Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१५औँ दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा

१५औँ दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा

थलिएको व्यवसाय ब्युँताउन जुट्यो निजी क्षेत्र, आन्तरिक उत्पादन र पर्यटन प्रवर्द्धनमा जोड


काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा शनिबार काठमाडौंको दरबारमार्गमा आयोजना हुन गइरहेको १५औँ दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो । आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पु-याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ । सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतिका साथ महोत्सवको औपचारिक शुुभारम्भ शनिबार बिहान ११ः४५ बजे हुनेछ । गीतसङ्गीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिसहित यो महोत्सव बेलुका ८ः१५ बजेसम्म आयोजना गरिनेछ ।

चर्चित गायकगायिका, कलाकार तथा साङ्गीतिक समूहहरूको प्रस्तुति, विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विषेश आकर्षणहरु हुन् । महोत्सवमा शारीरिकरुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु पनि प्रदर्शनीमा राखिने बताइएको छ । त्यसैगरी महोत्सवमा महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा रहनेछन् । महोत्सवस्थलमा ६० वटा स्टल रहने आयोजकले जनाएको छ । दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी संग्राहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । साथै सातै प्रदेशबाट विभिन्न जात जातिको सांस्कृतिक नृत्यहरु दरबारमार्ग आसपासका सडकमा प्रस्तुति गरिनेछ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ ।

हाल ९० प्रतिशतभन्दा बढी जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको र जनजीवन सामान्य हुँदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ । महोत्सवको सहप्रायोजकमा गोरखा ब्रुअरी र रोयल स्ट्याग रहेका छन् । महोत्सवको बैंकिङ पार्टनरमा एनआइसी एसिया बैंक, इन्स्योरेन्स पार्टनरमा नेसनल लाइफ इन्स्योरेन्स, विभरेज पार्टनरमा डाबर नेपाल, अन्य सहयोगी पार्टनरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केबलकार, केएफसी, पिजा हट, फोन–पे, एनडिज आइसक्रिम, नेपाल डेरी रहेका छन् । कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नवउत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरुको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x