Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली हस्तकला : प्रवर्द्धनात्मक दृष्टिकोण आवश्यक र अनिवार्य

नेपाली हस्तकला : प्रवर्द्धनात्मक दृष्टिकोण आवश्यक र अनिवार्य


काठमाडौं । कुनै पनि मेला वा प्रदर्शनी भन्नेबित्तिकै खरिदकर्ता र बिक्रीकर्ताका बीचमा आमनेसामने भेट हुने, क्रेतालाई सेवा पु-याउने, क्रेताको वास्तविक माग बुझ्ने थलो एवं अवसरको रूपमा लिइन्छ । १५औँ हस्तकला व्यापार मेला तथा १३औँ हस्तकला प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा केही समयअगाडि सम्पन्न भएको छ । नेपाली हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको थियो ।

मेलाको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाका सामग्रीले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान दिएको स्पष्ट पारिन् । उनले हस्तकला व्यवसायबाट मुलुकमा रोजगारीको अवसर सिर्जना गर्न र गरिबी हटाउन सकिने विश्वास पनि व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले नेपाली हस्तकलाको परम्परागत ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिइन् ।

देशका विभिन्न भागमा उत्पादन गरिएका घरेलु उत्पादनलाई मेलामा विशेष जोड दिएर राखिएको थियो । १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको थियो । नेपाल हस्तकला महासंघद्वारा काठमाडौंमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब आठ करोड रुपैयाँको कारोबार भएको बताइएको छ । निर्यात व्यापार, रोजगारी सिर्जनाका साथै देशको कला सस्कृतिको संरक्षण संवर्द्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकोले हस्तकलालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने कुरामा कुनै बिमति छैन ।

हस्तकलाका सामान उत्पादन गर्ने शीप र यसमा प्रयोग हुने सामान समेत स्थानीय स्तरमा नै प्राप्त हुने, ग्रामीण विकासलाई राष्ट्रिय प्राथमिकता दिइएको मुलुकहरूमा हस्तकलाको सामानको निकासीले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । देशमा विभिन्न क्षेत्र जिल्ला, स्थानीय हस्तकलाका उद्यमी, व्यवसायी, कलाकार एवं कालिगढबाट उत्पादित हस्तकलाको वस्तुहरूको प्रदर्शन तथा बिक्री गर्ने अवसर सिर्जना गर्ने फोरमको व्यवस्था गर्नु तथा राष्ट्रमा नै गुणस्तरीय र विभिन्न किसिमका उपयोगितामूलक धराशायी प्रयोगजन्य सजावटका नवोदित हस्तकलाका वस्तुहरू सहुलियत एवं प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध गराउने लक्ष्य रहेको हुन्छ ।

साथै विदेशी व्यावसायिक खरिदकर्ताहरू र मुलुकका हस्तकला उत्पादक, कलाकार, व्यावसायिहरूको व्यापारिक भेटघाट, व्यापारिक सम्बन्ध हुने थलो हुनु, हस्तकला उद्यमी/उत्पादक एवं कलाकारहरूलाई विद्यमान बजारीकरणका प्रयासहरू हुने राम्रो अवसरको रूपमा हेरिन्छ ।

हस्तकलाका निकासीकर्ताहरूले त्यस्तो फाइदा प्राप्त गर्न बजारको प्रवृत्तिको अध्ययन गर्नुपर्दछ । साथै विशेष बिक्री अवसरको रूपमा हस्तकला मेलालाई बिक्री अवसरको रूपमा लिई सावधानीपूर्वक हेरी बजारीकरणको रणनीति तयार गर्नुपर्दछ । साथै, हस्तकला उद्यमी एवं व्यवसायीहरूले बजारमा देखिएको परिवर्तनलाई ध्यानमा राखी कसरी निर्यात प्रवर्द्धन गर्न सकिन्छ भन्ने बारेमा गहिरो सोच र समझदारी राख्नुपर्ने बेला आएको छ । नयाँ वस्तुहरूको अन्वेषण र वस्तु अंगीकरणको क्रम र निकासीका लागि नयाँ बजारको खोजी पनि साथ साथै जारी रहनु पर्दछ ।

नेपाली परम्परागत हस्तकलाको आफ्नै महत्वपूर्ण माग रहेको छ । यस हिमाली मुलुकको गौरवशाली संस्कृति र परम्परालाई यसले प्रतिविम्बित गरेको छ । यसै क्रममा नेपालबाट उल्लेख्य मात्रामा निकासी गर्न सकिने हस्तकलाका वस्तुहरूमा ऊनीका पदार्थहरू, कलात्मकरूपमा कुदिएका मूर्तिहरू र धातुका सामानहरू, चाँदीका गरगहना, जडाउका सामान काष्ठकलाका सामानहरू, घरबुना सामान, थाङ्का र अन्य यस्तै सामानहरू रहेका छन् ।

नेपाली कलात्मक हस्तकला खास गरी धातु निर्मित हस्तकलाको छिमेकी मुलुकले सस्तो नक्कल गरी संसारभर बेचिरहेको कटु सत्यले हाम्रो परम्परागत हस्तकला व्यवसायमा ठूलो धक्का पुग्न गएको सन्दर्भमा नेपालमा र विदेशमा समेत आयोजना हुने हस्तकला मेला तथा प्रदर्शनीमा, सेमिनार, गोष्ठी, प्रदर्शन आदिको माध्यमद्वारा वास्तविकता जनसमक्ष पु-याउनु पर्दछ ।

साधारणतया हस्तकला भन्ने शब्दले पनि हातबाट पूर्णरूपमा वा आंशिकरूपमा बनाइएका सामानहरूः गरगहनादेखि लिएर घरेलु फर्निचरका सामान समेत यस श्रेणीमा पर्दछन् । यस्ता सामान कम पुँजी लगानीबाट सुरु गरिन्छन्, स्थानीय सांस्कृतिक तत्वहरूलाई झल्काउने वा भनौँ प्रतिविम्बित गर्ने गरिएको हुन्छ र यसको साथसाथै उत्पादन गर्ने मुलुकहरूमा नै सजिलै प्राप्त गरिने सामानहरूबाट बनाइन्छन् । तर कहीलेकाहीँ हस्तकलाको वस्तुको नक्कल गरी मेसिनबाट समेत त्यस्ता सामग्री बनाइदिनाले हस्तकलामा उद्यमीहरूलाई समेत नकारात्मक असर पर्नेगरेको छ ।

सन् १९६० को दशकको पछिल्लो वर्षहरूमा बृहत्रूपमा बढेको हस्तकलाको निकासी ७०–८० को दशकपछि क्रमिक ह्रास आउन थाल्यो । उपयोगिता र सजावट गरिने दुवै प्रकारका हस्तकलाका वस्तुहरूमा उपभोक्ताहरूको रुचि क्रमशः घट्दै जान थाल्यो । औद्योगिक क्रान्ति हुनुभन्दा अगाडिसम्म यस्ता सामान हातबाट बनाइने गरेकोमा औद्योगिक क्रान्तिपछि खासगरी विकसित मुलुकहरूमा धेरै संख्यामा उत्पादन गरी यस्ता सामान ठूलो परिमाणमा उत्पादन गरिन थालेबाट विकसित मुलुकहरूमा यस्ता वस्तुहरूको माग क्रमशः कम हुँदै गयो । पछि सौखको रूपमा होस् वा व्यवसायको रूपमा होस् हस्तकलाको सामानको निमित्त विशेष किसिमको दक्षताको जरुरत पर्दछ जुन हामी नेपाली कालिगढहरूमा यथेष्ट मात्रामा छ भन्नुमा अत्युक्ति नहोला ।

नेपालमा बन्ने तिब्बतीयन कार्पेट वा गलैँचा नेपालको निकासीमा अग्रस्थानमा आउने वस्तु रहेको विगत थियो । हुन त उनी गलैँचालाई अहिले हस्तकलाको श्रेणीमा राखिँदैन पनि यसमा संलग्न बुनकरहरूले पाउने रोजगारीको स्थिति र सम्भाव्यतालाई हामीले किन्चित पनि कम मूल्याङ्कन गर्नु हुँदैन ।

कुनै धर्ममा वा भगवानमा आस्था राख्नुको साथै नेपालमा प्रचलित धर्मको कारणले पनि हस्तकला उद्योगको प्राचीनतालाई झल्काएको छ । यसरी सदियौँ पुरानोरूपमा र स्वरूपमा विभिन्न भगवानलाई चित्रित गर्दै गरेको हामी देख्दछौँ । यसै परिप्रेक्ष्यमा कलात्मक धातुमा कुदिँएका मूर्तिहरू, धातुका सामानहरू, जडाउका सामान, काष्ठकलामा सामान, पत्थरमा कुदिएका मूर्तिहरू हस्तनिर्मित ऊनी गलैंचा, साना–साना माटाका भाडाहरू पेन्टिङ, थान्का तयारी पोशाक आदि नेपाली सीप र शिल्पिकारहरूको आफ्नो सीपको बेजोड नमूना हो ।

यसरी यी नै अथाह वस्तुहरूमध्ये आफ्नो रुचि एवं चाहनाको वस्तु छनोट गर्नु यहाँका उत्पादक, निर्यातकर्ता एवं विदेशी आयातकर्ताहरूलाई समेत एक प्रमुख चुनौतीको रूपमा रहन गएको देखिन्छ । नेपालका हस्तकलालाई परिमाणमा आँक्नुभन्दा यसको अद्वितीयपन र आधारभूत गुणस्तर प्रमुख कुरा हुन् भन्ने कुराको यथार्थता बोध आयात कर्ताहरूलाई हामी नेपालीहरूले दिलाउन सक्नु पर्दछ ।

नेपालबाट समुद्रपारतर्फ हस्तकलाको निकासी तथ्याङ्कलाई हेर्ने हो भने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट आठ अर्ब रुपैयाँबराबरको हस्तकला निर्यात भएको थियो । कोभिड–१९ महामारीको प्रतिकूल प्रभावका बाबजुद पनि हस्तकलाको निर्यात सन् २०१८/२०१९ मा पाँच अर्ब रुपैयाँको निर्यात बढेको थियो ।

हस्तकला उद्योगमा देखिएको अर्को समस्यामा नेपाली कलात्मक हस्तकला खासगरी धातु निर्मित हस्तकलाको भारतले सस्तो नक्कल गरी संसारमा बेचिरहेका छन् । अझ यसभन्दा गम्भीर कुरा त्यस्ता सस्तो मेसिनबाट बनाइएका वस्तुहरू नेपाली बजारमा आई नेपाली हस्तकलाका सामान हुन् भनी बिक्री हुनुबाट नेपाली हस्तकलाले बदनामी मात्र पाउने होइन अपितु यसबाट हाम्रो हस्तकला उद्योगको भविष्यमा नै ठूलो प्रश्नचिह्न खडा हुन सक्तछ ।

नेपाली हस्तकलाका वस्तु ‘उपयोगीभन्दा बढी सजावट’ मुखी रहेको र यस्ता वस्तुहरूको बजार निकै सीमित रहेकोले उपयोगी सजावटका हस्तकला सामानको बजार अध्ययन गर्नु जरुरी छ ।

युरोपिय समुदायलगायत धेरैजसो मुलुकहरूमा वस्तुकलाका सामानहरूको निकासीमा सामान्य ग्राह्यता प्रणाली लागू भई भन्सार दर विल्कुलै छुट वा ज्यादै न्यून मात्रामा मात्र भन्सार लगाइने भएबाट पनि नेपाली हस्तकला र खास गरी काष्ठकलाका सामानहरूलाई उपहार दिने वस्तुको रूपमा नेपालले विकसित गर्दै लैजानु पर्दछ । यो पनि नेपाल विकसोन्मुख मुलुकमा स्तर उन्नति भएपछि के हुनेबारे पनि गम्भीरताका साथ सोच्नुपर्ने भइसकेको छ ।

हस्तकला उद्योगमा लागेका उद्यमीहरूले यस उद्योगको विकासको लागि सरकारी पक्षबाट पनि उत्तिकै महत्व दिनुपर्दछ । देशको औद्योगिक नीति १९९२ ले हस्तकला उद्योगलाई साना तथा घरेलु उद्योगको श्रेणीमा राखेको छ र विदेशी लगानी ऐनअन्तर्गत साना तथा घरेलु उद्योगमा केवल प्रविधि मात्र ल्याउन सकिन्छ यसमा पुँजी निवेश गर्न सकिँदैन ।

यस उद्योगलाई संरक्षण दिन सरकारले घरेलु उद्योग र खास गरी हस्तकलाको उद्योगको विकासमा टेवा पु-याउन हस्तकलाका विदेशी वस्तु आयातमा भन्सार दरबन्दी बढी गर्नुपर्ने भन्ने राय समेत रहेको छ ।

उदारीकरणको नीति देशले अवलम्बन गरी रहेको स्थितिमा यो कति सम्भव छ भन्ने कुरा आफ्नै स्थानमा छ । उच्च गुणस्तर र राम्रो सामान उत्पादन गर्न समेत सीप विकास तालिमको व्यवस्था समेत समय समयमा गर्नुपर्ने आवश्यकता पनि अझ तड्कारोरूपमा देखिन आएको छ ।

संस्थागत व्यवस्था : सन १९७१ मा स्थापित नेपाल हस्तकला संघले देशका विभिन्न ग्रामीण क्षेत्रमा रहेका व्यक्तिहरू जसले सीप विकास गरी आम्दानी वृद्धि गर्ने कार्यमा लाग्न चाहन्छन् त्यस्ता व्यक्तिहरूलाई तालिमको व्यवस्था समेत दिँदै आइरहेको छ । तर यस संघले पनि विभिन्न समस्याहरूले गर्दा अपेक्षित मात्रामा यस कार्यलाई अगाडि बढाउन सकेको देखिँदैन ।

निर्यात विकास कोषबाट प्राप्त रकमबाट पनि हस्तकला उद्योगको विकासमा उल्लेखनीय योगदान पु-याउन सकिने सम्भाव्यता एकातर्फ छ भने यस क्षेत्रलाई उच्चस्तरमा प्रतिबद्धता पु-याउन हस्तकला परिषद्का गठन गर्न आवश्यक एवं अनिवार्य भएको कुरा पनि समयसापेक्ष नै मान्नु पर्दछ । यसै सन्दर्भमा हस्तकला महासंघको स्थापना भएको कुराले यस क्षेत्रमा संस्थागत विकासको अपेक्षा लिइएको छ ।

नेपालमा घरेलु तथा साना उद्योगको विकासका लागि संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी), विश्व बैंक र नेपाल सरकारको संयुक्त प्रयासमा भएको घरेलु तथा साना उद्योग परियोजनाअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपालको निकासीमा र खास गरी हस्तकलाको र ग्रामीण क्षेत्रको निकासीमा गरेको योगदान उल्लेखनीय मान्नु पर्दछ । यसबाट प्राप्त प्राविधिक सहयोगले केही मात्रामा भए पनि संस्थागत सुदृढीकरणतर्फ केही योगदान पु-याउन सकेको देखिन्छ ।

हस्तकला उद्योगीहरूले भोग्नुपरेको प्रमुख समस्यामा विगतमा नेपालले भारतमा हस्तकलाका सामान निकासी गर्न सक्तैनथ्यो जसबाट यस वस्तुको भारत निकासीमा पूर्णतः बन्देज लगाइएको थियो । पूर्वनिर्यात कर्जाको व्यवस्था हस्तकला निर्यातकर्ताहरूलाई दिनु आवश्यक छ जसबाट चालू पुँजीको अभावबाट यस उद्योगको उद्यमीहरू वन्चित हुनु नपरोस् ।

सुझावहरू : देशमा लागू गरिने योजनाको कार्यक्रममा निर्यात अभिवृद्धिको उद्देश्य र ग्रामीण विकासको उद्देश्यमा राम्रो तालमेल हुनुपर्दछ । नयाँ वस्तुहरूको अन्वेषण र वस्तु अंगीकरणको क्रमजारी राख्नु पर्दछ । साथै निकासीको लागि नयाँ बजारहरूको खोजी पनि साथसाथै जारी राख्नु पर्दछ ।

हस्तकला निकासी तथ्याङ्कमा देखिएको क्रमिक उतारचढावको कारण वस्तुगत संस्थागत आधारमा समेत हस्तकला निकासी प्रोत्साहन गर्नुपर्ने आवश्यकता र अनिवार्यताको महसुस केवल हस्तकला निकासीकर्ताहरूले मात्र होइन बरु यससँग सम्बन्धित सबै क्षेत्रले गर्नु पर्दछ ।

स्थानीय महिला रोजगारीमा अभिवृद्धि भई विदेशी मुद्रा समेत आर्जन गर्नसक्ने र वस्तुको निकासीको समेत न्यून आयात भन्सार महशुल लगाइने हुँदा यसको क्रमिक विकासमा जोड दिनुपर्छ ।

हस्तकला निकासीकर्ताहरूले प्रयोग भई समाप्त हुनेजस्ता सामानहरूको निकासी बढाउन विशेष जोड दिनुपर्दछ । साथै सजावटको रूपमा रहने वस्तुमा पनि वस्तु अंगीकरण क्रेताको चाहनाअनुसार गर्नुपर्दछ ।

नेपाल सरकार निजी क्षेत्रका व्यापारीहरूले भारतलगायत अन्य सार्क राष्ट्रहरूमा हस्तकलाको निर्यात कसरी बढाउन सकिन्छ, के कस्तो बाधा छन् भन्ने कुरा सार्कको हस्तकला तथा घरेलु उद्योगहरूको समूहबीचमा छलफल गरी निष्कर्ष निकाल्न र द्विपक्षीय सन्धि सम्झौतामार्फत समेत यसको निराकरण गर्न सक्तछन् ।

जीएसपी सुविधालगायत हस्तकलासँग सम्बन्धित विभिन्न समस्या र समाधानबारे र यसका सम्भाव्यबारे विविध–पक्ष–उत्पादक, ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूबीचमा तालिम, गोष्ठी आदि सुचारुरूपले हुनुपर्ने देखिन्छ ।

निकासीमा प्रक्रियागत सरलता ल्याउनुपर्ने र आन्तरिक ओसार पसारमा समेत अनावश्यक झन्झट हटाउनुपर्ने देखिन्छ । साइबर स्पेसको युगमा प्रविधि सूचना पार्क आदिको माध्यमद्वारा नेपाली हस्तकलाको व्यापक प्रचारप्रसार मेला प्रदर्शनी आदिमा सहभागिता बढाउनुपर्ने देखिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x