Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश २ मा ३३ सय ९२ किमि सडक निर्माण गरिने

प्रदेश २ मा ३३ सय ९२ किमि सडक निर्माण गरिने


बटुबनाथ झा
जनकपुरधाम, फागुन ४
प्रदेश २ सरकारले ३ हजार ३ सय ९२ किलोमिटर सडक निर्माण गर्ने भएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँच वर्षको लागि सडकको कामलाई प्राथमिकतामा राखेर अहिलेसम्म गरेको कामको प्रगति विवरणलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गर्दै भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशमा रहेका सडकहरुलाई प्राथमिकतामा राखेर प्रदेशिक लोकमार्ग, प्रादेशिक सहायक लोकमार्ग तथा प्रादेशिक अन्य सडक गरी कुल ३ हजार ३ सय ९२ किलोमिटर सडक निर्माणको लक्ष्य लिएको बताए ।

उनले आर्थिक वर्ष २०७५/०७६ मा १ हजार १ सय ३ किलो मिटर सडक निर्माणको काम भइसकेको जानकारी समेत दिए । तीमध्ये पक्की र ग्राभेलमा ३ सय ७५ किलोमिटर तथा कच्ची मर्मतमा ७ सय २७ किलोमिटर काम भएको उनको भनाइ छ । यसका साथै मधेशी सहिद प्रादेशिक लोकमार्गको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । २ सय ५० किलोमिटर पूर्वको सप्तरीको पूर्वी भागदेखि पर्साको पश्चिमी भागसम्मको सो मार्गको काम अगाडि बढ्ने उनले दाबी गरे । मन्त्री सोनलले प्रदेश सरकारले तत्काल पाँचवटा बस सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । पहिलो चरणमा बस सञ्चालन गर्न टेन्डर प्रक्रिया अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

‘टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, केही दिनभित्रै टेन्डर निकाल्ने तयारीमा हामी छौं, यो प्रक्रिया पूरा भएलगत्तै प्रदेश सरकारले आफ्नै बस सञ्चालन गर्नेछ’, सोनलले भने । मन्त्री सोनलले पहिलो चरणमा जनकपुरदेखि पूर्व राजविराज र पश्चिम वीरगञ्जसम्म तथा वीरगञ्जदेखि राजविराजसम्म बस सञ्चालन हुने बताए । प्रशासनिक कामका लागि जनकपुर पुग्नेहरुको समस्यालाई मध्यनजर गरी प्रदेश सरकारले यस्तो योजना ल्याएको उनको भनाइ छ । काठमाडौंमा सञ्चालन भइरहेको साझा बसअनुसारकै बस खरिद गर्ने तयारी रहेको उनले बताए । प्रदेश सरकारले दुई वर्षको कार्यकाल पूरा गरे पनि पूर्ण रुपले एक आर्थिक वर्षमात्र काम गर्न सकेको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x