्रियस्तरको कोरोनाको विगबिगी छ । विपद् न्यूनीकरणमा यसका लागि केन्द्र, जिल्लाहरूमा व्यवस्थापन समिति, आपतकालीन गोदाम घरको स्थापना, मानवीय सहायता कक्षको स्थापना पनि नभएको होइन, क्षेत्रीय आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रहरू पनि नभएका होइनन् । सुरक्षा निकायलाई उच्च सतर्क गराइएको अवस्था पनि हो । तर मुलुकको मौसम अवस्थाले सधैँ सबै ठाउँमा राहत र आपत् उद्धारका कार्यलाई तीव्र बनाउन सक्ने अवस्था छैन । मौसम राम्रो हुँदा पनि कोरोना सन्त्रासमा घरभित्र थुनिए मानिस र आर्थिक प्रगति निराशाजनक देखियो ।
मुलुकमा विपद्का कारण हुने असर र प्रभावको वैज्ञानिक अनुसन्धान हुन जरुरी छ । त्यसका लागि क्षेत्रगत विकास योजना सञ्चालन गर्न जरुरी छ । भौतिक विकासको स्वरूप तय गर्दा पछि पर्न सक्ने वातावरणीय असर, सम्भावना, चुनौती सबै अध्ययन र अनुसन्धान गर्न जरुरी छ । बजेट तान्ने प्रवृत्ति, विकासको नाममा जथाभावी डोजर आतङ्क गरिनु हुन्न । माटोको अवस्था नहेरी ठूला भवनहरू निर्माण गर्न दिनु हुन्न । विकास भनेको सहरीकरण मात्रै होइन । मानवीय सहजीकरण पनि हो । राजधानीका सडक र अव्यवस्थित बसोवास हेर्दा देशका प्राविधिक योजना शून्य प्राय भएको निष्कर्ष निस्कन्छ । दुई/चार घण्टाको अविरल वर्षाले विकसित भनिएको काठमाडौं उपत्यका एकै क्षणमा कुरूप भइहाल्ने गरेको छ । बस्ती सुरक्षित छैन । दमकल, पानीको गाडी नपुग्ने टोल, बस्ती राजधानीमा धेरै छन् । गर्भवती, सुत्केरी, रोगी बालवृद्धहरूको पीडा सही नसक्नु छ । संघीयता भएपछि सबै यहीँ थुप्रनुपर्ने किन ? दलका नेताहरूलाई केन्द्रमै आवास बनाइदिएर पाल्नुपर्ने किन ? दुर्गम क्षेत्र कस्तो होला ? पीडितको सही पहिचान, पीडितलाई तत्काल राहत र पुनस्र्थापनासम्बन्धी कार्यमा पनि एकरूपता भएन । संघ–संस्थाहरूबीच समन्वयको अभाव छ । जताततै राजनीतीकरण हुने गरेको छ । निमुखाले सहारा नपाउने अवस्था छ । विकासको ठूलै नारा दिने सरकारले यसै आवको आठ महिना पुग्दा २० प्रतिशत मात्र पुँजीगत खर्च गर्न सकेको छ । स्थानीय तहको बेरुजु इतिहासमै उच्च छ । आउदो चुनावले महँगी उकास्ने पक्का छ । खर्चको मितव्ययितामा कसको चासो जाने त ? (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया