जडीबुटी र घाँसखेतीबाट परिवर्तन हुँदै जीवनस्तर
हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिकामा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सनमुनि रूख नभएको स्थानमा सामूहिकरूपमा गरिएको जडीबुटी र घाँसखेतीलाई आयआर्जनको स्रोत बनाएको छ । उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाहरूले आयआर्जनका लागि उपसमूह बनाएर सामूहिक खेती गर्दै आएका हुन् ।
समूहकी अध्यक्ष चम्पामाया परियारले सामूहिकरूपमा जडीबुटी खेती तथा घाँसको बिरुवा रोपेर बाख्रा पालिरहेकाले आर्थिकरूपमा निकै सहयोग पुगेको बताइन् । उनले भने, ‘अब यो ठाउँमा यसरी हामी बहिनी मिलेर आम्दानी गर्छमजस्तो लागेको थिएन, गरे नहुने केही रहेनछ ।’ हाइटेन्सनमुनिका रूख काटिएपछि खाली बनेको स्थानबाट उत्पादन गरेर स्वरोजगार तथा उद्यमशीलताको विकास गर्ने सोचसहित थालिएको जडीबुटी खेतीले आम्दानी दिन थालेपछि सबैजना उत्साहित हुँदै थप मिहिनेत गर्न ऊर्जा मिलेको परियारले बताइन् । जडीबुटी गोडमेल गर्ने र घर फर्कँदा घाँस लिएर जानु आफूहरूको दैनिकी बनेको उल्लेख गर्दै परियारले समूहले यस वर्ष अदुवा पनि खेती गरेको बताइन् ।
अदुवा खेती सप्रिएको बताउँदै बजार व्यवस्थापनको पाटोमा भने सहयोग चाहिएको उपसमूहकी कोषाध्यक्ष सानुमाया मोक्तानले बताइन् । तीन वर्षअगाडि जडीबुटी खेती सुरु गर्दा आम्दानीको सपना देखे पनि दुःख गर्दा र घरमा भएका वस्तुसहितको हेरचाहमा भ्याइनभ्याइ भएको अवस्थामा थोरै निराश भएको स्मरण गर्दै कोषाध्यक्ष मोक्तानले जडीबुटी रोपिएको स्थान वरपर घाँस लगाउँदा घरमा पशुपालन गर्न पनि सहज भएपछि उपसमूहमार्फत नै आर्थिक सहयोग र बाख्रा सापटी कार्यक्रम लागू गरेर थप आम्दानी भएको बताइन् ।
हाल जडीबुटी, अदुवा, अम्रिसोसँगै बाख्रापालन पनि गर्दै आएको उनको भनाइ छ । मोक्तान भन्छिन्, ‘नभएको लगानी हालेर बाख्रा पाल्ने अनि त्यसलाई घाँस खोज्न कहाँ जानेजस्तो लाग्थ्यो तर अहिले यहाँको घाँसले बाख्रा र गाई पाल्न थालेको छु ।’ जग्गा जमीन थोरै, पढाइ नभएका कारण उक्त समूहमा रहेका विपन्न, दलित र जनजाति महिलाले रोजगारीको स्रोत खोज्दा वन समूहले यस्तो उपयुक्त योजना ल्याएर जीवन परिवर्तनमा सघाउ गरेको मोक्तानको भनाइ छ । हाल उक्त उपसमूहका महिलाहरूले सर्पगन्धाको बीउसमेत उत्पादन गरेर बिक्रीवितरण गरिरहेको बस्तीमाया मोक्तान बताउँछिन् । उनले भनिन्, ‘हामीले त जग्गा जमीन पनि छैन, पढेको पनि छैन कमाउन सक्छ जस्तो मानेको थिएन पो ।’ तर उक्त सामूहिक जडीबुटी खेतीले अब भने जीवन परिवर्तन हुनसक्ने आशा पलाएको मोक्तानको भनाइ छ ।
बिहानबेलुका जसोतसो छाक टार्ने र दिनभर सुतेर समय बिताउने महिलाहरू अहिले सक्षम र व्यस्त हुन थालेको उपसमूहकी सदस्य देवकी विष्टको भनाइ छ । सामुदायिक वनले जीवन फेरिएको उदाहरण आफ्नो समूह रहेको बताउँदै उनी भन्छिन्, ‘खेती गरौँ जमिन छैन, अरू काम गर्न लगानी छैन, यस्तो अवस्थामा सामुदायिक वन उपभोक्ता महासंघले ल्याएको यो एउटा कार्यक्रमले साँच्ची भन्नुपर्दा हामीलाई परिवर्तन नै गरिदिएको छ ।’ सानो लगानीबाट बाख्रापालन सुरु गरिएको र घाँसका लागि पनि टाढा जान नपरेको उनको भनाइ छ । उक्त स्थानमा रहेको दुई हेक्टर जमीनमा हाल सामूहिकरूपमा खेती गरिँदै आएको विष्टले जानकारी दिइन् ।
हाल सर्पगन्धा, अम्रिसो र अदुवाका साथमा घाँसखेती भइरहेको उनको भनाइ छ । यस पटक अदुवा सप्रेको र अब बजारीकरणको तयारीमा रहेको विष्टले जानकारी दिइन् । सामुदायिक वन उपभोक्ता महासंघले सामुदायिक वनमा रहेका विपन्न महिलाको जीवनस्तर उकास्न भेला छलफलमा सम्भावित योजनाहरूको विषयमा जानकारी दिँदा पनि महिलाहरूको जीवन परिवर्तनमा सहयोग पुग्ने गरेको सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले बताइन् । वनबाट समृद्धि र समृद्धिका लागि उद्यमशीलतामा जोड दिने नीति सामुदायिक वन उपभोक्ता महासंघको रहेको उनले बताइन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चीन भ्रमणमा ऋणसम्बन्धी सम्झौता नहुने: प्रधानमन्त्री
- टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान
- १५ दशमलव ८३ बिन्दुले उक्लियो शेयर बजार
- विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
- ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’
- आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने
- काठमाडौँमा बुधबारदेखि जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
- छोराद्वारा बुबाको हत्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया