Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर हुनुपर्नेमा जोड

अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर हुनुपर्नेमा जोड


काठमाडौं । हाल अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । पूर्वमुख्यसचिव डा. विमलप्रसाद कोइरालाले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले अहिले विदेशी मुद्रामा चाप परेको र आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि सरकारले चनाखो भएर उपयुक्त कदम चाल्नुपर्ने बताए ।

बजेट घाटा बढ्दै गयो भने त्यसलाई पूर्ति गर्नको लागि आन्तरिक र बाह्य ऋण लिनुपर्ने उनको भनाइ थियो । बजेट घाटा बढ्यो भने गरिबी बढ्ने उनले बताए । गएको एक वर्षदेखि यी वित्तीय समस्या देखा परेको भए पनि सरकार चनाखो हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘अर्थतन्त्रको सुधारको लागि उपयुक्त कदम चाल्नुपर्छ । रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चिति पाउँछौँ । वैदेशिक सहायता पनि हो । अर्को, पर्यटन पनि हो । वैदेशिक सहायतामा पनि सङ्कुचन छ । यतातर्फ सरकारले ध्यान दिनुपर्छ ।’ यस्तै उनले अहिले कस्ता वस्तु आयात भइरहेका छन् भन्नेतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । अर्थतन्त्रको उत्पादकत्व बढाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘अहिले हामी महाधक्काको अवस्थाबाट गुज्रिरहेका छौँ । अब खतराको घण्टी त बजिसकेको छ । अर्थतन्त्रमा जटिल अवस्था छ । यसलाई राम्रै उपचारको विधि खोज्नुपर्छ । यो सुल्झाउन सकिने समस्या हो ।’

उनले वित्तीय स्थिरता र वित्त सन्तुलनले अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, ‘सरकारले कहिलेकाहीँ अलोकप्रिय निर्णय लिनुपर्छ । कटु आर्थिक यथार्थतलाई सम्बोधन गर्नको लागि अप्रिय विधि पनि अपनाउन सक्नुपर्छ । अहिलेको परिस्थितिमा घाँटी हेरेर हाड निल्नुपर्छ । सरकारले आम्दानी बढाउनुपर्छ ।’ यस्तै उनले राजस्वका स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए । ‘आफ्नै आम्दानीले आफ्नो खर्च गर्न सक्नुपर्छ, वित्तीय स्थिरतालाई ध्यान दिनुपर्छ । सरकारले खर्च गर्ने क्षमता वृद्धि गर्नुपर्छ’, उनले भने । सरकारले अनुत्पादक क्षेत्रमा गरेको लगानी काट्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या हल गर्न सकिने र सरकारले अर्थतन्त्र सुधारको लागि चालेको कदम पनि सकारात्मक रहेको बताए । श्रीलंकाजस्तो नेपालमा पनि समस्या हुन्छ कि भन्ने चर्चा भइरहेको उल्लेख गर्दै उनले तत्काल त्यस्तो अवस्था नरहेको स्पष्ट पारे । अग्रवालका अनुसार अहिले दुई किसिमको समस्या झेल्नुपरेको छ । एउटा आर्थिक तरलता र अर्को ब्यालेन्स अफ पेमेन्ट बिग्रिएको छ । ‘जुलाई महिनामा हाम्रो ११ महिनालाई आयात धान्नसक्ने ब्यालेन्स अफ पेमेन्ट थियो । अहिले अनौपचारिक रूपमा एलसी खोल्न बन्द गर्न भनिएको छ, हाम्रो अर्थतन्त्र प्यानिक गर्ने अवस्थामा पुगेको छैन्’, उनले भने ।

अहिले अर्थतन्त्र सुधारको लागि सरकारको तर्फबाट चालिएको स्टेप राम्रै रहेको उनको तर्क छ । राजस्व पनि ठीक तरिकाले अघि बढिरहेको र आयातलाई सर्टेन लेभलसम्म कन्ट्रोल गर्नु सरकारको नीति ठीक रहेको उनले बताए । तर, प्यानिकको वातावरण सिर्जना नगर्न उनले सरकारलाई सुझाए । यस्तै उनले विदेशी रकम सञ्चितिको लागि सरकारले गैरआवासीय नेपालीहरूलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिए । सरकार र एनआरएनएबीच विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले सरकराले दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले पनि अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सकिने भन्दै यसको लागि सबै निकायले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । उनले अहिले अर्थतन्त्र सङ्कुचनमा जानुको आन्तरिक र बाह्य दुवै कारण रहेको सुनाए । उनले भने, ‘पहिलो समस्या समाधान गर्नुपर्ने भनेको शोधानान्तर घाटा घटाएर बचततर्फ लैजानुपर्छ । अनावश्यक वस्तुको आयात घटाउनुपर्छ ।’ रेमिट्यान्सको अवैद्य कारोबार हटाउनुपर्ने र औपचारिक च्यालनबाट मात्रै रेमिट्यान्स ल्याउन प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । उनले अहिले पेट्रोलियम पदार्थको उपयोग कम पनि गर्नुपर्ने बताए । उनले भने, ‘ग्यासको चुलोलाई विस्थापन गर्नुपर्छ । विद्युतीय चुलोमा लगानी बढाउनुपर्छ । निमुखालाई निःशुल्क र सहुलियत दरमा विद्युतीय चुलो उपलब्ध गराउनुपर्छ ।’ बजारलाई लगानीमैत्री र प्रोडक्सन फ्रेण्डली बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले नेपालको आर्थिक अवस्था पनि श्रीलंकाजस्तो अवस्था हुन थाल्यो भन्ने कुरा पनि चर्चामा रहेको सुनाए । तरलताको अभाव, व्यापारघाटा, वैदेशिक सहायतामा कमी, मूल्यवृद्धिलगायतका कारण नेपालको अर्थतन्त्रमा समस्या देखिएको उनको भनाइ छ । त्यस्तै कोभिडको महामारी, पछिल्लो चरणमा रुस र युक्रेनबीच भएको युद्ध पनि मुख्य कारण रहेको उनले बताए । नेपालको पोलिसीको खराबीले पनि अर्थतन्त्र तहसनहस बनाउनमा सघाउ पुगेको उनको दाबी छ । उनले भने, ‘कोभिडको कालामा तीन खर्ब २२ अर्बजस्तो नोक्सानी भयो तर कोभिडपछिको सहुलियत कर्जा घरजग्गा र सेयरमा गएको देखिन्छ ।’ यस्तै उनले शोधनान्तर घाटाको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए । ‘७ महिनाकै अविधिमा दुई खर्ब ४७ अर्ब शोधनान्तर घाटा दखिएको छ । यसमा गम्भीर भएर सोच्नुपर्छ’, उनले भने । नेपालको अर्थतन्त्रमा समस्या देखिए पनि श्रीलंकाजस्तो सङ्कट नभएको उनले जिकिर गरे । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x