Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्थानीय चुनावमा देखापरेका विसङ्गति

स्थानीय चुनावमा देखापरेका विसङ्गति


काठमाडौं । यस पटक भरतपुर, काठमाडौं र विराटनगरलाई केन्द्रमा राखेर विश्लेषण गर्नु उपयुक्त होला । अन्य ठाउँमा समस्या छैनन् भन्ने होइन । तर राजनीति यसरी गिजोलियो यसको सही तरिका कसको स्वार्थले, कता रुमलिने हो भन्न गाह्रो भयो । हाम्रा अग्रज, अनुषिमुनिले, मार्क्स, लेनिन, माओभन्दा धेरै पहिले राजनीतिलाई बढी अप्रिय सत्यको वचनले व्याख्या गरेका छन्, अर्थात् यो राजनीति वेश्याजस्तो अनेक रूपधारण गर्छ–
“सत्यपृयाच पुरुषा प्रिय वादिनीच’
वाराङ्गमेन नृपनीति अनेक रूपा”

नेपालको राजनीति यो श्लोकमा भनेझैँ, अनेक रूप धारण गर्ने गर्छ, साँच्चै बोलेजस्तो लाग्छ, मीठो बोलेर अँगालो पनि हाल्छन् । फेरि मारौँ काटौँ गरेर अलग पनि हुन्छन् फेरि मिलछन् ।

आधुनिक विद्वानहरूले राजनीतिलाई सबै नीतिहरूको राजा भने । राजनीतिको परिभाषा गर्दा यो राजनीति विज्ञान पनि हो र कला पनि हो भनेर भने । विज्ञान यस अर्थमा यसलाई आफ्नो देश परिस्थितिअनुसार प्रयोग गर्न सक्नुपर्छ । कला यस अर्थमा कि यसलाई सञ्चालन गर्ने कला चाहिन्छ ।

विराटनगरबाटै आरम्भ गरौँ, विराटनगर क्षीण भएको कोइराला निवासमा, श्री शेखर कोइरालाले भने कम्युनिस्टलाई विश्वास गर्न सकिन्न । उनको दाबी छ म महाधिवेशन हारे पनि मेरो ४० प्रतिशत मत छ । यो ४० प्रतिशतमा महामन्त्री गगन थापाको कति ? उपसभापति गुरुजीको कति त्यो थाहा छैन ।

कम्युनिस्टको विश्वास गर्न सकिन्न भनेर भारतमा रहँदा वीपीले गिरजाबाबुलाई सम्झाउँदा भनेको कुरा हो । शेखरले त जानेर हो वा नजानी हो नक्कल गरेका मात्र हुन् । २०३६ सालको जनमत संग्रहपछि लाहानको आमसभामा वीपीले भन्नुभएको थियो, पंक्तिकारको एक प्रश्नमा, ‘जनकपुरमा मनमोहनजीले बहुदलीय पक्षको एउटै आमसभा गर्नुपर्छ भन्नुहुन्छ, यो के हो ? यो वामपन्थीको चाल हो । कांग्रेसको आमसभामा कम्युनिस्टहरूको भाषण किन ? २००७ सालको क्रान्ति र प्रजातन्त्रको मूल्य मान्यतामा उनीहरूको योगदान र विश्वासै छैन ।

यो लेख लेख्न थाल्दा राप्रपा लिङ्देनको एउटा आमसभा भयो, विराटनगर नगरपालिकाको आर्थिक अनियमितताको भण्डाफोर गरियो । प्रल्हाद साह पनि मेयरमा हाम नफाल्लान् भनेर भन्न सकिने स्थिति रहेन । पार्टीका महामन्त्री छँदै छन् । तर शेखर कोइरालालाई आफ्नो विजयका लागि आम चुनावमा सहयोगी हुने मेयरचाहिँ अमृत अर्याल नै हुन् । उनी कांग्रेस जिल्ला सभापति भइसकेका र सांसद पनि भइसकेका, युवा मिलनसार व्यक्तित्व हुन् विराटनगरका राप्रपामा त्यस्तो रहेन ।

पहिलो पल्टको काठमाडौंको नगरपालिकाको चुनावमा, प्रकाशमानको लिँडेढिपीले राजुराज जोशी उठाइयो । उनका सहोदर भाई नवीन्द्रराज जोशी मन्त्री थिए । सन्देश राम्रो गएन । नवीन्द्रको पनि अल्पायुमा नै निधन भयो । हरिबोल भट्टराईको मुर्खताले प्रकाशमान बालबाल बचे । आफ्नो सिट जोगाए । अब त के मन्त्री होलान् ? तर शेरबहादुरको कृपा, महन्थ ठाकुर, शरदसिंह भण्डारी हुँदा अदलाबदलीमा पर्ने हुन् कि ?

भरतपुर नगरपालिका (चितवन) प्रचण्डले प्रतिष्ठाको प्रश्न बनाए । गगन थापाले अर्थात् शेखर समूहले पनि यो महानगरपालिकाको मेयरका लागि प्रतिष्ठाको प्रश्न बनाए । प्रधानमन्त्री तथा पार्टी सभापतिले पनि, प्रचण्डको चुनाव क्षेत्र पनि हो । प्रचण्ड बिच्किन्छन् । गठबन्धन खतरामा पर्छ । कांग्रेस र माओवादीको सहमति भएन भने एमालेका हातमा यो महानगर पालिका जान्छ । गठबन्धन आम चुनावसम्म जाने भनेपछि, यस्तो सानो मसिनो कुरा किन नमिल्ला र ? तर ! राजनीति हो के हो ? के हो ? रात गए अग्राख पलाउनेछ ।

तर यी शुद्धरूपले विकासे इकाइमा राजनीति प्रवेश हुनु हुँदैनथ्यो । ठेलेर, पेलेर पसाइयो । गाउँपालिका, नगरपालिका, महानगरपालिकाका हाकीमहरूमा पत्याउनै नसक्ने खालका अनेक घटना देखापरे । आर्थिक, सामाजिक, भौतिक पनि । काठमाडौं सिंहदरबारको अधिकार गाउँ, सहरमा पु¥याइयो भनेर जति धाक लगाए पनि सिंहदरबारका भन्दा धेरै विकार देखापरे । असहिष्णु, घृणा, दमन, द्वेष आदि अनेक प्रकारका लोभ लालचले हुर्किने बढ्ने मौका पाए । कमसेकम सिंहदरबारका पटांगिनीमा दिनको एक पल्ट भए पनि राणाले दर्शन अथवा भेट दिन्थे ।

काठमाडौंवासी भएकाले आफ्नो आलोचना नगरी अरुको आलोचना गर्नु न्यायसंगत भएन । काठमाडौंमा फोहोर व्यवस्थापन अहिलेसम्म राम्रो भएको छैन । त्यही केन्द्रीय सरकार छ । विभागीय मन्त्रालय छ । यसले उसलाई देखायो, उसले यसलाई देखाए । सहर भर दुर्गन्ध फैलायो । हप्तौँ दुर्गन्ध फैलायो, संसारलाई तमासा देखायो । तर विदेश भ्रमण जानुप¥यो भने फटाफट काम हुन्छ । मेयर, उपमेयर दुवैको मत मिल्छ । काठमाडौंका मेयर र उपमेयरले यो कार्यकाल विदेशै घेमेर बिताए । न आफ्नो भवन बनाए । नखाने पानी, नफोहोर मैला सफा गर्न सके । न त कालीमाटीको तरकारी पसल । तर चलेको छ । चलिरहने छ । त्यस्तै, यस्तै केही फरक छैन ।

विराटनगरका राम्रा कुरा पछि गरौँला । यो प्रदेश नं. १ तर आजसम्म प्रदेश संसद र प्रदेश सरकारले आफ्नो नामसम्म राख्न सकेन । सारा बेनामी काम गरेको छ । यस्तो पनि हुन्छ ।

जनकपुर चुरोट कारखाना अनेक कारणले ध्वस्त भए पनि यहाँ गराइए पनि यहाँ मधेश प्रदेशको मन्त्री मण्डल र आवास धेरै व्यवस्थित देखियो । विराटनगर त बेहाल रहेछ । मन्त्रीहरू बस्ने ठाउँ छैन । तर मन्त्री बढाउने संख्या थप्ने काम भने रोकिएको छैन । विराटनगरको एक महिनाको बसाइमा वरपर गरेर रंगेली हरैचा, इटहरी सबैतिर जोड्दा प्रधानमन्त्रीदेखि सबै राष्ट्रिय नेता मोरङ जिल्ला र विराटनगर आए । अर्थमन्त्री आए । बिहान चिया खाँदै बाटामा हेर्दा भारततिरबाट बडाबडा ट्रक आइरहेका देखिन्छन् । साइकलमा त्यत्तिकै समान, एक दिन एउटा ट्रकमा अमलिसो लिएर एउटा गाडी भारततिर गएको देखेर सारै खुसी लाग्यो । रिक्सा विस्थापित भएछन्, त्योचाहिँ खुशी लाग्यो ।

लाहान सहर पनि निकै व्यवस्थित भएछ । सिरहाको राजनीति पनि रोचक छ । सांसद प्रदीप गिरीको जिल्ला प्रचण्डलाई पनि जिताएको । तर यस पटक अञ्जु खाँडले यहाँ राजनीतिक ताण्डव मचाएछन् । चुनाव जित्नका लागि जनकपुर राजा जनकको, सीताको नामले भन्दा जनकपुर रेलले चर्चा पाएको छ । आधुनिक रेल चलेको देखेर भने सारै खुशी लाग्यो । प्रारम्भदेखि नै जनकपुरको राजनीति धेरै पेचिलो छ । जातीय समीकरणमा निकै जकडिएको । गत आम निर्वाचनमा नपत्याउने गरी, महतोले निधिलाई हराए ।

कांग्रेसको राजनीति पनि जटिल देखिन्छ । उमेर, पद, अनुभवले, धनुषा जिल्ला, नेता विमलेन्द्र निधिको पकडमा रहनुपर्ने त्यो देखिँदैन । भूपू राष्ट्रपति श्री रामवरण यादव आफैँ सक्रिय नभए पनि, त्यो परिवारका सदस्यहरू राजनीति महत्वाकाक्षा लिएर सक्रिय भएका छन् । लिला कोइरालाको निधनपछि, कोइराला विरासत समाप्त भएको छ । आनन्द दुंगानाले, शेरबहादुरजीलाई अंगालो हालेका छन् ।

२०३६ सालसम्म जनकपुरको नेपाली कांग्रेसको प्रभाव सप्तरी, सिरहा बारा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, सिन्धुलीसम्म रह्यो । जनकपुर केन्द्र नै थियो । त्यो अब रहेन । त्यो स्वाभाविक पनि हो । नयाँ नेता र कार्यकर्ता आए । तर विराटनगरबाट राजनीतिमा दुर्गा सुवेदी जिउँदै हराएझैं, जनकपुरबाट युवराज खाती पनि कता हराएछन् । कृष्ण गिरीको निधन भएपछि, रमा होटेल पनि बिरानो भएछ ।

तर राम्रा तारामा गनिने अरु होटल खुलेका छन् । तालतलैयाचाहिँ राम्रा भएछन् । भारतीय धार्मिक पर्यटकको त ओइरो नै लाग्छ । रामजानकी मन्दिर नि चिटिक्क भएछ । आँगनमा सगमरमर ओछ्याएछन् । परम्परागत फोहर भएका गल्लीमा सुन र चाँदीका पसल फस्टाएछन् । जनकपुरको जस्तो मस्तमौजी समाज नेपालमा अन्त पाइन्न ।

साना–ठूला नगरपालिका धेरै भएका छन् । टिकटका दाबेदार पनि धेरै छन् । गुट, उपगुटको प्रभाव नहुने कुरै भएन । पहिले उपप्रमुख भएका मित्र किशोरी
शाहले आफ्नो दाबी व्यवस्थितरूपमा उठाउनुभएको रहेछ ।

जनकपुर रेलवे बर्दिबाससम्म त छिटै आइपुग्ला । तर लगानीका हिसाबले त्यसले प्रतिफल देलाजस्तो लाग्दैन । रेलको शौख भने जनतामा बढाइदेला । धेरै चर्चापरिचर्चापछि राम्रो रेल चिटिक्क परेर चलेको छ ।

Open photo

मेरो यात्रा विराटनगरलाई केन्द्र बनाएर गरिएको हो । झापाको पनि भ्रमण भयो । भद्रपुर, धुलावारी कांग्रेसले जित्नुपर्ने हो । ऊर्लाबारी, धरान पनि निश्चितै छन् । अब गठबन्धनको बन्धन कहाँ–कति दरिलो र खुकुलो अनि कताकता बरालिने हो त्यो निकट भविष्यले देखाउला ।

जनतामा चुनावप्रति उत्साह छ । कोरोनाको डर पनि हराएको छ । व्यापार, व्यवसाय, होटल, चलायमान भएका छन् । जग्गा जमीनको भाउ बढेको छ । किनबेच भने त्यति रैनछ । पुराना घर भत्काएर नयाँ बनेका छन् । पुरानो परम्परा पनि छ । विराटनगरका रुग्ण उद्योगलाई सहयोग गर्नुपर्ने हो त्यो भएको छैन । उद्योगी व्यापारीको गुनासो उस्तै छ । भन्सार भव्य भएछ । सञ्चारग्रामको पनि सञ्चारमन्त्रीले उद्घाटन गरे । पत्रकारहरू पनि क्रियाशील छन् ।

जनकपुरका एक स्वतन्त्र वडा नं. ७ भाई शिवकुमार साहले कमाल गरेका रहेछन् । सबै वडाका अध्यक्षलाई प्रेरणा मिलोस् । कोभिडको महामारीमा आफ्नै पैसाले औषधि ल्याएर सेवा गरेछन् । कांग्रेसमा प्रवेश गर्ने इच्छा रहेछ । इच्छा पूरा होस् । वडामा अहोरात्र खट्तारहेछन् । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x