Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबालगृहमा पाँच लाखको अक्षय कोष

बालगृहमा पाँच लाखको अक्षय कोष


काठमाडौं । शैक्षिक परिवर्तन प्रतिष्ठान नयाँ बानेश्वरले दोलखाको सदरमुकामस्थित गौरीशंकर बालगृहका बालबालिकाको लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको छ । प्रतिष्ठानका अध्यक्ष नीरा शाक्य र बालगृहका अध्यक्ष रामप्रसाद सापकोटाले अक्षय कोष स्थापनाको सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

बालगृहको अनुरोधअनुसार सहयोग गर्ने सन्दर्भमा प्रतिष्ठानका सचिव बाबुकाजी कार्की, सहसचिव डा. रुमा मानन्धर, कोषाध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, सदस्य डा. अरविन्दलाल भोमी तथा महेश्वर रेग्मीलगायतका पदाधिकारीहरुले स्थलगत अध्ययन अवलोकन तथा सरोकार पक्षसँग अन्तरक्रिया गरेका थिए । नेपाल बाल संगठन र नेदरल्याण्ड अन्तर्राष्टिय बाल कल्याण संगठनको संयुक्त सहयोगमा विसं २०५३ साल कात्र्तिक ३० गते स्थापना भएको बाल गृहका भवनहरु २०७२ सालको महाभूकम्पले जीर्ण भएका छन् । उक्त अन्तर्राष्टिय संगठनले हाल कुनै पनि सहयोग प्रदान नगरेको कारण नेपाल बाल संगठनबाट प्राप्त हुने सीमित अनुदानबाट बालबालिकामा स्वास्थ्यलगायतका कतिपय भईपरी आउने समस्या टार्न बालगृहलाई हम्मे–हम्मे परेको छ । विभिन्न दाताहरुले जन्मोत्सव, विवाह आदि धार्मिक कार्य गरेका बखत प्रदान गरिने नगद तथा जिन्सि सहयोगले सानोतिनो गर्जो टार्दै आएको बालगृहले जनाएको छ । हाल विभिन्न जिल्लाका २८ जना अनाथ बालकहरु त्यहाँ बसेर करिब एक घण्टाको पैदल दूरीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयमा विभिन्न कक्षामा अध्ययन गरिरहेका छन् ।

अक्षय कोषले बालगृह सञ्चालनमा अर्थपूर्ण सहयोग पुग्ने प्रतिष्ठानले अपेक्षा गरेको छ । अन्य सहयोगी मन भएका संस्था तथा व्यक्तिहरुबाट पनि बालगृहको व्यवस्थापन र सञ्चालनमा सहयोगका लागि प्रेरणा मिल्ने प्रतिष्ठानका अध्यक्षले बताए । उक्त अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट बालबालिकाको भरणपोषण र हेरचाहको लागि खर्च गर्नुपर्ने छ । बालगृह बन्द भएमा वा रकमको दुरुपयोग भएको प्रमाणित भएमा अक्षय कोषको रकम स्वतः प्रतिष्ठानको स्वामित्वमा आउने शर्त समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x