काठमाडौं महानगरपालिकाका ५ वर्ष–खै त वाचाहरू पूरा गरेको ? उम्मेदवार ‘मेरो वा सक्षम ?’
काठमाडौं । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई आम नेपाली नागरिकले उत्सुकतापूर्वक पर्खिरहेका छन् । राजधानी काठमाडौंमा फेरि एक पटक चुनावी सरगर्मी बढ्दै छ । निर्वाचनको पूर्वसन्ध्यामा विगतको कार्यकालमा भएका कामका बारे समीक्षा हुनु आवश्यक छ ।
पाँच वर्षअघि मतदाताहरूलाई आकर्षित गर्न सबै उम्मेदवारहरूले विभिन्न वाचासहित आ–आफ्नो घोषणापत्र सार्वजनिक गरेका थिए । काठमाडौंवासीले आफ्नो दैनिक जीवन र जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरूजस्तै खानेपानी, फोहोरमैला व्यवस्थापन, यातायात व्यवस्थापन, प्रदूषण नियन्त्रण आदिमा कामपाले विशेष ध्यान देला भन्ने ठूलो आसका साथ जनप्रतिनिधिहरू निर्वाचित गरेका थिए ।
अहिले काठमाडौंवासीको एकमात्रै प्रश्न छ– ‘वाचाहरू के भए ?’ उत्तरको लागि कसैलाई सोध्नु जरुरी छैन, केहीबेर काठमाडौंमा समय बिताए छर्लङ्ग हुन्छ । निःसन्देह, कामपाको नेतृत्व असफल रह्यो ।
किन असफल भयो होला ?
भिजन– चुनावी प्रचारप्रसारको क्रममा कामपाका हालका निर्वाचित मेयरले एक सय दिनमा सम्पन्न हुने एक सय एक गतिविधिको सूची सार्वजनिक गरेका थिए । जसमा मोनोरेल, ट्रेन, साइकल ट्र्यक÷लेनलगायतका कुरा समावेश थिए। उनले प्रस्तुत गरेका उक्त भिजनहरूलाई फर्केर हेर्दा उनले न तिनीबारे अध्ययन गरेका थिएजस्तो देखिन्छ, न त विशेषज्ञहरूसँग नै राय लिएका थिएजस्तो लाग्छ । उनका भिजन नै कहीँ अरूबाट प्रायोजित थिए कि जस्तो लाग्छ । हो पपुलिस्ट भोट बटुल्न एक सय दिनको थेगोचाहिँ सायद सफल रह्यो होला ।
टिम वर्क– कामपाभित्र सुरुदेखि नै टिमवर्क (आपसी समन्वय) खट्किएको देखिन्छ । विशेषगरी विपक्षी दलबाट निर्वाचित वडाध्यक्षहरूलाई साथमा लिई कार्य व्यवस्थापन गर्न नसक्नु नै हालको मेयरको ठूलो कमजोरी हुनगयो । आपसी समन्वय राम्रो हुन नसक्दा, ठूला–साना गरी विभिन्न खालका कार्यक्रमहरूमा नकारात्मक प्रभाव परेको सर्वविदित नै छ । उदाहरणका लागि रानीपोखरी, कमलपोखरी र खुला थिएटरमा बसस्टप निर्माण आदि । पछिल्लो केही हप्ताअघि मात्रै पनि विनाकुनै सल्लाह मेयरको अगुवाइमा सम्पदा क्षेत्र वसन्तपुरमा कंक्रिट प्रयोग गरी ढलानको काम सुरु गरियो । उक्त निर्णयको विरोधस्वरूप उपप्रमुख आफैँ सडकमा उत्रिइन् । कामपाका नेतृत्वबीच यो कस्तो समन्वयता हो ।
यही आन्तरिक द्वन्द्वका कारण काठमाडौंले अत्यावश्यक सेवा समयमै उपलब्ध गराउन नसकेको र जनताले सास्ती बेहोर्नुपरेको छ । के यस विषयमा राजनीतिक दलहरूले गम्भीरतापूर्वक सोचेका छन् त? फेरि त्यही दोहोरिने हो भने के होला ?
नेतृत्व– कार्यालयहरू सफलतापूर्वक सञ्चालन गर्न नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । मेयरले बोर्ड सदस्यहरूको सहभागिताविना नै कतिपय निर्णयहरू लिएको देखिन्छ, ‘हामी’लाई ‘म’मा रूपान्तरण गर्दै लगियो । उनी असल नेताको सट्टा ‘बोस’ बन्न थाले ।
प्रतिबद्धता– मेयरले ‘स्थानीय संस्कृति र सम्पदाको समर्थक’ भनेर खुलेर बोल्दै आएका छन् । उनले गुठीघर, सत्तल आदि निर्माणमा करोडौँ रूपैयाँ खर्च गरिसकेका छन् जुन राम्रो पहल हो । तर, लगानीको उद्देश्य जनताको सेवा गर्ने होइन, आगामी निर्वाचनमा निर्वाचित हुने उनको रणनीति रहेको देखियो । यदि उहाँ साँच्चै आन्तरिक रूपमा हृदयबाट प्रतिबद्ध हुनुहुन्छ भने उहाँले मुख्य सम्पदा क्षेत्र वसन्तपुरमा झण्डा स्ट्यान्ड बनाउन हिम्मत गर्नुहुन्न । अर्को शब्दमा यो उनको झुटो प्रतिबद्धता हो ।
व्यवस्थापकीय क्षमता– सबैलाई लाग्थ्यो कि दुई पटक वडाप्रमुखको अनुभव बटुलिसकेका मेयरले कार्यालय व्यवस्थापन राम्रै गर्नु होला तर भयो त्यसको विपरीत । आफ्नो मातहतका कर्मचारीको काम जिम्मेवारीलाई उनले आफ्नो निगरानीमा राख्न सकेनन् । उदाहरणका लागि उनको कार्यकालमा भएको नगरपालिका भवन निर्माण । अख्तियार सक्रिय नभएको भए उनकै नाकमुनि करोडौँको कमिसनको चलखेल हुने निश्चित थियो ।
समन्वय– विभिन्न मन्त्रालय, विभाग र निकायबीच समन्वय नहुनु नेपाल र विशेषगरी काठमाडौंको दीर्घकालीन समस्या हो । सर्वविदितै छ, सडक विभाग, विद्युत् प्राधिकरण र नेपाल टेलिकमको तालमेल नमिल्दा एउटै सडक महिनाको एक दर्जन पटक खनेको रमिता हेर्न अरु कहीँ जानु पर्दैन । कामपालाई सम्बन्धित निकायबीच समन्वय गर्ने÷गराउने काम आफ्नो क्षेत्राधिकारभित्र भएको कर्तव्यबोध नहुनु र पालना गराउन नसक्नु यसको एक मुख्य कारक हो ।
कार्य प्राथमिकता– ‘कहाँ फोकस गर्ने’ अर्थात् आफ्नो कामलाई कसरी प्राथमिकताअनुसार कार्यान्वयन गर्ने भन्ने कुरालाई कामपा छुट्याउन असफल रह्यो । नगरपालिकाले निर्माणकार्यमा मात्रै बढी ध्यान दिएको देखिन्छ । स्वास्थ्य, शिक्षा, सरसफाइ, रोजगारी सिर्जनाजस्ता प्राथमिकतामा पर्नुपर्ने मुद्दाहरूलाई कामपाले लत्याएको देखिन्छ । कोभिड–१९ को महामारीमा नगरपालिकाले एउटा पनि संस्थागत र व्यवस्थित आइसोलेसन सेन्टर खोल्न सकेन । लाखौँ मान्छेलाई मर्का परेको बेला काम गरी देखाउने सुनौलो अवसर कामपाले पाएको थियो जसलाई हालको नेतृत्वले देख्न सकेनन् वा चाहेनन् ।
विकास आयोजनाको अवधारणा– नगरपालिकासँग पर्याप्त स्रोतसाधन र बजेट नभएको होइन । तर पर्याप्त विकास आयोजना नहुँदा ती स्रोतसाधन र बजेटलाई कामपाले खर्च भने गर्न सकेन । बेरुजु बजेटलाई बैंकको मुद्दती खातामा राखेको देखियो । यो लज्जास्पद कुरा हो । स्थानीय समुदायका आवश्यकताअनुसार परियोजनाहरू विकास हुनु पथ्र्याे । युवाका लागि आयआर्जन, क्षमता अभिवृद्धि, प्रारम्भिक बालविकास योजना, स्वास्थ्य सेवा, शिक्षालगायतका जनमैत्री आयोजनाहरू प्रारम्भ गर्ने थप अवसरहरू सिर्जना गर्नबाट कामपा चुक्यो । बरु नगरपालिकाले दाताको भूमिका खेलेर आफ्नो पार्टीमा आबद्ध व्यक्ति र संस्थालाई विभिन्न बहानामा पैसा वितरण गरेको भनेचाहिँ देखियो ।
माथिका विश्लेषणबाट पाठ सिक्नु राम्रो होला
चुनावी सरगर्मी बढेसँगै विभिन्न पार्टीका कार्यकर्ताहरूले स्थानीय तहको नेतृत्वमा आफ्नो दाबेदारी दिँदै छन् । अनलाइन, प्रिन्ट मिडिया र सामाजिक सञ्जालबाट आकांक्षीहरूले आफ्ना तर्कहरू सार्वजनिक गरेका देख्न पाउँछौँ । काठमाडौंको मेयर पदमा उम्मेदवारीका लागि सांसद, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, वडा अध्यक्ष, कलाकार आदि गरी १५/२० जनाभन्दा बढीले आप्mनो रुचि पोखिसकेका छन् । कतिपय महिला नेतृ तथा बुद्धिजीवीहरू यसपालि मेयरमा महिला उठेको हेर्न चाहन्छन् । यसलाई हाम्रो बदलिँदो नेपाली समाज र फराकिलो हुँदै गएको हाम्रो बुझाइको उपज मान्नुपर्छ । यद्यपि, कार्यकर्ता होस् या विषेशज्ञ, नारी होस् या पुरुष, मेयरका आकांक्षीहरूले माथि उल्लिखित विश्लेषणको आधारमा कामपाको नेतृत्व लिन चाहिने दक्षता आफूमा छ या छैन, एक पटक आत्ममूल्यांकन गर्नै पर्छ ।
मेयरको अफिस चलाउन वडा वा पार्टी कार्यालय चलाउनुजस्तो पटक्कै हुँदैन । प्राविधिक योग्यता हुनु अपरिहार्य छ । विशेषगरी मानव संशाधन व्यवस्थापन, वित्तीय व्यवस्थापन र परियोजना व्यवस्थापनको व्यावहारिक ज्ञान र अनुभव हुन अत्यावश्यक छ । राजधानीमा रहँदा देशका नेता, सरोकारवालाहरू, विदेशी कूटनीतिज्ञ, राष्ट्रिय र अन्तर्राष्ट्रिय दाताहरूसँग कसरी व्यवहार गर्ने र स्थानीय विकासका लागि यिनीबाट प्राप्त हुने सहयोगलाई कसरी चुस्तरूपमा उपयोग गर्न सकिन्छ भन्ने व्यावहारिक ज्ञान हुनु अत्यावश्यक छ । यस्ता पारस्परिक सीप, दक्षता वा कला किताब पढेर वा कुनै कोर्स गरेरभन्दा पनि वर्षौँको अनुभव र परिश्रमबाट मात्रै बटुल्न सकिन्छ । अन्यथा यो जीप चालकले विमान उडाउन माग गरेको जस्तै हुनेछ ।
राजधानी भएकाले मेयरको पद जित्नु धेरै महत्वपूर्ण छ । नेपाली कांग्रेसले कुनै पनि हालतमा मेयरको पद गुमाउन हुँदैन । कांग्रेस पार्टी एक दशकभन्दा बढी समयदेखि सरकारभन्दा बाहिर रहँदै आएको पार्टी हो ।
‘सर्वश्रेष्ठ उत्कृष्ट’ उम्मेदवार प्रस्तुत नभएमा, धेरै समयदेखि आधारभूत सेवाबाट पीडित र वञ्चित भएका काठमाडौंका मतदाताले सहजै स्वीकार गर्नेछैनन् । उन्नत प्रविधिको कारण गुगल खोज, उम्मेदवारहरूको सम्पूर्ण इतिहास एक क्लिकमा निकाल्न सकिन्छ । को भ्रष्ट छ र कसले पैसा कमाएको छ भन्ने कुरा स्थानीय समुदायलाई थाहा छ । नागरिकले यसलाई प्रमुख मुद्दाको रूपमा उठाइरहेका छन् । निर्वाचित नेताहरूको कमजोर कार्यसम्पादनका कारण काठमाडौंमा राजनीतिक दलहरूले जनताले सोचेजस्तो काम गर्न सकेका छैनन् । मतदाताहरू अहिले परिवर्तन खोजिरहेका छन् । नयाँ अनुहार तर राजनीतिक दल जुनसुकै भए पनि सक्षम व्यक्तिको माग गरिरहेका छन् । उम्मेदवार ‘मेरो वा सक्षम’ भन्ने निर्णय पार्टीले गर्ने हो । ‘मैले गरेको छु र म नेतृत्व लिन सक्छु)’
सबैले आफ्नो निर्वाचन क्षेत्रको नेतृत्व उत्कृष्ट उम्मेदवारले गरून् भन्ने चाहना राख्छन् । स्थानीयको मनस्थिति र समयको मागलाई बुझेर दलहरूले सक्षम उम्मेदवारको नाम अघि सार्नु अपरिहार्य छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन विवाद समाधान गर्न विज्ञ समिति गठन ।
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया