Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको वित्तीय अवस्था सकारात्मक

सिभिल बैंकको वित्तीय अवस्था सकारात्मक


काठमाडौं, फागुन १
सिभिल बैंक सकारात्मक दिशातर्फ उन्मुुख भएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै बैंकको अवस्था सकारात्मक भएको जानकारी दिएको हो । चालू आवको दोस्रो त्रैमासमा बैंकको निक्षेप गत आर्थिक वर्षको पौष मसान्तको तुलनामा २१ प्रतिशतले बढ्दा कर्जा प्रवाह १४ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ५२ अर्ब निक्षेप संकलन गरी ५० अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ४३ अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको थियो । दोस्रो त्रैमाससम्म बैंकको ग्राहक संख्या चार लाख १२ हजार आठ सय १९ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५४ प्रतिशतले वृद्धि हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या दुुई लाख ६७ हजार तीन सय ५९ थियो ।

यसैगरी बैंकको कुल सञ्चालन आम्दानी र खुद सञ्चालन आम्दानी पनि क्रमशः ९ र २१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यही अवधिसम्म एक अर्ब ३३ करोड रूपैयाँ रहेको कुल सञ्चालन आम्दानी बढेर एक अर्ब ४६ करोड रूपैयाँ पुगेको छ भने एक अर्ब पाँच करोड रहेको खुद सञ्चालन आम्दानी बढेर एक अर्ब २७ करोड रूपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९ प्रतिशतले बढेको छ । यो अवधिसम्ममा बैंकले एक अर्ब १९ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी एक अर्ब १० करोड रूपैयाँ रहेको थियो । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात शून्य दशमलव ८५ प्रतिशतले घटाउन सफल भएको छ । गत वर्षको यही अवधिसम्म तीन दशमलव ५४ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर दुुई दशमलव ६९ प्रतिशतमा झरेको हो । समीक्षा अवधिमा बैंकको आधार दर पनि शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । गत वर्ष यही अवधिसम्म ११ दशमलव ३१ प्रतिशत रहेको आधार दर घटाएर समीक्षा अवधिमा १० दशमलव ९५ पु-याइएको छ ।

बैंकले समीक्षा अवधिमा ३१ करोड ६२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष बैंकको जम्मा शाखा संख्या ७३ मात्र रहेकोमा बैंकको दीर्घकालीन रणनीतिक योजनाअनुसार चालू आर्थिक वर्षको पौष मसान्तसम्ममा ३१ थप शाखा विस्तार भइ जम्मा शाखा संख्या एक सय दुुई वटा पुगेको छ । निकट भविष्यमा अझै थप १७ वटा शाखा खुल्दै छन् । द्रुत गतिमा शाखा विस्तार भएकोले गर्दा सोहीबमोजिम कर्मचारी खर्चलगायत समग्र सञ्चालन खर्च बढ्न गएकोले तत्कालीनरूपमा नाफामा केही असर पर्न गएको देखिन्छ । तर, यो क्षणिक असर मात्र हो । भर्खरै खुलेका ३१ वटा नयाँ शाखाहरूलगायत नयाँ खुल्ने शाखाहरूले विस्तारै व्यवसाय वृद्धि गर्दै लगेपछि नाफा बढ्दै जाने अपेक्षा बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x