सुधारोन्मुख अर्थतन्त्र ?
काठमाडौं । विषय प्रवेश : यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पीवेत् । भष्मीभूतस्य देहस्य पुनरागमनं कुत : ।। चार्वाक्को सिद्धान्त हो यो, यसको अर्थ हुन्छ डढेर जाने शरीरको भर छैन, त्यसैले जति बाँचिन्छ ऋण गरेर भए पनि घिउ नै पिउनु पर्छ । पूर्वीय दर्शनको भौतिक सिद्धान्त हो यो । धर्म र अधर्मको नारा पहिले पनि थियो, अधर्मी, विधर्मीहरूको नेतृव्व त्यतिबेला चार्वाकले गर्थे र शुक्राचार्यजस्ता दैत्य गुरुहरू देवत्वको शक्ति क्षयीकरण गर्न र आयु घटाउनैका लागि मद्यपान, धुम्रपान, दूव्र्यसनी, जुवा आदिको लत सिकाउँथे । हिजोआजको परिवेश पनि यस्तै छ र त आज व्यक्ति मात्रै होइन पूरै देश ऋणको भारमा छ । दक्षिण एसियाको देश श्रीलंकाले ऋण तिर्न नसक्ने भनेको छ, यहाँ व्यापारघाटा चुलिएको छ ऋणको भार छ, अर्थतन्त्र सकटापन्न अवस्थामा छ, केन्द्रीय बैंकका गभर्नर सरकारको तारोमा परेका छन्, अर्थ मन्त्री भन्छन् देशको अर्थतन्त्र सुधारोन्मुख छ ।
काँग वामको सरकार र ऋण : लामो समयदेखि देशमा काँग वामको सरकार छ, दुई तिहाइको वामपन्थी सरकारपूर्व ०७४ फागुनमा प्रतिनेपाली २८ हजार सात सयको ऋण हुँदा अहिले ५६ हजार छ सयमा पुगेको छ । देशमा अहिले रुख चिह्नले नेतृत्व गरे पनि सरकार वामपन्थीकै भन्नुपर्छ, किनकि आउने स्थानीय चुनाव पनि हालकै गठबन्धनको अंशवण्डामा परेको छ । ०७८ चैत्र मसान्तसम्मको आँकडा हेर्दा देशमा सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब पुगेको छ विगत एक वर्षभित्र यो ६ दशमलम १० प्रतिशत अर्थात् दुई खर्ब ६५ अर्बले बढेर जीडीपीको ४३ दशमलव ४० प्रतिशतमा पुगेको हो । हालसम्म ७० अर्ब १६ करोडको सावाँ ब्याज भुक्तानी भएको र यसै आवभित्र थप ४० अर्ब भुक्तानी दिने सरकारी लक्ष्य छ ।
आव ०७७/७८ को आर्थिक सर्भेक्षणमा ०७७ फागुनसम्म खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड अर्थात् जीडीपीको ३७ दशमलव ३० प्रतिशत रहेको देखिन्थ्यो । हाल ६ दशमलव १० प्रतिशतले उकालो लाग्दा भविष्यमा यो अझै माथि जाने संकेत गर्छ । चालू आवमा सरकारले दुई खर्ब ३९ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भनेकोमा एक खर्ब पाँच अर्ब आन्तरिक परिचालन गरिसकेको र हाल आवको आठ महिनामा एक खर्ब १६ अर्बको बाह्य ऋण लिएकोमा १३ अर्ब ८८ करोड अनुदान पाएको एक खर्ब २९ अर्ब वैदेशिक ऋण र अनुदान परिचालन भइसकेको अर्थमन्त्रीको भनाइ छ ।
आयात निर्यात : संयोग भन्नुपर्छ, इतिहासमै देशको निर्यात खर्ब नाघेछ, यसपालि । अघिल्लो वर्ष ८० अर्ब ७७ करोड ८८ लाखको वस्तु निर्यात हुँदा हालको आठ महिनामा एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाखको निर्यात भएछ । के यो यहीँ उत्पादन बढेर हो ? होइन, विदेशबाट ल्याइएका सोयाबिन, पाम आयलका कच्चापदार्थलाई भ्यालु एड गराएर हो, भारतले पाम आयल निर्यातमा रोक लगाउने हो भने यो अंक स्वात्तै तल आउँछ । यो आफ्नो उत्पादन होइन, एक खर्ब ४७ अर्बको निर्यात गर्दा आधाआधी पाम आयल नै छ । गत वर्ष २३ अर्ब १२ करोड ६२ लाखको सोयाविन तेल निर्यात गर्दा यस पटक ४१ अर्ब ४० करोड १७ लाखको निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । पाम आयल निर्यात गर्दा ३५ अर्ब ३३ करोड ८० लाख कमाइएको थियो पहिले ।
आयातमा १ नम्बरमा छ इन्धन जसको आयात भएको छ एक खर्ब ८४ अर्ब ९८ करोड ४४ लाखको । अघिल्लो वर्ष ९८ अर्ब ८० करोड १२ लाखको आयात गर्दा अहिले विश्व बजारमा इन्धनको मूल्य बढेर यति धेरै भनिएको छ, जसमा पेट्रोलियम पदार्थ मात्रै दुई खर्ब १७ अर्ब ३० करोडको छ । खाद्यान्नमा ५६ अर्ब ९३ करोड ३६ लाखको आयात गर्दा तरकारी मात्रै २६ अर्बको आयात भएको छ, वनस्पति घिउ, तेल ९५ अर्ब १५ करोडको, औषधिमा पहिले १९ अर्ब १६ करोड ४१ लाखको आयात हुँदा हाल ५२ अर्ब २६ करोडको आयात देखिन्छ । हाल एक खर्ब ३७ अर्ब ८८ लाखको मेसिनरी आयात, पहिले १६ अर्ब ३६ करोड २५ लाखकोे सुन आयात हुँदा हाल ३२ अर्ब ६८ करोड ४१ लाखको, पहिले चाँदी तीन अर्ब ८४ करोड ९८ लाखको आयात हुँदा हाल १५ अर्ब ३६ करोड ६४ लाखको आयात भएको देखिन्छ । अघिल्लो फागुनसम्ममा नौ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाखबराबरको सामान आयात हुँदा चालू आवको ८ महिनामा १३ खर्ब ८७ अर्ब ३४ करोड ८५ लाखबराबरको सामान आयात भएको छ । पहिले आठ खर्ब ६३ अर्ब व्यापारघाटा भएको र अहिले आठ महिनामा ३४ दशमलव ५० प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब ९८ करोड पुग्दा देशका अर्थमन्त्री अर्थतन्त्र सुधारोन्मुख छ भन्दै छन् ।
विदेशी मुद्रा : गत असारसम्म ११ अर्ब ७५ करोड यूएस डलर विदेशी मुद्रा सञ्चिति रहेकोमा हाल १८ दशमलव ५ प्रतिशतले कमी आई नौ अर्ब ५८ करोड कायम छ भने नेपाली मुद्रामा यो सञ्चिति १६ दशमलव ३ प्रतिशतले कमी हो । गत असारसम्म १३ खर्ब ९९ अर्ब ३ करोडबराबरको विदेशी मुद्रा विनिमय सञ्चितिमा हाल फागुनसम्ममा ११ खर्ब ७१ अर्बमा झरेको, राष्ट्र बैंकबाहेक अन्य वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति गत असारमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा हाल शून्य दशमलव ९ प्रतिशतले कमी आई जम्मा एक खर्ब ५२ अर्ब ९५ करोड मात्र छ । चालू खाताघाटा उच्च रहेको भुक्तानी, सन्तुलन घाटामा रहँदा, अर्थतन्त्र धानिरहेको विप्रेषण १ दशमलव ७ प्रतिशतले कमी हुँदा, आव ०७८/७९ मा उपभोक्ता मूल्य वृद्धिदर औसत ६ दशमलव ५ मा राख्ने, आर्थिक पुनरुत्थान गरी अर्थतन्त्र विस्तारमा सहयोग पुग्ने गरी तरलताको व्यवस्थापन गर्ने भन्ने मौद्रिक नीतिको उल्टो नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको औपचारिक मूल्य वृद्धि खाद्य तथा पेय पदार्थको दर ७ दशमलव ५ प्रतिशत, गैरखाद्य पदार्थको एवं सेवा समूहको मूल्यवृद्धि ६ दशमलव ८४ प्रतिशत देखिँदा पनि देशका अर्थमन्त्री यहाँको अथतन्त्र सुधारोन्मुख छ भन्दै छन् ।
अर्थमन्त्री र नेरा बैंक : देशमा लोकतन्त्र छ भने राजनीति शक्ति पृथकीकरणको सिद्धान्तमा चल्दछ, लिंकन पढेका व्यक्ति थिएनन् तर व्यवहारिक ज्ञान बढी राम्रो हुन्छ, उनलाई अहिले पनि प्रजातन्त्रका पिता भनिन्छ, देशमा विधायिका, कार्यपालिका र न्यायपालिका स्वतन्त्र अँगहरू हुन्, ती कानुनले बाँधिएका हुन्छन्, त्यसो त संवैधानिक निकाय लागयत केन्द्रीय बैंक पनि निश्चित कानुन अनुसार सन्चालित हुने हुन् । तर हामी कहाँ त्यस्तो छैन, दलले फँणा उठाएपछि सिद्धियो, केही बाँकी रहन्न । त्यसो त केन्द्रीय बैंकका गभर्नर एवं कार्यपालिकाका अर्थमन्त्री बीच संसारमै विवाद नहुने होइन । अर्थमन्बीले पपुलर अर्थनीतिको घोषणा गर्दा गैर राजनैतिक संस्था केन्द्रीय बैंकले मौद्रिक नीतिद्धारा अँकुश लगाई चेक एण्ड व्यालेन्सको काम गरेको हुन्छ । विवाद पछि हेरौँला अहिले गभर्नर नहटाऊ है भन्यो अदालतले, अचम्म, जे कुरामा पनि अदालतमा धाउनु पर्ने धन्न, संघियताको देश । चुनावअघि राजीनामा पनि गराउने भयो, नत्र त हुन्न भन्याथ्यो दलले त । बैंकहरूमा तरलताको अभाव, विलासिताका सामानको वृद्धि, बजारभाउ असामान्य भएको हामीले देखेका हौँ र आयात उच्च र व्यापारघाटाको वृद्धि अनि सन्चित मुद्राको कमी माथिको तथ्याँकले पुष्टि गरेको हो ।
यसैबीच राष्ट्र बैंकले विलासिताका बस्तु आयातमा प्रतिबन्ध, सवारी आयातमा कडाइ गरेको त्यो पनि गभर्नर प्रत्यक्ष संलग्न नभई बैंकका सि इ ओ हरूलाई बोलाएर भनेको प्रचारमा आएको हो, पछि गाडी आयात भन रोकेको देखियो । सबैभन्दा बढी गाडी आयात हुने भंसार नाका बीरगन्जमा गाडी रोकिए भन्ने सुनियो, देखियो पनि, यी यस्तै विषयमात्र हुन् भने छलफलबाट मुद्दा टुँग्याइनु राम्रो हुन्थ्यो, बैंकका गभर्नरलाई नै निलम्बनमा राख्दा संस्थागत मेमोरीको प्रश्न आउँछ, अर्थमन्त्री आफू पद बहाल गरेकै बेला आफू अर्थविज्ञ होइन भनेर आफैंले भनेका थिए, र फेरि सरकार गठबन्धनको छ, एकाकी पनि होइन । अन्तर्राष्ट्रिय चित्र श्रीलंका, टर्की, सिरिया, पाकिस्तानको हेर्दा नराम्रो लाग्दैछ, यद्यपि नेपाललाई श्रीलंका उन्मुख भन्नु राष्ट्रघात हो भन्दैछन्, नेतृत्वमै बस्नेहरू । नेतृत्वको जिम्मेवारी राम्रो नहुँदा निर्यातमा अब्बल भएको रसिया, युक्रेनलाई समेत असहज भएको छ अहिले, हामी त जहिले पनि आयातमुखी नै हौँ । परामुखी अर्थतन्त्र बोकेकालाई संकट नआउने भन्ने हुन्न ।
संस्कार र उपसंहार : यहाँ खर्च कटौती छैन, दस उपदेशभन्दा एक उदाहरण बलियो हुन्छ, अनावश्यक भ्यूटावर ठडिए, देशमा, दौरा न सौराको खल्ती भने पुर्खाले, कम खाए, प्रांगारिक खाए, अहिले खानुभन्दा देखाउनु बढी छ, पहिले सुकुलगुण्डा भनिन्थ्यो यस्तो बानीलाई, सामान्य कमिज सुरुवाल लगाएर पैदल स्कूल जाने हाम्रो बानी अहिले पनि जीउभरि जम्मा एकहजार मात्रको लुगा, जुत्ता लगाएर पैदल वा सामान्य सार्वजनिक गाडी चढेका छौँ, सादा खानाले जीवन चलेको छ, तर अहिलेको नयाँ र भाग्यमानी भनिएकाहरू स्कूल जाँदै पल्सर मोटरसाइकल, हप्तामा ४ पल्ट मासुभात, ६० हजारको मोवाइल, रेष्टुराँको खाजा मर्काउँदा के पो बस्नु यो देशमा, जाने हो विदेश भन्दै जग्गा बिक्री गर्न बाध्य पार्दैछन् अभिभावकहरूलाई । अनि समाज कस्तो हुने, देश कस्तो हुने ? एउटा प्रतिनिधि केस, विद्युत उत्पादन गर्ने संस्था एन इ ए ले २० वटा विद्युतीय गाडी किनेछ, अब त्यो ट्रलिबस जस्तै थन्किने बा के हो, सवारी चालकले चलाउन मानेनन् रे । तलवभन्दा बढी तेल, मर्मत खर्च, मोविल, ब्रेक आयल भन्दै वर्कशपको बिललाई स्टोर इन्ट्री गर्न नपाउने झोकमा उनीहरूले इन्धनको माइलमिटर नदेखाउने विद्युतीय गाडी चलाउन किन चाहन्थे र, यो रोग यिनको होइन, कोरोनाभन्दा बढी स्पीडमा रहने सरुवा रोग हो, मुहान जस्तो छ, पानी उस्तै आउने हो, दल बदल, गठजोड, राजदूत र आफन्त नियुक्ति विचरा सवारी चालकहरूले नबुझ्ने कुरै हुन्न । त्यसैले इमान्दारिता श्रीगणेशाय नम बाटै शुरु नभएसम्म देशको हालत हुने सधैँ यस्तै हो, नभए त ऋणं कृत्वा घृतं पीवेत् हुने हो किनकि देशमा धर्म हराइसकेको छ, निष्ठा, र नैतिकताकोे खडेरी परेको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया