राजनीतिक समूहमा सुधारको अपेक्षा
काठमाडौं । लोकतन्त्र प्राप्तिको चाहनामा नेपाली जनमतले प्राणको आहुती दिएपछि यस धर्तीमा प्रजातन्त्रको बीज अंकुरण हुने अवस्था पैदा भएको तथ्यसँग हामीहरू अनभिज्ञ रहेका छैनौँ । विसं १९९७ सालमा सूक्ष्मरूपमा अंकुरित बीजलाई पूर्ण वयश्कता हासिल गर्न करिब–करिब ६५ वर्षभन्दा अधिक समय खर्चिनुपरेको ऐतिहासिक तथ्यहरूले प्रमाणित गर्दै ०६२/०६३ को राजनीतिक सफलताको उत्कर्षताले मुलुकलाई गणतान्त्रिक राज्यव्यवस्थामा पदार्पण गराएको वर्तमान अवस्था हो । राजनीतिक संघर्षका विभिन्न चरणमा प्राप्त हुनआएका उतार–उढाव एवं अनुभवबाट पाठ सिक्दै अवस्था हेरी कहिले शान्ति तथा फेरि कहिले क्रान्तिको मार्गलाई अवलम्बन गर्दै बुद्धिमत्तापूर्वक ढङ्गबाट लोकतन्त्रलाई जीवन्त राख्ने प्रयासमा नेपाली जनमत सधैँ नै क्रियाशील रहेको पाइन्छ । लोकतन्त्रप्रतिको अद्भूत जनचाहनालाई निरंकुशताको आगोमा पनि अगाडि बढाएकै कारण आज हामीले नागरिक स्वतन्त्रताको अनुभव गर्न पाएका मात्र हौँ । प्रारम्भिक चरणमा मुलुकको अग्रणी लोकतान्त्रिक संस्थाको रूपमा रहेको नेपाली कांग्रेसको अगुवाइमा नेपाली जनमत एवं तत्कालीन राज नेतृत्वको सफल सहभागिताको साथै मित्रराष्ट्र भारतको सहयोग र सद्भावमा विसं ००७ मा मुलुकमा प्रजातन्त्रको जग स्थापित हुनपुगेको तथ्यलाई कुनै पनि हालतमा बिर्सन मिल्दैन ।
सफल राजनीतिको सहमतिमय व्यवहार, सहयोग र सद्भावलाई आदर्शको मूलमन्त्र मान्दै राजनीतिको क्षेत्रमा प्रयोग स्वरूप अवलम्बन गर्ने चाहनालाई यथार्थमा रूपान्तरण गर्दै नेपाली कांग्रेसबाट नै सर्वप्रथम विसं २००६ सालमा संविधान सभाबाट संविधान निर्माण गरी आम नेपाली जनमतलाई पूर्ण सम्प्रभू गराउनुपर्ने भन्ने मुद्दा उठाएको भए पनि लोकतान्त्रिक आन्दोलनको सफलतापश्चात् मात्रै मूर्तरूप हासिल गरेको देखियो ।
मूलतः नेपाली कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो सैद्धान्तिक राजनीतिक आदर्शको मूलमन्त्र मान्दै सोहीअनुरूप जनहितप्रति पूर्ण बफादार रहने राजधर्मिताअनुसार राष्ट्रिय मेलमिलापको रणनीतिलाई व्यवहारतः उपयोग गर्न लोकतान्त्रिक संस्कृतिलाई आत्मसात् गर्नेछ भन्ने जनविश्वास रहँदै आएको पाइन्छ । जसका कारण निरंकुश पञ्चायती शासकवर्गमा समेत राजनीतिक भूकम्पजन्य तरङ्ग उत्पन्न गराउन सक्षम भई निरंकुशको परिवेशमा समेत लोकतन्त्रको बदलिँदो स्वरूपलाई रूपान्तरण गर्न दलमाथिको प्रतिबन्ध हटाउनको खातिर विश्वविख्यात लोकतान्त्रिक आचरणको प्रतिमूर्ति स्वरूप विकल्प रोज्ने अवसर प्रदान गर्न विसं ०३६ जेष्ठ १० गते जनमत संग्रहसम्बन्धी व्यवस्थालाई नचाहँदा–नचाहँदै पनि अंगीकार गर्न तत्कालीन शासक वर्ग बाध्य भयो ।
विसं ०१७ सालमा भएको प्रजातन्त्र चिरहरणपछिको महत्वपूर्ण लोकतान्त्रिक उपलब्धिको रूपमा प्रस्तुत व्यवहारलाई नेपालका राजनीतिक समूहले लिएको पाइन्छ । भलै यसको परिणाम पराजय नै किन नहोस् तथापि निरंकुश परिवेशमा पनि लोकततन्त्रको दियो बाल्ने काम भने निश्चितरूपमा सफल भएकै हो भन्दा फरक नपर्ला । मूलत नेपालको राजनीतिमा जेठो लोकतान्त्रिक समूहको रूपमा रहेको नेपाली कांग्रेसको आदर्शअनुसार अन्य कुनै पनि लोकतान्त्रिक समूहसँग कार्यगत एकतामा समाहित रहनु हुन्न भएको मान्यता विध्यमान रहदा रहदै पनि जनहितकै लागि भनेर नेपालका बाम समूहसँग रचनात्मक सहकार्य सम्भव भएको मात्र हो ।
परिणामतः विसं ०४६ को लोकतन्त्रप्रतिको उर्लँदो जनचाहनालाई संयुक्तरूपमा सम्बोधन गर्ने सन्दर्भमा अग्रणी राजनीतिक समूहको राजनीतिक मूलधर्मितामाथि नै प्रश्नचिह्न खडा भएको देखिन्छ । यद्यपि लोकतन्त्र एवं नागरिक समाजप्रति जिम्मेवार रहने राजनीतिक समूहको हैसियतको दृष्टिकोणबाट उपरोक्त तथ्यलाई मध्यनजरमा राख्दै विश्लेषण गर्ने हो भने प्रस्तुत राजनीतिक गन्तव्यलाई समेत केही हदसम्म सकारात्मक लोकतान्त्रिक कदमको रूपमा लिँदा फरक नपर्ला । यस पूर्वको अवस्था भने राजासँगको सहकार्यलाई राजनीतिक आदर्शको मूलमन्त्र मानेकै कारण कठिनभन्दा कठिन घडीमा पनि विचलित रहेको भने पाइएन । यही त्यो कारक तत्व हो जसले मुलुकको राष्ट्रिय राजनीतिमा सिद्धान्तविहीनतालाई बढवा दिँदै अन्त्यहीन राजनीतिक दिशातर्फ डोहो-याएर लग्ने प्रवृत्तिको विकासले प्रश्रय पाएको देखिन्छ ।
अन्ततः बाम समूहसँग गरिएको सहयोगात्मक कदम नेपाली कांग्रेसको पार्टीको लागि प्रत्योत्पादक साबित हुनुबाहेक अन्य कुनै उपलब्धिमूलक राजनीतिक लाभ हासिल गर्न अक्षम रहेकै कारण सम्बद्ध समूहको राजनीतिक छवि समेत धमिलिन जाने प्रबल सम्भावनालाई आजको परिपे्रक्षमा कुनै पनि हालतमा इन्कार गर्न मिल्दैन । जसले नेपाली कांग्रेसलाई भन्दा पनि बाम समूहलाई नै धेरै हदसम्म जनताको माझमा लोकप्रिय बन्न सहयोगीको भूमिका निर्वाह गरेको पाइयो । किनभने आम जनमानसमा लोकप्रिय राजनीतिक समूह रहँदा रहँदै पनि दलीय अहमता, पदलोलुपता, भ्रष्टाचारमा लिप्त रहने संस्कृतिको विकास, राजनीतिक नैतिकताको कसीमा दिनानुदिन ऋणात्मकतातर्फ उन्मुख रहने प्रवृत्तिको विकासले नेपाली कांग्रेसको मात्र नभई अन्य राजनीतिक समूहमा समेत उपरोक्त राजनीतिक रोग विराजमान रहेकै कारण हरेक राजनीतिक समूहको साखमा ह्रास आएको मात्र हो । यसका अतिरिक्त विपक्षमा रहनुपर्ने भूमिकामा समेत न्यूनता कायम रहनुले लोकतन्त्रप्रति नै हरेक समूहको ढुलमुले चरित्र उदाङ्गिएकै कारण गणतन्त्रात्मक लोकतन्त्रको भविष्यप्रति नै एक पटक प्रश्नचिह्न खडा भएको वर्तमान अवस्था हो ।
प्रस्तुत सन्दर्भमा सुधारको अपेक्षा गरिए पनि व्यवहारमा रहेको अपरिपक्वताको कारण दिशाहीन राजनीतिक गन्तव्यले मौलाउने अवसर प्राप्त गरेको मात्र हो । जसको निराकरणको लागि पुरानो पुस्तालाई विश्राम एंव नयाँ पुस्तालाई राजनीतिमा समावेश गराई अवसरको सुनिश्चितता कायम राख्नु नै एकमात्र उपयुक्त विकल्प हुन सक्दछ । विपरीत अवस्था तयार भए हतारमा निर्णय गरी फुर्सदमा पछुताउने प्रवृत्तिको विकासले लोकतान्त्रिक समूहको राजनीतिक क्षेत्रमा गहन राजनीतिक घाटा व्यवसाय सहन गर्न तयार रहनुपर्ने हुन्छ ।
प्रस्तुत व्यवहारको विकासले राजनीतिक दम्भको उत्सर्गता तथा जनतामा अलोकप्रियता बटुल्ने कार्यमा मात्रै सहयोग पु–याउने हुँदा प्रतिपक्षको भूमिकामा चित्त बुझाउनुपर्ने अवस्थामा समेत सत्ता लोलुपतामा जिकिर गर्नुलाई राम्रो पक्ष मान्न सकिँदैन । किनकि लोकतान्त्रिक समूहको रूपधारण गरिसकेपछि त्यागको भावना जगाउन सक्नुपर्नेमा त्यो हुन सकिरहेको भने पाइएन ।
निहित स्वार्थपूर्तिका लागि व्यक्तिगत महत्वकांक्षाको अभिवृद्धिले आफ्नै समूहभित्र पनि अन्तरघात गर्न समेत पछि नपर्ने संस्कृतिको विकासले नेपाली जनतामाझ लोकतान्त्रिक समूहको नकारात्मक छवि बेलाबखत बाहिरिने गरेको छ । त्यसो भएको हुँदा मुलुकमा विद्यमान रहेका हरेक लोकतान्त्रिक समूहमा राजनीतिक तथा नैतिक आर्दशको क्षेत्रमा सुधारको जनअपेक्षा कायम रहनुपर्ने हुन्छ ।
लोकतान्त्रिक समूहको पथप्रदर्शकको रूपमा परिचित रहँदा–रहँदै पनि विचलनजन्य अवस्था तयार रहनु भनेको लोकतन्त्र, नेपाली जनमत तथा स्वयम राजनीतिक समूहको लागि पनि शुभसंकेत होइन । जिम्मेवार समूह भएर जनहितकारी कार्यमा आफ्नो वर्चस्व कायम राख्न नसक्ने हो भने सुखद राजनीतिक परिवेश निर्माण हुन सक्दैन ।
तसर्थ आफ्नो राजनीतिक छविलाई सुधार्दै राष्ट्रिय हितप्रति सदा समर्पित रहँदै वर्तमान गठबन्धनीय गठजोडबाट पृथक रहँदै जनअभिमतप्रति पूर्ण बफादार तथा विश्वस्त रहने हो भने स्थानीय तहको निर्वाचनलगायत निकट भविष्यमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समेत दुई तिहाइको अभिमत प्राप्त गर्न कुनै किसमको कठिनाइ भोग्नुपर्ने अवस्था अवश्य पनि रहनेछैन । अन्यथा सत्ताप्राप्तिको चलखेलमा अल्झिएर अगाडि बढ्ने हो भने नेपालका राजनीतिक समूहलाई दिउँसै टुकी बालेर खोज्नुपर्ने अवस्था तयार नहोला भन्न सकिँदैन । तसर्थ आफ्नो सैद्धान्तिक धरातललाई मनन गर्दै अगाडि बढ्ने प्रयास गरौँ, यसैमा सर्वपक्षीय भलो हुने देखिन्छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया