लागुपदार्थ दुर्व्यसन रोकथाम : आजको आवश्यकता
काठमाडौं । मानव समुदायलाई तहल्का पारिरहेको सबैभन्दा विशाल र डरलाग्दो विषय लागुपदार्थ हो । लागुपदार्थहरू मद्यपान र धुम्रपानभन्दा हजारौँ गुणा हानिकारक र खतरनाक छ ।
मद्यपान र धुम्रपानले त बरु केही वर्षमा गएर रोगहरू जन्माउँछन् भने लागुपदार्थहरूले तुरुन्तै असर गर्दछन् । यी पदार्थहरू यति खतराजनक छन् कि दुई/चार पटक प्रयोग गर्दैमा बानी बसिहाल्दछ । यी पदार्थहरूले रगत र शरीरमा यस्ता असरहरू छाड्छन्, जसको अभावमा सेवनकर्ता सुखमय भएर जिउन सक्दैन । यी पदार्थको दुर्व्यसनीहरूले जब यी वस्तुहरू पाउँदैनन्, उनीहरू प्रायः अचेत हुन्छन् । तब उनीहरू यी पदार्थ पाउन जे–जस्ता कार्य (अपराध) पनि गर्न तयार हुन्छन् । यिनीहरू यी वस्तुको सेवन गरेर मुर्दाको रुपमा सुतिरहेका हुन्छन् । जब उनीहरू निद्राबाट बिउँझिन्छन्, फेरि यही पदार्थ सेवन गर्न उद्यत हुन्छन् । स्म्याक, ब्राउन सुगर, एलएसडीजस्ता कैयौँ नामका लागुपदार्थहरू आजकल प्रयोगमा ल्याइएका छन् ।
यस्ता पदार्थहरू तरल र इनजेक्सनका रुपमा पनि प्रयोगमा ल्याइएका छन् । १९६० को दशकमा व्यस्त जीवनबाट छुट्कारा पाउन चाहने पश्चिमी देशका युवायुवतीहरू पर्यटकको रुपमा नेपाल आउनु र साथमा विभिन्न किसिमका लागुपदार्थ भित्रिनु साथै पश्चिमी भन्नासाथ अन्धाधुन्ध अनुकरण गरिने परिपाटी केही नेपालीमा पनि देखिन थाल्यो ।
समाजमा चलेको मूल्य, मान्यता र व्यवहार आदिलाई वास्ता नगरी आनन्दी र वन्धनमुक्त हुने आसयले काठमाडौंको मन्दिर, गल्ली र रेष्टुँरा, होटेलमा लागुपदार्थ सेवन गरेर आफ्नै मोजमस्तीमा रम्ने गरेको व्यवहार नेपाली युवा जमातले पनि सिके । यसको नकारात्मक असरले गर्दा देशका युवापुस्तालाई समेत विस्तार विस्तार गाँज्न थाल्यो र उनीहरूको नैतिकता, धर्म संस्कृतिमाथि समेत ह्रास हुन थालको अनुभूति हुन थाल्यो ।
यसरी अर्काको देखासिकी गर्न वा तन्द्रामा रम्न, गाँजा चरेश हेरोइन आदि पदार्थ सेवनमा आकर्षित हुन थाल्नाले हाम्रो देशमा पनि दुर्व्यसनको समस्याले पिरोल्न थालेको देखिन्छ । यस्तै दुर्व्यसनका कारणले गर्दा एचआईभी/एड्स संक्रमण, चोरी, लुट, बलात्कार, हत्या, डकैती, यसको बेचबिखन, कालाबजारीजस्ता असामाजिक व्यवहार तथा अपराधले गर्दा आज आएर युवा जगत नै बदनामी र बर्बाद भई देशकै अवस्था कमजोर भन्नुमा अतियुक्ति नहोला । हाम्रो देशमा लागुपदार्थ सेवन गर्नेहरूको संख्या करिब एक लाख ५० हजार पुगिसकेको अनुमान गरिएको छ ।
साथै कोभिड–१९ माहामारीको कारण युवाहरूमा मानसिक तनाव बढ्न गई लागुपदार्थ दुर्व्यसनमा फस्न गइरहेका छन् । सोबाट युवा जनशक्तिलाई बचाउनुपर्ने समेत ठूलो चुनौतीको रुपमा खडा भएको छ । यसै सिलसिलामा हरेक वर्ष जुन २६ तारिख लाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको रुपमा मनाउँदै आइएको छ । सो संयुक्त राष्ट्रसंघको १९८७ को घोषणपत्रको ४२ को ११२ खण्डमा प्रस्तुत गरिएको छ । यस दिवसको मुख्य उद्देश्य विश्व समुदायमा लागुऔषधिको असर र कारोबारबाट मुक्त गर्ने हो । हाल विश्वमा वर्षेनी सोबाट लाखौँको मृत्यु र करोडौँको स्वास्थ्यमा असर पु-याएको पाइन्छ ।
मानिस चेतनशील प्राणी हो । उसको चेतनाले शरीरका सम्पूर्ण गतिविधिलाई नियन्त्रण गर्दछ । मानिसको जीवनमा घटनाक्रम सधैँ एकनास रहँदैन । दुःख–सुख, राम्रो–नराम्रो, असल–खराबजस्ता कुरादेखि लिएर सम्झने–बिर्सने, जाडो–गर्मी, तातो–चिसोजस्ता कुराले मानिसलाई सधैँ प्रभावित पार्दछ । यस्ता शारीरिक र मानसिक पीडा र कोभिड–१९, राजनीतिक विकृति, निहित स्वार्थ आदिको समेतको तनावलाई भुल्न तथा मुक्त गर्न लागुपदार्थ सेवन गर्नेगरेको पाइन्छ, जसले शरीरको कार्यमा नकरात्मक प्रभाव पार्दछ । यसअन्तर्गत धेरै वस्तुहरू पर्दछन् । जस्तैः अफिम, हेरोइन (स्म्याक, ह्वाइट पाउडर), पेथेडिन, अफिम कोडिन, गाँजा, चरेस, कोकिन इत्यादि ।
यस्तै चेतना, मनस्थिति र व्यवहारलाई प्रभावित पार्ने अरु पनि धेरै औषधिहरू छन् । जो चक्की वा झोलमा हुन्छन् । तिनीहरूलाई ‘मनोद्वीपक औषधि’ भनिए पनि लागुपदार्थ नै हुन् । फरक यति मात्र हो कि यसको सेवन र कारोबार अवैध मानिँदैन तर यसमा हाल आएर गृह मन्त्रालय, औषधि व्यवस्था विभाग र अधिकारप्राप्त सम्बन्धित डाक्टरको सिफारिसविना क्रमशः आयात, बिक्रीको लागि राख्न तथा बिरामीले प्रयोग गर्न समेत निषेध गरिएको छ । त्यस कारण मानिसको स्नायु प्रणालीलाई प्रभावित पारी चेतना, अनुभूति र मनोभावलाई विकृति आउने कुनै पदार्थ वा त्यस्तो पदार्थबाट प्रशोधित औषधिलाई नै लागुपदार्थ भनिन्छ ।
यी तथ्यहरूलाई हेरेर निष्कर्षमा के भन्न सकिन्छ भने लागुपदार्थ त्यस्तो पदार्थ हो जसको सेवनले सेवनकर्ताले शारीरिक र मानसिक स्थितिमा प्रभाव पारेर प्रभावबाट सेवनकर्ता लठ्ठीने, उत्तेजित हुने, बर्बराउने, उन्मुक्त हुने, शिथिल हुनेजस्ता अवस्थामा पुग्छ । यदि यस्ता लागुपदार्थ सेवनकर्ताले सेवन गर्न नपाए छट्पटिने, रुने कराउने गर्दछन् । हाम्रो देशमा एकातिर आमाबाबुहरूलाई बच्चा जन्माएर लालनपालन गरेर हातखुट्टा लगाइदिन एउटा ठूलो समस्या भई दैनिक हजारौँ वैदेशिक रोजगारमा भासिएका छन् भने अर्कोतिर आफ्नो छोराछोरी लागुपदार्थको कुलतमा नफसून् भन्ने सबैभन्दा ठूलो चिन्ता तेर्सिएको अवस्थामा कोभिड–१९ को महामारीले पनि मावन स्वास्थ्यमा नै कुप्रभाव परेको अवस्था छ ।
लागुपदार्थको सेवन गलत लत मात्र नभएर मृत्यु पनि हो । लागुऔषधि दुर्व्यसनीहरूमा यो रोग संक्रमणबाट क्षति न्यूनीकरण केही कार्यक्रम नेपालले हाल ल्याएको पाइन्छ । यस्ता कार्यक्रमले नगन्य मात्रामा प्रभाव पारेकोले सो कार्यक्रम प्रभावकारी बनाउनु आजको आवश्यकता हो । अतः नागरिक समाज, शिक्षक, विद्यार्थी, युवा, राजनीतिक दल र तिनका भातृ संगठन, राष्ट्रसेवक, वास्तविक नेपाली जनता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आदिसँग नेपाल सरकारले समन्वय गरी कार्यक्रम सञ्चालन गर्न सके लागुऔषधिको सेवनले मानवलाई सामाजिक, आर्थिक एवं मानसिकरुपमा नै अपाङ्ग बनाइरहेको अवस्थामा लागुऔषधिको उत्पादनदेखि बिक्रीवितरण, ओसारपसार, दुरुपयोग र सेवनकर्ता सबै पक्षमा नियन्त्रणको प्रभावकारी नीति र संयन्त्र भई समस्या हल गर्न मदत पुग्नेछ । नेपाललाई यसबाट बचाउनु आज हामी सबैको कर्तव्य हुन आएको छ ।
एकातिर कोभिड–१९ को महामारी र कमजोर आर्थिक स्थितिको कारण प्राण धान्न धौधौ परेको बेलामा र मानव समाजलाई नै जनसंख्या र आर्थिक सन्तुलन कायम कायम गर्नुपर्ने जटिल परिस्थितिमा अर्कोतिर विध्वंशकारी धुम्रपान, मद्यपान र लागुपदार्थका असरहरू र तिनीहरूको परिणाम हामीले भोग्नु परेको छ । हाम्रो प्रयास मानवलाई बचाउने र स्वस्थ्य समाजको सिर्जना गराउने दिशातिर उन्मुख हुनुपर्दछ । त्यसैले जनचेतना र सदव्यवहारजस्ता हाम्रा संकल्प र प्रयासहरूले मात्र कोरोना महामारीको व्यवस्थापनका साथै दुर्व्यसनमा रोक लगाउन सकिन्छ ।
खास गरेर कोरोना महामारी र लागुपदार्थ दुर्व्यसनको नियन्त्रणको लागि सरकारीस्तरबाट, व्यक्तिको आर्थिक अवस्था उठाउन राष्ट्रिय शिक्षालाई सैद्धान्तिक मात्र नभएर व्यावहारिक तथा व्यावसायिक बनाउनुपर्छ भने गैरसरकारी संघ संस्थाहरूले पनि आफ्नो क्षमताअनुसार कोरोना माहमारी व्यवस्थापन गर्नसक्ने र लागुपदार्थ दुर्व्यसनीलाई हटाउन सक्ने किसिमको कार्यक्रमहरू सञ्चालन गरी व्यक्ति तथा समुदायलाई आफ्नो बारेमा सोच्न र सजग हुन सहयोग गर्नुपर्दछ । कोरोना माहामारीसँगै लागुपदार्थको लतका कारण लाखौँ युवाहरूको स्वास्थ्यमा असर पु-याएको छ ।
अतः समयमा नै सोको रोकथाम गरी गुणस्तर जीवनको लागि आवश्यक पहल गर्नु आजको आवश्यकता हो । (लेखकः नेपालमा गुणस्तरीय जीवनको निम्ति स्वास्थ्य, जनसंख्या एवं वातावरण शिक्षाको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका विषयमा विद्यावारिधि)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया