मजदुरको अधिकार र श्रमिक दिवस
काठमाडौं । आइतबार विश्वभरिका मजदुरहरूले अधिकार पाएको दिनको रूपमा विश्वभरि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो । यो दिवस श्रमिकहरूको एकता, वीरता र संघर्षको प्रतीकका रूपमा मनाइने मे दिवसको ऐतिहासिक महत्व रहेको छ । जतिबेला श्रमजीवी वर्गले आफ्नो अधिकार के हो भनेर भर्खर–भर्खर सुसूचित हुन प्रारम्भ गर्दै गरेका अवस्थामा उठेको आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको नारा बोकेर अमेरिकाको सिकागो सहरका श्रमिकहरूले गरेको मजदुर आन्दोलनमाथि भएको भीषण दमनपश्चात् प्राप्त सफलताको सम्झनामा विश्वव्यापी रूपमा मजदुर वर्गले मनाउने गरेको यो दिवसले संसारभरिका मजदुरवर्गको जीवनमा ठूलो अर्थ राख्छ । यसर्थ सिकागो मजदुर आन्दोलनभन्दा पहिलाका श्रमिकहरूले दिनमा १८ देखि २० घन्टासम्म काममा लाग्नुपर्ने बाध्यता बेहोरिरहेका थिए । जसको विरुद्ध भएको सिकागो आन्दोलन नै त्यस्तो आन्दोलन थियो जुन आन्दोलनको सफलतापछि अमेरिकाका श्रमजीवी जनताको जीवनमा आमूल परिवर्तन आयो । यसको साथै अमेरिकास्थित सिकागो सहरका मजदुरहरूले देखाएको यो वीरतापूर्ण आन्दोलनको सन्देशले विश्वव्यापी रूपमा एउटा ठूलो हलचल पैदा ग-यो । फलस्वरूप लेनिनको नेतृत्वमा रुसमा १९१७ को अक्टोबर क्रान्ति सम्पन्न भयो र विश्वकै इतिहासमा पहिलो पटक श्रमजीवी वर्गको समाजवादी राज्यसत्ता स्थापना भयो । हुन त १८७० मा भएको पेरिस कम्युनको विद्रोहले पनि मजदुर वर्गीय सत्ता हासिल त गरे तर त्यो ७२ दिनमै ढल्न पुग्यो ।
तर, रुसमा लेनिनको नेतृत्वमा भएको क्रान्तिले भने दीर्घकालीन रूप धारणा ग-यो । त्यति मात्र होइन रुसी क्रान्ति मजदुर वर्गको नेतृत्वमा भएको व्यवस्थित क्रान्ति पनि थियो । अक्टोबर क्रान्तिको प्रेरणाबाट पछि अरु धेरै देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादी क्रान्तिहरू सम्पन्न भए पनि हालसम्म आइपुग्दा त्यो एउटा इतिहासमा मात्र सीमित भएको छ । यस दिन श्रमिकहरूले दैनिक रूपमा आठ घण्टा कार्य गर्ने वातावरणका लागि भनेर आन्दोलन गरेकोमा अपरिचित एक जनाले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरै जना निर्दोषहरूको ज्यान गएको आततायी घटनाको सम्झनास्वरूप मे १ मनाउन थालिएको हो । स्मरण रहोस् त्यो आन्दोलनपूर्व सामान्यरूपमा संसारभरिका कामदारहरूले दैनिक १६ घन्टासम्म पनि कार्य गर्दथे, मे दिवसले श्रम क्षेत्रमा एउटा युगान्तकारी परिवर्तन ल्याएको छ र आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनवाट सुरु गरिएको हो । शनिबारको दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको बिदा अनि कार्यालय समयको निर्धारण गरी आठ घण्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए । अमुक श्रम सहिदहरूको सम्झना पनि गर्न जरुरी छ । विगत वर्षहरूमा झैँ यो वर्ष पनि नेपाली श्रमबजारमा अन्तर्राष्ट्रिय श्रमिक दिवस १–मेको रौनकता देखिएको छ । विश्वभरिका श्रमिकहरूले आफ्नो विजय उत्सवको रूपमा मनाइने यो दिवसले सधैँ नै उत्तिकै महत्व राख्छ ।
हाम्रो देशको सन्दर्भमा कुरा गर्ने हो भने पनि नेपाली श्रमिक दाजुभाई तथा दिदीबहिनीहरूको साथ नहुने भए २००७ सालदेखि २०४६ साल अनि २०६३ सालसम्मको आन्दोलन सफल नहुने कुराको साक्षी इतिहास छ । अब त श्रमको परिभाषा नै फराकिलो भएको छ, यस फराकिलो दायरामा हामी धेरै जना नेपालीहरू अटाउँदछौँ । अहिले उत्पादन क्षेत्रमा वैज्ञानिक पद्धति प्रवेश गरिसकेको छ । पहिला धेरै उत्पादनलाई धेरै श्रमशक्ति लगाउनुपर्ने अवस्था थियो । अहिले थोरै श्रमबाट धेरै उत्पादन गर्नसक्ने प्रविधिको विकास भएको छ । अहिले आणविक ऊर्जाको जमाना छ । विद्युतीय सञ्चारजगतले विश्व खाएको छ ।
वर्तमान युग साइबर युग बनेको छ । वर्तमान विश्वमा श्रमिक आन्दोलनभन्दा जातीय, धार्मिक आन्दोलन प्रबल बन्दै गएका छन् । आतंकवादले विश्व हल्लाइरहेको अवस्था छ । नयाँ–नयाँ आर्थिक शक्ति राष्ट्रहरूको उदय भइरहेको छ । आर्थिक विकासको गति नयाँ क्षेत्रहरूमा सरिरहेको छ भने श्रमिक आन्दोलनको प्रकृति पनि परिवर्तन भएको छ । यस्तो अवस्थामा नेपालको ट्रेड युनियन आन्दोलनको नेतृत्वपंक्तिले पनि श्रमिक आन्दोलनको ढाँचालाई नयाँ ढंगले रूपान्तरण गर्नुपर्ने जरुरी भएको छ ।
अहिले नेपालको श्रम बजार लथालिंग अवस्थामा पुगेको छ । देशका सत्तरी प्रतिशतभन्दा बढी उद्योगहरू यो पन्ध्र वर्षको दौरानमा बन्द भइसकेका छन् भने बाँकी उद्योगहरू पनि रुग्ण र जीर्ण अवस्थामा पुगेका छन् । उद्योगपतिहरू मुलुकमा विद्यमान राजनीतिक अस्थिरताको सिकार हुन बाध्य भएका छन् भने श्रमिक वर्ग पनि सामाजिक सुरक्षाको अभावमा छटपटिनु पर्ने अवस्थामा छन् । मुलुकको मजदुर आन्दोलनका अगुवाहरू असफल राजनीतिक नेतृत्वको झोला बोक्नमा व्यस्त छन् भने मजदुर नेतृत्वले श्रमजीवी वर्गको आधारभूत मागहरूलाई सम्बोधन गर्न नसकेको अवस्था छ । ट्रेड युनियन महासंघहरू नेपालको ट्रेड युनियन आन्दोलनलाई आईएनजीओको पोल्टामा हाल्ने होडबाजीमा छन् र मजदुर आन्दोलनलाई निरन्तर प्रतिगामी दिशातिर धकेलिरहेका छन् । अहिले नेपालको मजदुर आन्दोलन सैद्धान्तिक रूपमा ट्रेड युनियनवाद र अर्थवादमा फसेको छ ।
मजदुर आन्दोलनले नेपाली समाजमा जुन प्रकारको राजनीतिक योगदान दिनुपर्ने हो त्यो गर्न नसक्ने असक्त र बिरामी भएको छ । नेपाली मजदुर आन्दोलन दृष्टिहीन र दिग्भ्रमित नेतृत्वको सिकार बनेको छ । जसका कारण हालको मजदुर आन्दोलनले न उत्पादन क्षेत्रलाई वैज्ञानिक र आधुनिक बनाउन योगदान गर्न सकेको छ, न श्रमजीवी वर्गलाई राजनीतिक रूपमा सचेत र जुझारु तथा नेतृत्वदायी बनाउन सकेको छ । यसरी नेपाली मजदुरवर्गको दारुण अवस्थालाई प्रदर्शन गर्दै डलरको खेती गर्न मात्र अग्रसर देखिएको छ । नेपाली मजदुरवर्गको दैनिक जीवनस्तर खस्कँदै गएको प्रति ट्रेड युनियन नेतृत्व मौन छ । श्रमजीवीवर्गको जीवनस्तर उठाउन ट्रेड युनियन नेतृत्वले जुन भूमिका खेल्नुपर्ने हो त्योबारे ऊ अनभिज्ञ छ कि त गैरजिम्मेवार छ ।
राजनीतिक दलको कठपुतली बनेर मजदुरवर्गको हित हुन सक्दैन । मूलतः विसं २०१६ को जेठमा बीपी कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकारको गठन भयो । त्यो सरकारले मजदुरको हित र अधिकारलाई व्यवस्थित गर्न २०१६ को असारमा कारखाना र मजदुरको व्यवस्थाको निमित्त बनेको ऐन २०१६ को निर्माण ग¥यो । यो नेपालकोे मजदुर र कारखानाबारेको पहिलो ऐन थियो । यसका सातवटा परिच्छेद र ४१ वटा धारा थिए । यसमा मजदुरलाई हप्तामा ४८ घण्टाभन्दा बढी र प्रतिदिन आठ घण्टाभन्दा बढी काम गर्न बाध्य गर्न नपाइने, लगातार पाँच घण्टाभन्दा बढी समयसम्म काम लगाउन नपाइने, काम रोक्न नमिल्ने भए आलोपालोबाट काम गराउनुपर्ने, महिलालाई बिहान ६ देखि साँझ ६ बजेसम्म मात्र काम लगाउन पाउने आदि प्रावधान थिए ।
अन्त्यमा भन्नुपर्दा आईएलओको आँकडाअनुसार विश्वका डेढ अर्बभन्दा धेरै त्यस्ता मजदुरको रोजगारी जोखिममा परेको छ । कुनै वैकल्पिक आम्दानीको अभावमा यी मजदुर र तिनका परिवारका जीविका सङ्कटमा पर्नेछ । तसर्थ आज आएर मुलुकमा पनि लाखौँ मानिस असंगठित क्षेत्रमा काम गर्छन् । अहिले विश्वका मजदुर एक होऔँ भन्ने नारा निमछरो बन्दै गएको छ । यो नारा तत्कालीन अवस्थामा कार्लमाक्र्सले मजदुरवर्गीय चरित्र र मर्मलाई केन्द्रमा राखेर उद्घोष गरेका थिए । तर, अहिले बढ्दो एनजीओकरणका कारण यो नारालाई आत्मसात् गर्ने प्रवृित्तमा कमी आएको छ ।
अहिले विश्वव्यापी रूपमा ट्रेड युनियन आन्दोलनमा देखिनुपर्ने जुझारूपन र प्रतिरोधात्मक चरित्रमा कमी आएको छ । ट्रेड युनियन आन्दोलनमा पनि खुलाबजार अर्थनीतिको प्रभाव परेको छ, श्रमजीवीवर्गको चिन्तन प्रणालीमा पनि अवसरवादी र उपभोक्तावादी प्रवृित्त देखापरेको छ । अतः समाजको अन्य क्षेत्रमा जस्तै यस क्षेत्रमा पनि भ्रष्टाचार मौलाएको छ । अहिले नेपालको ट्रेड युनियन आन्दोलनमाथि दोहोरो जिम्मेवारी सिर्जना भएको छ । एकातिर आन्तरिकरूपमा आफैँभित्र निरन्तर भ्रष्ट हुँदै गएको चिन्तन प्रणाली र चरित्रलाई शुद्धीकरण गर्नु जरुरी छ, भने बाह्य रूपमा लामो समयदेखि अस्थिर बनेको राजनीतिक संक्रमणको अन्त्य गरी श्रमजीवीवर्गको पक्षमा नयाँ संविधान निर्माण गर्नुपर्नेछ । यी दुवै जिम्मेवारी त्यतिबेला मात्र पूरा गर्न सक्षम हुनेछ जतिबेला मजदुर आन्दोलनका प्रगतिशील तथा अग्रगामी शक्तिहरू एक जुट भई अघि बढ्नेछ ।
क्याटेगोरी : विचार / ब्लग
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
[…] : https://www.aarthikdainik.com/view/61731/ […]