Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहस्तकलाका वस्तु निर्यात प्रवर्द्धनका लागि चेम्बर र हस्तकला महासंघबीच सहकार्य

हस्तकलाका वस्तु निर्यात प्रवर्द्धनका लागि चेम्बर र हस्तकला महासंघबीच सहकार्य


काठमाडौं । हस्तकलाका वस्तुहरूको निर्यात प्रवर्द्धनका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल हस्तकला महासंघबीच सहकार्य हुने भएको छ । व्यापारघाटा न्यूनीकरण र नेपालको अन्तर्राष्ट्रिय पहिचानका लागि हस्तकलाका सामग्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यी दुई संस्थाले निर्यात प्रवर्द्धनमा सहकार्य गर्न लागेका हुन् ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण, कच्चा पदार्थमा सहकार्य, भन्सारमा देखिएका जटिलता हटाउन महासंघसँग हातेमालो गरेर अघि बढ्ने बताए । महासंघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई जमलस्थित चम्बर भवनमा सोमबार स्वागत गर्दै अध्यक्ष मल्लले नेपालका हस्तकलाका वस्तुहरूको अन्तर्राष्ट्रिय प्रर्दशनी एवं मेलामा सहभागिताका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले भने, ‘चरम व्यापारघाटा न्यूनीकरणका लागि वर्तमानको एउटै विकल्प भनेको हस्तकलाका सामानहरूको अन्तर्राष्ट्रियकरण गरेर निर्यात प्रवर्द्धन गर्नु नै हो ।’

हस्तकलाका उद्योगले व्यापक मात्रामा रोजगारी सिर्जना गुर्नुका साथै सीप, कला कैशलका माध्यमबाट संस्कृतिको संरक्षण र संवर्द्धनमा ठूलो सहयोग गर्दै आएको मल्लले बताए । अमेरिका, अधिकांश युरोपेली मुलुक, जापान, चीन, भारत, कोरियालगायत एसियाली मुलुकमा समेत नेपाली हस्तकलाका सामानहरू निर्यात भइरहेको भन्दै अध्यक्ष मल्लले राज्यबाट सहुलियत प्राप्त हुने हो भने आर्थिकरूपमा धेरै लाभ लिन सकिने बताए । हस्तकलाका सामान निर्यातका क्रममा भन्सार सहजीकरण, व्यवसायीलाई राहत उपलब्ध गराउन तथा अन्य नीतिगत सुधारका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x