Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालइन्फोटेकप्रति युवा–पुस्ताको आकर्षण

इन्फोटेकप्रति युवा–पुस्ताको आकर्षण


काठमाडौं । आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससीटी स्मार्ट क्यूआरको चौथो दिन अन्य दिनको तुलनमा अत्यधिक भिड रहेको छ । बुधबारदेखि सुरु भएको क्यान इन्फोटेकको २७औँ संस्करणमा शनिबार सार्वजनिक बिदा रहेका कारण र मौसम सफा रहेका कारण पनि अन्य दिनको तुलनमा सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी तथा विद्यार्थीहरूको भिड रहेको थियो ।

शनिबार मेलामा आएकाहरू आफूहरूले क्यान इन्फोटेक सुरु भएको ढिलो गरी थाहा पाएको तथा अवलोकन गर्न पाउँदा निकै उत्साहित भएको बताएका थिए । कोरोना महामारीका कारण प्रदर्शनी यसअघि दुई पटक स्थगित भएको थियो । कोरोना महामारीपछि सुरु भएको प्रदर्शनीमा आफूलाई उपयोगी हुने धेरै स्टलहरू रहेको र सूचना प्रविधिको बारेमा नेपालमा उपलब्ध पछिल्लो प्रविधिहरूमा जानकारी लिएको अवलोकनकर्ताहरूको भनाइ छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)का अध्यक्ष नवराज कुँवरका अनुसार यो वर्षको इन्फोटेक विगतको भन्दा धेरै फरक रहेको छ । आयोजकको उद्देश्यअनुसार इन्फोटेकमा प्रदर्शनीकर्ताको सहभागिता र अवलोकनकर्ताको चाहनाअनुसारका प्रविधि प्रदर्शनमा राखिएको छ ।

कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भिड लागेको अध्यक्ष कुँवरको भनाइ छ । उनका अनुसार रोबोटिक, इमर्जिङ टेक्नोलोजी, वाइफाइ तथा इन्टरनेटलगायत प्रडक्टहरूमा पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता छ । त्यसैगरी सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोलुसन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, सेक्युरेटी सोलुसन, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, एन्टिभाइरस र बैंकिङ लोलुसनसम्बन्धी सफ्टवयरलगायतका स्टलमा पनि अवलोककर्ताहरूको उल्लेख्य भिड लागेको छ ।

प्रविधिको प्रयोगबाटै टिकट काटेर अवलोककर्तालाई इन्फोटेक भ्रमण गराउने क्यानको योजनाअनुसार नै दर्शकहरूले इन्फोटेक भ्रमण गरिरहेको इन्फोटेकका सहसंयोजक समेत रहेका महासंघका उपाध्यक्ष रञ्जित कुमार पोद्दारले जानकारी दिए । उनका अनुसार आईएमई–पेमार्फत दैनिक हजारौँ मानिसले टिकट खरिद गरेर इन्फोटेक भ्रमणमा आएका छन् । त्यस्तै प्रविधिको प्रयोग गर्न नचाहनेहरूले सय रूपैयाँ तिरेर इन्फोटेक भ्रमण गरिरहेको उपाध्यक्ष पोद्दारको भनाइ छ । एक सयको टिकट काटेर भिजिट गर्नेको संख्या भने तुलनात्मकरूपमा कम रहेको उनको भनाइ छ । ‘प्रविधिको प्रयोगबाट १ रूपैयाँमै क्यान इन्फोटेक भिजिट गर्ने अवसर रहेको छ’, उपाध्यक्ष पोद्दारले भने, ‘यो मौकाको फाइदा उठाई सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा पोख्त बन्ने र अथाह ज्ञान लिने अवसरलाई खेर नफाल्न सम्पूर्णमा आग्रह गर्दछु ।’

शनिबार नै डिसहोमले नयाँ प्रडक्ट ‘क्याम्पस वाइफाइ’ सार्वजनिक गरेको छ । साथै शनिबार नै रमाइलो गेमले ‘ब्रान्ड च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेका कारण यी स्टलहरूमा अवलोकनकर्ताको अत्यधिक आकर्षण देखिन्थ्यो । प्रदर्शनीमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नास्ट)को प्रविधि संकायअन्तर्गत दक्षिण कोरियाली सरकारको औपचारिक विकास सहयोगमार्फत मुलुकमै उपलब्ध पहिलो घुम्ती सूचना पहुँच केन्द्रमा अवलोकनकर्ताहरूको आकर्षण देखिन्थ्यो ।

नास्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालका अनुसार सूचना प्रविधिमा पहुँच नभएका क्षेत्र र समूहलाई लक्षित गर्दै यो सूचना प्रविधिमैत्री बस तयार गरिएको हो र प्रदर्शनीमा सर्वसाधारणको जानकारीका निम्ति यसको प्रदर्शनी गरिएको हो । वातानुकूलित बसभित्र विद्यार्थीका लागि आवश्यक वाइफाइ, ल्यापटप, प्रोजेक्टर, स्क्रिन, इलेक्ट्रोनिक पोडियम, प्रिन्टर, भिजुअलाइजर, साउन्ड सिस्टम, स्पिकर, शौचालयलगायतका सुविधाहरू उपलब्ध छन् । यस आईसीटी मोबाइल बसमा एक पटकमा १८ जनाले तालिम लिन सक्ने गरी संरचना बनाइएको छ ।

नास्टले घुम्ती सूचना पहुँच केन्द्र नामक मोबाइल बसमार्फत मुलुकका ग्रामीण भेगमा पुगी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने उद्देश्य लिएको छ र सोका निम्ति क्यान महासंघसँग सहकार्य गरेको छ । घुम्ती सूचना पहुँच केन्द्रमार्फत विद्यार्थीलाई अभिमुखीकरण गर्ने, कम्प्युटरका कक्षा सञ्चालन गर्ने र साक्षरता बढाउनेलगायतका कामहरू भइरहेको नास्टले जनाएको छ । उपत्यकाबाहिर ७४ जिल्लामा रहेको आफ्नो नेटवर्कमार्फत यातायात पहुँच भएका सातवटै प्रदेशका स्थानीय तहसम्म प्रशिक्षकसहितको घुम्ती सूचना पहुँच केन्द्रमार्फत सहरी सुविधाबाट बञ्चित विद्यार्थी र अन्य जिज्ञासुलाई नास्टको बसभित्रै अनुशिक्षण कार्यक्रम बढाउने गरी क्यान र नास्टको सहकार्य हुने क्यान महासंघका महासचिव नारायण थापाको भनाइ छ ।

इन्फोटेकको २७औँ संस्करणमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनीमा घुम्ती सूचना पहुँचकेन्द्र पनि राखिएको छ । प्रदर्शनीमा अवलोकनकर्ताले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरूसँगै ‘सूचना प्रविधिमैत्री बस’को बारेमा जानकारीका साथ कम्प्युटरसम्बन्धी आधारभूत तालिम अथवा कम्प्युटरका ‘टिप्स एवं ट्रिक्स’ पनि सिक्न सकिने व्यवस्था नास्टले गरेको छ । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनी आगामी सोमबारसम्म जारी रहने छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x