Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘गरिब श्रमिकका दिन फेरिएनन्’

‘गरिब श्रमिकका दिन फेरिएनन्’


कञ्चनपुर । कञ्चनपुरको गर्मी निकै बढेको छ । तापक्रम बढेर ३६ डिग्रीभन्दा माथि पुगेको छ । चर्काे घामले सडकमा हिँड्न निकै कठिन छ । नजिकिँदै गरेको बिशु पर्व मनाउन भारतबाट दाजुभाइ र आमाबुबाहरू घर फर्किने लर्काे दिनप्रतिदिन बढिरहेको छ । यसैमा पूर्णागिरीको मेलाले हुलका हुल भारतीयहरू पूर्णागिरी र महेन्द्रनगरमा रहेको सिद्धबाबाको दर्शन गर्न ओहोरदोहोर गरिरहेका छन् ।

शनिबार भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीका जानकी कामी दुई नाबालक छोरा घरमा छाडेर प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरी महाकाली नदीको बगरमा बालुवा छान्दै गरेको अवस्था भेटिइन् । दैनिक गुजारा चलाउन निकै सकस हुन थालेपछि विगत लामोदेखि महाकालीको बगरमा श्रम गरिरहेकी उनले दुई वर्ष भने कोरोना महामारीका कारण काम गर्न नपाएको बताइन् । ‘श्रीमान् सहचालकको काममा हुनुहुन्छ, मचाहिँ दुई नाबालक छोरा आमालाई हेरचाह गर्न लगाएर बालुवा र गिट्टी छान्न यहाँ आउँछु’, उनले भनिन्, ‘यस्तो गर्मीमा बगरमा कष्टपूर्ण काम गर्ने कसलाई रहर हुन्छ र बाध्यताले यहाँ आएकी हुँ ।’ उनले बगरको कमाइले छोराहरूका लागि कापी, कलमका साथै दैनिक रासन किन्ने गरेको बताइन् ।

यस्तै ५८ वर्षीया मानमति सार्कीले विगत १५ वर्षदेखि महाकाली नदीमा बालुवा चाल्दै आएको बताइन् । उनलाई महाकाली नदिमा पुग्न घरबाट करिब डेढ घन्टा हिँड्नुपर्छ । चार जनाको परिवार पाल्न उनलाई बालुवा चाल्नुको विकल्प छैन । दिनभरि बालुवा चालेर उनले पहिला एक हजारसम्म कमाउँथिन् तर अहिले उमेर पाको हुँदै गएपछि भने पहिलेझैँ काम गर्न नसकेको दिनमा पाँच सय रुपैयाँ मात्रै कमाउने गरेकी छिन् । दिनभरि बालुवा चालेर कमाएको पैसाले नै घरमा रासन, नुन, तेलको जोडजाम गरिरहेको उनी बताउँछिन् । यस्तै ओदालीमै बस्ने सानुदेवी सुनार पनि महाकालीमै बालुवा चालेर दैनिकी चलाइरहेकी छिन् । विगत १० वर्षदेखि उनले पनि यही काम गरिरहेको सुनाइन् । उनका श्रीमान्ले पनि श्रमिक काम गरिरहेका छन् ।

महाकाली नदीमा काम गर्ने करिब एक हजारभन्दा बढी श्रमिकहरूको पीडा लगभग उस्तै उस्तै छ । महाकाली नदीले वर्षायाममा बगाएर ल्याएको ढुंगा गिट्टी र बालुवा निकाल्ने काम असोजदेखि सुरु हुन्छ । यहाँ दलित र विपन्न समुदायका अधिकांश महिला यतिबेला बालुवा र गिट्टी छान्दै छन् । नदीको तटीय क्षेत्रका साथै कञ्चनपुरको शुक्लाफाँटा, बेल्डाँडी र बेलौरी नगरपालिकालगायत क्षेत्रका बासिन्दा दैनिक गुजारका लागि बालुवा छान्न आएका भेटिन्छन् । बेल्डाँडी र बेलौरीबाट आएकाहरू बगरमा झोपडी बनाएर श्रम गरिरहेका छन् । महाकाली नदीमा मजदुरी गर्नेहरूबाट प्रतिट्रली बालुवा एक हजार र गिट्टी दुई हजार रुपैयाँमा बिक्री भइरहेको छ । ‘यो पटक त निर्माण सामग्री महँगो भएर हो कि के हो ? ट्र्याक्टर पनि बालुवा, गिट्टी लिन धेरै आएका छैनन्’, भीमदत्त नगरपालिका–१३ बडैपुरका ७० वर्षीय नरी परीले भनिन्, ‘एक हप्ता भयो, संकलन गरेको सामान नै बिक्री भएको छैन ।’

आफन्तले दिएको तटीय क्षेत्रको घडेरीमा झोपडी बनाएर बसेका बाजुराका परीले पनि आफ्नो रोजगारीको गन्तव्य नै नदीको बगर भएको बताइन् । ‘पहाड बाजुरा घरमा खोलाले छोरा बुहारी नै बगाएपछि म विरक्त भएर यहाँ झरे’, उनले भनिन्, ‘कोरोनाका बेला राहतले भोक ट¥यो, अहिले नदीमा बालुवा छान्दै छु ।’ असोजदेखि जेठ मसान्तसम्म बगरमा श्रम गर्दै आएकी उनले असोजदेखि भदौसम्म भने गाउँमा ज्याला मजदुरीमा लाग्ने बताइन् । बडैपुरकी ६८ वर्षीया वैशाखी सुनार पनि बगरमा तीन पुस्तासँगै बालुवा छान्दै गरेको अवस्थामा भेटिइन् । ‘यो पालि महाकाली नदीमा आएको बाढीले धानको दानासम्म देख्न पाएनौँ’, उनले भनिन्, ‘के गर्ने हजुर, दिनभरि बगरमा काम नगरी बेलुकी घरको चुहो बल्दैन ।’ बुहारी र २१ वर्षीय नातिनीसहित बगरमा श्रम गरेको एक दशक नाघेको सुनारको भनाइ थियो । ‘छोराले बुहारी छाडेर अन्तै विवाह गरेर हिँड्यो, बुहारी र नातिनी लिएर काम गर्दै जीविका चलाउँदै छु,’ उनले भनिन्, ‘नातिनी अञ्जुले पनि घरको अवस्थाले तीन वर्षअघि दश कक्षामै पढाइ छाडिन् ।’

आमा र बज्यैसित बालुवा छान्दै गरेकी अञ्जुले पनि बगरमा काम गर्न आउनु आफ्नो बाध्यता भएको सुनाइन् । ‘कुनै सीप सिकेर आयमूलक काममा लाग्न पाएको भएको भए हुन्थ्यो भन्ने सोचमा छु’ अञ्जुले भन्छिन्, ‘तर के गर्नु माथिल्लो तहमा आफ्नो पीडा सुनिदिने कोही भएनन् ।’ त्यस्तै बडैपुरकी जुना लुहार पनि आधा दशकदेखि बगरकै काममा पाएको ज्यालाको भरमा जीविका चलाउँछिन् । ‘दाल, चामलदेखि छोराछोरीको कापीकलमका लागि बगरमा काम नगरी हुँदैन’, उनले भनिन्, ‘बालुवा र गिट्टीको समयसापेक्ष मूल्य भएन ।’ निकै कष्ट गरेर छानेको बालुवा अन्यत्रभन्दा सस्तोमा बिक्री गर्नुपरेको लुहारको भनाइ थियो । महाकाली नदीमा उत्तर भुजेलादेखि दक्षिणमा बडैपुरसम्म दैनिक करिब एक हजार मानिसहरूले बालुवा÷गिट्टी छान्ने काम गर्छन् । दलित र विपन्न समुदायसँगै तटीय क्षेत्रका अन्य समुदायका महिला तथा पुरुष पनि फुर्सदका बेला बगरमा बालुवा/गिट्टी छान्न जाने गरेको स्थानीयवासीको भनाइ छ ।

यस्तै यस क्षेत्रका अन्य श्रमिकहरूको दैनिकी पनि निकै कष्टकर रहेको छ । भीमदत्त नगरपालिका ६ ऐठपुरका विष्णु लुहारले विगत लामो समयदेखि आरन चलाउँदै आएका छन् । यही आरन नै उनको रोजीरोटीको आधार बनेको छ । हरेक दिन उनी बिहानदेखि बेलुकासम्म आरनमै भेटिन्छन् । तर यसको आम्दानीले मात्र १२ जनाको परिवार धान्न मुस्किल गरेको लुहारले बताए । यसैमा बढ्दो महँगीले परिवारमा झन् पीडामाथि पीडा थपिरहेको उनले सुनाए । २० वर्षदेखि उनले चलाउँदै आएको आरनमा छोरा सन्तोष लुहारले पनि साथ दिँदै आएका छन् । दुवै बाउछोराको मिहिनेतले घरपरिवारको जोहो गर्न त परै जाओस् हातमुख जोड पनि धौधौ हुनेगरेको लुहार बताउँछन् ।

मुक्तकमैयाहरू पनि समस्या उस्तै : जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बस्ने वीरेन्द्र चौधरी विगत तीन वर्षदेखि झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आएका छन् । ‘दैनिक व्यापारीले ट्रकमार्फत ल्याउने सिमेन्ट झार्ने राख्ने कार्य गर्दै आएका छौँ’, उनले भने, ‘यो काममा हामी दश जना छौँ ।’ आर्थिकरुपमा विपन्न भएकै कारण जीविका चलाउनका लागि युवाले सो कार्य गर्दै आएका छन् ।

‘कुन गाडीमा कति सिमेन्ट आउँछ त्यहीअनुसार कमाइ हुन्छ’, जितराम चौधरीले भने, ‘औसतमा एक जनाले दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म कमाइ गर्दै आएका छौँ । सामान नआएका बेला कमाइ हुँदैन ।’ ढुवानीका साधनमा सिमेन्ट राख्दा प्रतिबोरा १० रुपैयाँ पाउने र झार्दा भने प्रतिबोरा आठ रुपैयाँ मात्रै पाउने उनीहरूले बताए । सिमेन्ट सरिया राख्ने झार्ने कार्य गर्नु निकै जोखिमपूर्ण भएकाले श्रमको मूल्य बढाउन माग गर्दै आए पनि व्यापारीले नबढाउँदा थोरै रकममा काम गर्नुपरेको उनिको भनाइ रहेको छ ।

‘सिमेन्ट लोड अनलोड गर्दा धुलो पूरै नाक, मुख र आँखाभित्र पस्ने गरेको छ । शरीर पूरै धुलोका कारण ढाकिने गरेको छ । यस्तो जोखिम हुँदाहँुदै पनि परिवार पाल्ने अर्को माध्यम नहुँदा यस कार्यलाई निरन्तरता दिँदै आएका छौँ’, सन्तोष रानाले भने, ‘यस कार्य गरेबापत पाइने पारिश्रमिकले परिवारका लागि आवश्यक पर्ने नुन, तेल, चामल, तरकारी, लत्ताकपडासहित घरको सबै खर्च बेहोर्नुपर्ने हुन्छ । बालबालिकाको विद्यालयको खर्चसमेत यसबाटै चल्ने गरेको छ ।’ जोखिमको कार्य भए पनि व्यापारीले सुरक्षाका साधन उपलब्ध नगराएको उनीहरूको गुनासो छ । ‘पारिश्रमिकका रुपमा पाइने थोरै कामले सुरक्षाका साधन खरिद गरेर ल्याउने क्षमता पनि छैन’, उनले भने । सरिया सिमेन्ट लोड अनलोडको कार्य पहिला भारतीय मजदुरले मात्रै गर्दै आएका थिए । उक्त कार्य अहिले यहाँका मुक्त कमैया बस्तीका युवाहरूले गर्दै आएका छन् ।

Open photo

गरिबी र बेरोजगारीको भयावह चिन्ता : देशमा पर्याप्त रोजगारका ठाउँहरू नहँदा युवाहरूलाई बेरोजगारी र गरिबीको चिन्ताले निकै सताउने गरेको छ । महेन्द्रनगरका सुरेर भट्ट स्नात्तकोतर तह उत्तीर्ण गरेर बसेका छन् । उनलाई आफूले सोचेअनुसार काम नपाउँदा भविष्यप्रति निकै चिन्तित भएको बताएका छन् । ‘काम खोजिरहेको छु, खासै गर्न लायक काम भेटिन्न’, उनले भने, ‘महँगी यति बढेको छ, एक कप चिया खान सकिएलाजस्तो छैन, हप्ता–हप्तामा तेलको मूल्य बढिरहेको छ । खानेतेल आधा लिटरको डेढ सय रुपैयाँ पुगिसकेको छ ।’ युवाहरू बेरोजगार हुँदा आफूलाई आफ्नो भविष्य कस्तो हुने हो भन्ने चिन्ता लागेको भट्टले भताए ।

‘विदेश जानबाहेक अर्काे विकल्प छैन, विदेश जान पनि पैसा छैन, जिन्दगी नै गरिब र बेरोजगार भएर बित्ने भयो’, उनले भने । भट्टको मात्रै होइन उनीजस्ता हजारौँ व्यक्तिहरू छन्, जसले न रोजगारी पाएका छन् न त कुनै व्यवसाय नै गर्न पाएका छन् । सरकारले उनीहरूलगायत समग्र देश र जनताको कल्याणका लागि देशमा रोजगारी सिर्जना गर्नु अति आवश्यक रहेको स्थानीय बुद्धिजीवी बताउँछन् । अझ स्थानीय सरकार यसका महत्वपूर्ण जिम्मेवारी रहेको देखिन्छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x