Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान इन्फोटेक सम्पन्न, सवा दुई लाख अवलोकनकर्ताद्वारा अवलोकन

क्यान इन्फोटेक सम्पन्न, सवा दुई लाख अवलोकनकर्ताद्वारा अवलोकन


काठमाडौं । क्यान महासंघले आयोजना गरेको क्यान इन्फोटक सम्पन्न भएको छ । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा छ दिनसम्म आयोजना भएको आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससीटी स्मार्ट क्यूआर सफलतापूर्वक सम्पन्न भएको क्यानले जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी देशको एकमात्र प्रदर्शनीको यो २७औँ संस्करण हो । यसअघि कोभिड १९ का कारण यो प्रदर्शनी दुई पटकसम्म स्थगित भएको थियो । यो संस्करणमा करिब सवा दुई लाख अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गरेको क्यानले जनाएको छ । दुई वर्ष अगाडि भएको क्यान इन्फोटेकको २६औँ संस्करणमा भने करिब साढे तीन लाख जनाले अवलोकन गरेका थिए । एसईईको परीक्षा, त्रिभुवन विश्वविद्यालयअन्तर्गत विभिन्न संकायमा भइरहेको परीक्षा, कलेजहरुको पूर्वबोर्ड परीक्षा, स्थानीय चुनाव तथा यससम्बन्धी निर्वाचन आयोगको आचारसंहिता, पछिल्लो दुई दिन स्थानीय तह निर्वाचनको लागि राष्ट्रिय सभागृहमा मनोनयन दर्ता गर्ने कार्यक्रम, अघिल्लो दुई दिन वर्षाको अवरोधका कारण अवलोकनकर्ताको संख्यामा कमी देखिए पनि यसलाई स्वाभाविक लिनुपर्ने क्यान महासंघको धारणा छ । यस्तै इन्फोटेकमा आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छुट तथा अफरहरूको व्यवस्था गरिएकोमा प्रायःजसो स्टलहरुले छुट तथा अफरहरूलाई आगामी १–२ महिनासम्म कायम राख्ने क्यान महासंघलाई जानकारी गराएका छन् ।

प्रदर्शनीको छ दिनको अवधिमा नेपालका लोकप्रिय कलाकारलगायत समाजमा चर्चित व्यक्तित्वहरुले प्रदर्शनीमा उपलब्ध सूचना तथा सञ्चार प्रविधिको अवलोकन गरेका छन् । यसैगरी लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली तथा आयोगका सदस्यहरु, सांसदहरु, पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइरालालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, विभिन्न नियोगमा कार्यरत कर्मचारीहरुले पनि प्रदर्शनीको अवलोकन गरेका छन् । क्यान इन्फोटेकको स्टार्टअप र इन्नोभेसन खण्डमा रहेका २६ वटा स्टलहरुमा सबै दिन नै अवलोकनकर्ताको आकर्षण देखिएको थियो । अवलोकनकर्ताहरुले स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता दिने क्यान महासंघको निर्णयको स्वागत गरेका छन् । इन्नोभेसनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको थियो भने स्टार्टअपका निम्ति सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेर प्राप्त आवेदनहरुबाट छनौट गरिएको थियो ।

आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससीटी स्मार्ट क्यूआरको उत्कृष्ट स्टलको पुरस्कार वल्र्डलिंक कम्युनिकेसन लिमिटेड तथा उत्कृष्ट स्टार्टअपको पुरस्कार बीआईसी टेक्नोलोजी प्रालिले जितेका छन् । उत्कृष्ट स्टलको पुरस्कार मूल्य ५० हजार रुपैयाँ रहेको छ भने उत्कृष्ट स्टार्टअपलाई राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा पुरस्कृत गर्ने क्यान महासंघको योजना रहेको छ । क्यान इन्फोटेक २०२२ मा १७० स्टलहरु विभिन्न खण्डमा रहेका थिए जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेसन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ मुख्य खण्ड रहेका थिए ।

२७औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पेले गरेको थियो भने सह–प्रायोजक एससीटी स्मार्ट क्यूआर युनियन पे रहेको थियो । इन्फोटेकको प्लाटिनम प्रायोजक–वल्र्डलिंक कम्युनिकेसन, डायमण्ड प्रायोजक– डिस होम फाइबरनेट, गोल्ड प्रायोजकमा– जेनेरेसन नेक्स्ट र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, सिल्भर प्रायोजकमा– नमस्ते पे, डिजिकम, एस–पावर बीपीई, ब्रोडवे इन्फोसिस, हुवावे टेक्नोलोजी र टेकमिन्ट रहेका थिए । त्यसैगरी इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज, एकाडेमिक पार्टनरको रुपमा सनवे कलेज, लजिस्टिक पार्टनरमा एक्सल्याब, इकमर्स पार्टनर सोचेको डट कम र डिजिटल डिस्प्ले पार्टनरको रुपमा अल्ट्रा एलईडी थिए ।

क्यान इन्फोटेकको यो संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरी भर्चुअल प्रदर्शनी समेतको व्यवस्था गरिएको थियो । उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसँग सहकार्य गरेको थियो । त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबानसँग सहकार्य गरिएको थियो भने प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आईएमई बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आईएमई जनरल इन्स्युरेन्स रहेका थिए ।

इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसिएसन अफ नेपाललगायत अन्तर्राष्ट्रिय संस्था विट्सा, असोसियोको सहयोग एवं समर्थन थियो । इन्फोटेकको यस संस्करणको वैशाख ७ गते एक समारोहका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरेका थिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x