Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालक्यान इन्फोटेकमा एसोसेरिजका स्टलहरूमा विशेष छुट

क्यान इन्फोटेकमा एसोसेरिजका स्टलहरूमा विशेष छुट


काठमाडौं । आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससीटी स्मार्ट क्यूआरको अन्तिम दिन सोमबार आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छुट तथा अफरहरूको व्यवस्था गरिने भएको छ ।

गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको ‘आईएमई–पे क्यान इन्फोटेक सोमबार समापन हुने आयोजकले जनाएको छ । इन्फोटेकको अन्तिम दिन पारेर आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छुट तथा अफरहरूको व्यवस्था गरिएको हो । यस्तै इन्फोटेकको पाँचौँ दिन सूचना प्रविधिसम्बन्धी कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको थियो । आइतबार अन्य दिनको तुलनामा विद्यार्थीहरूको अत्यधिक भिड रहेका कारण सनवे कलेज, सफ्टवारिका कलेज, कान्तिपुर सिटी कलेज, एनसीआईटी कलेज, एलबीईएफ कलेजलगायतका सूूचना तथा सञ्चार प्रविधिसम्बन्धी अध्ययन हुने कलेजहरूमा विद्यार्थीहरूको भिड देखिन्थ्यो ।

इन्फोटेकको इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज र एकाडेमिक पार्टनर सनवे कलेजले आफ्नो स्टल रहेका स्थानहरूमा विद्यार्थीहरूद्वारा निर्मित सेन्सरमा आधारित उपकरणहरू, थ्रीडी प्रिन्टिङ, मान्छेको क्रियाकलापमा आधारित इलेक्ट्रोनिक्स चार्जिङ, तीनपांग्रे गाडी, ड्रोन, साइकल रहेका कारण सोही विधामा अध्ययनरत विद्यार्थीहरू तथा अवलोकनकर्ताहरूमा आकर्षण देखिएको बताइएको छ । इन्फोटेकको सिल्भर प्रायोजक टेक्मिन्ट इन्नोभेसन्सको एआईमा आधारित च्याटबोट, भिडियो केवाईसी, कन्ट्राक्ट म्यानेजमेन्टमा पनि अवलोकनकर्ताको रुचि तथा आकर्षण देखिएको थियो ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी चासो राख्ने सर्वसाधारणदेखि पूर्वराजदूत, पूर्वसचिव र राष्ट्रियस्तरका कलाकाहरूले इन्फोटेक भ्रमण गरिसकेको आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)ले जनाएको छ । सो क्रममा आइतबार पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला, नायिका सुषमा कार्की, चर्चित हास्य कलाकारहरू दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रे’ र सागर लम्साल ‘बले’ तथा -याप गायक राजेन्द्र भट्ट ‘मिस्टर आरजे’लगायत अन्य विशिष्ट व्यक्तिहरूले पनि क्यान अवलोकन गरेका छन् ।

हरेक दिन कुनै न कुनै स्टलले नयाँ–नयाँ वस्तु तथा सेवा सार्वजनिक गरिरहेको प्रदर्शनी सोमबार अझ विशेष रहने महासंघका महासचिव नारायण थापाले बताए । उनका अनुसार फिन्टेक कम्पनी, इन्टरनेट सेवा प्रदायक तथा अन्य कम्प्युटर, ल्यापटप, मोबाइल र आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य सहभागिता छ । इन्फोटेकमा युवापुस्ता तथा सूचना तथा सञ्चार प्रविधिमा रुचि राख्नेहरूले स्टार्टअप तथा इन्नोभेसनमा रुचिपूर्वक अवलोकन गरेको उनको भनाइ छ ।

खासगरी कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्रान्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भिड लागेको क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मीको भनाइ छ । इन्फोटेकलाई सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न संघसंस्था तथा कम्पनीहरूले प्रायोजन गरेका छन् ।

महासंघका अनुसार क्यान इन्फोटेक, २०२२ को टाइटल स्पोन्सर आईएमई–पे, एसोसिएट स्पोन्सर एससीटी, स्मार्ट क्यूआर र युनियन–पे तथा प्लाटिनम स्पोन्सर वल्र्डलिंक कम्युनिकेसन छन् । त्यस्तै डायमन्ड स्पोन्सर डिसहोम फाइबरनेट, गोल्ड स्पोन्सरमा जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ हाउस लिमिटेड रहेका छन् । त्यसैगरी सिल्भर स्पोन्सरमा नमस्ते–पे, डिजिकम, एस पावर, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजीज र टेकमिन्ट रहेका छन् ।

त्यसैगरी इन्नोभेसन पार्टनरमा सफ्टवेरिका कलेज, एकेडेमिक पार्टनरको रूपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्स–ल्याब, ई–कमर्स पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रूपमा अल्ट्रा एलईडी रहेका छन् । यसैगरी प्रदर्शनीको अफिसियल बैंकको रूपमा ग्लोबल आईएमई बैंक र अफिसियल इन्स्योरेन्सको रूपमा आईएमई जनरल इन्स्योरेन्स रहेका छन् ।

इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सालगायतको सहयोग रहेको छ । इन्फोटकमा विभिन्न खण्डमा गरी कुल एक सय ७० वटा स्टल रहेका छन् । आईएमई–पेमार्फत दैनिक हजारौँ मानिसले टिकट खरिद गरेर इन्फोटेक भ्रमण गरिरहेका छन् । त्यस्तै प्रविधिको प्रयोग गर्न नचाहनेहरूले एक सय रूपैयाँ तिरेर इन्फोटेक भ्रमण गर्न सक्नेछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x