Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहाम्रो जीवन र हाम्रै पूर्वाधार

हाम्रो जीवन र हाम्रै पूर्वाधार


काठमाडौँ ।
अमूल्य जीवन, दुर्घटनाको कहानी
पूर्वाधार भन्नु सहज जीवनयापनको आधार हो । पङ्क्ति तयार गरिरहँदा धादिङको जुँगे खोलानजिक बस र कार ठोक्किएर पाँच जनाको मृत्यु भइरहेको थियो । पूर्वाधारमा हाम्रो सडकको अवस्था र हाम्रा सवारी यातायातको यथार्थ सबैलाई थाहा छ । जीवन जन्म र मृत्युको दोसाँधमा त छँदै छ । सडकमा सवारी दुर्घटना नौलो होइन, ट्रिपरले मान्छे नखाएको दिन नै छैन भन्दा हुन्छ ।

हाम्रा सडक साँघुरा छन्, दायाँबायाँ रुखहरू हुन्थे पहिले, हरियाली यात्रा गर्दैमा पनि आनन्दको महसुस हुन्थ्यो, यात्रुहरू कम, निश्चित सवारीसाधन, दक्ष चालक र पनि यदाकदा दुर्घटना हुने गथ्र्यो । भक्तपुर सल्लाघारीबाट छुटेको सवारीसाधन दायाँबायाँ रहेका असंख्य वृक्षहरू बबरमहलसम्मको हरियाली मात्रै होइन टुँडीखेलवरिपरिका हराभरा वृक्षहरू पछ्याउँदै बागबजार गएर रोकिन्थ्यो र पछि सूर्यविनायक–त्रिपुरेश्वर ट्रलीबस सञ्चालनमा पनि बिजुली लठ्ठाका लागि धेरै रुखहरू हटाइएका थिएनन्, न भित्रको प्रदूषण, न बाहिरको धुवाँ धुलो, सहज आवागमन हुन्थ्यो भने काठमाडौँको तीनकुनेमा एकाध र त्रिभुवन राजपथमा केही ट्रक दुर्घटना सुनिन्थ्यो ।

पछि खोलैखोलाको मुग्लिन नारायणघाटको बाटो खुलेपछि त्रिशूलीमा हाम्फाल्ने गाडीहरूले सयौँको ज्यान स्वाहा पार्न थाले र पनि काठमाडौँ कोदारी हँुदै डाँडैडाँडाको जिरी सडकमा हुइँकिदा खासै दुर्घटना भएको देखिएन, सुनिएन । अब हुम्ला, डोल्पाबाहेक कर्णालीका कुना–कुनामा पनि विकासे बाटो पुग्नाले दिनदिनैको दुर्घटना यहाँसम्म कि ट्र्याक्टरले समेत बेहिसाब मानिसको ज्यान लिइसकेको छ ।

भन्छौँ हामी विकास, गरिरहेका छौँ हामीले विनाश, विकासलाई मानवीय संवेदनशीलतामा जोड्न नसक्नु हाम्रो कमजोरी हो । वस्तु फेरि पाइन्छ तर व्यक्ति पाइन्न, व्यक्ति भन्नु राष्ट्रको धन मात्रै होइन ढुकढुकी नै हो । पूर्वाधारको विकास गर्दा मानव जीवनलाई केलाउन नसक्नु हाम्रो दुर्भाग्य हो । पूर्वाधारमै पर्छन् सडक, यातायात, मात्रै होइन, कंक्रिटका भवन र पुलहरू पनि, सहरीया बन्ने धोको र अव्यवस्थित बसोबास, बस्तीमा बाटो छैन, उब्जनी हुने खेतमा पिच सडक अनि जौ, कोदो, भटमास, मकै, तोरी, आलु बाली उत्पादन गर्ने बारीहरूमा डोजरे, माटो छोप्ने विकास छ र त हामी, पराइले दिए खाने भएका छौँ र विदेशीका भाँडा मोल्ने भएका छौँ ।

सडकमा सवारी दुर्घटनाको दशा
सडकको दुर्दशा कम छैन देशमा । सवारी दुर्घटनाबाट मात्रै वर्षेनी दुई हजारको ज्यान जाने गरेको अभिलेख छ, भन्छ सडक विभाग । विगत पाँच वर्षमा १२ हजार चार सय ७१ जनाले आफ्नो जीवन गुमाएछन् सडक दुर्घटनाकै कारण । यो दर ६ प्रतिशतले बढ्दै छ भन्छ, सडक विभाग नै । गम्भीर घाइते भएछन् यो समयमा चार हजार बढी मानिसहरू, र अपांग जीवन व्यतीत गर्दै रहेछन् २३ हजार आठ सय ३५ जनाले र सख्त घाइते रहेछन् ५६ हजार सात सय २२ जना विगत पाँच वर्षको आँकडा हो यो ।

सडकमा ट्राफिक दुर्घटनामा पर्नेको उमेर समूह खासगरी १५ देखि ४५ वर्षका बढी रहेका देखिन्छन् । खासगरी दुईपांग्रे मोटरसाइकल चालक, पैदलयात्री र सडक छेउछाउ काम गर्ने मानिसहरू नै बढी देखिएका छन् । स्तरीय सडक नहुँदा, पैदलयात्रीको बाटो नहँुदा पनि धेरै दुर्घटनाहरू हुनेगरेका छन् । ठूला सडकको अभाव, उचित प्रकाश नभएको, जेब्रा क्रसिङको अभाव, सडकमै रहेका डिभाइडरहरू, खाल्टाखुल्टी, हिलो, धुलो, पानी जम्ने खाल्डाहरू दुर्घटनाका कारण बनेका छन् भने थोत्रा गाडी, समयमा मर्मत नभएका, चालकको मनोमानी, छिटो गन्तव्यमा पुग्ने धोको, क्षमताभन्दा बढीको यात्रु वा सरसामान, अनुभवी र दक्ष सवारीचालकको अभाव, सन्काहा प्रवृत्ति, जहाँतहीँबाट यात्रु पिकअप गर्ने र छोड्ने चलन, सडक बनावट नै हाम्रो समस्या हो ।

पैसा कमाउने ठेकेदारहरूको लापरबाही, कमिसनमा बिल पास गर्ने इन्जिनियर, नेताहरूको सिफारिसमा ठेक्कापट्टा हुने, टेन्डर बिड गर्दा सस्तोमा स्वीकृति हुने त्यसमा रकम कलमको कुरा, चन्दा आदिको प्रसङ्गले सडकको गुणस्तर नदेखिनु अनेकौँ समस्याले गर्दा बहुमूल्य जीवन नै सडकमा होमिनुपर्ने अवस्था छ देशमा । काठमाडौँमा साइकल लेन बनाउने कुरा गरे मेयरले चुनावी एजेण्डामा, जताततै सीसी क्यामेराको कुरा गरे र पनि ट्राफिक लाइटको अभावले एकै पोस्टमा घण्टौँ कुर्नुपर्ने जाम हुने अवस्था छ, ती मेयर पाखा लागे, अर्का आउँछन् त्यही भन्छन्, देशैभरिको यो क्रमबद्धताको इतिहासले ७३ वर्ष पूरा गरेको छ, प्रजातन्त्रको आगमनको समय । सडक विभागकै भनाइमा पनि सवारीचालकले सवारी नियम पालन नगर्दा २७ दशमलव २८ प्रतिशत सडक दुर्घटना हुनेगरेको छ । सन् २०३० सम्ममा सडक दुर्घटनालाई ५० प्रतिशतमा झार्ने लक्ष्य लिइएको बताइएको छ ।

प्रथमतः सडकको अवस्था नै नाजुक छ हाम्रो, त्यसमा घुम्ती, भिरालो, उकालो, साँघुरो, तत्कालको कमाउ दाम भन्ने प्रवृत्ति र सडक सञ्जाल नै अव्यवस्थित अनि मानवीय संवेदनशीलताको अभाव र सचेतनाको कमीले पनि लापरबाही भएको छ । सडक सुरक्षाको मापदण्डको अभाव, इमान्दारितामाथि नै प्रश्न आउने गरेको अवस्था छ । अनुशासन र सडक दुर्घटनाप्रति सचेत नहुँदा र बढी लापरबाही गर्दा नै यस्तो नियति भोग्नुपरेको छ, व्यक्ति, समाज र पूरै देशले । नीति निर्माताहरू नीति बनाउने र लागू गराउनेभन्दा पनि थोत्रा गाडीलाई अभैm चल्न दिनेमा सहमत देखिन्छन् । गत आव ०७७÷०७८ मा मात्रै ३३ हजार एक सय ३५ सडक सवारी दुर्घटनामा दुई हजार पाँच सयको ज्यान गएको, छ हजार चार सय ४८ गम्भीर घाइते भएका र १८ हजार छ सय जना सख्त घाइते भएको तथ्यांक छ । त्यस्तै आव ०७६÷०७७ मा २५ हजार सात सय ८१ सडक सवारी दुर्घटना भएकोमा दुई हजार दुई सय ५५ जनाको ज्यान गएको, चार हजार छ सय १७ गम्भीर घाइते भएका र ११ हजार दुई सय २४ जना सख्त घाइते भएको तथ्यांक छ ।

आव ०७५÷०७६ मा २२ हजार ८७ सवारी दुर्घटना भएका र दुई हजार सात सय ८१ जनाले ज्यान गुमाएका, चार हजार तीन सय ७६ जना गम्भीर घाइते भएका र १० हजार तीन सय ६० जना सख्त घाइते भएको तथ्यांक छ । त्यस्तै आव ०७४÷०७५ मा साना–ठूला गरी १८ हजार ३४ सवारी दुर्घटना भएको मा दुई हजार पाँच सय ४१ जनाको मृत्यु भएको, चार हजार एक सय ४४ जना गम्भीर घाइते भएका र आठ हजार दुई सय ४७ जना सख्त घाइते भएको तथ्यांक छ । आव ०७३­÷७४ मा १६ हजार पाँच सय १५ सवारी दुर्घटना भएकोमा दुई हजार तीन सय ८४ जनाको ज्यान गएको, चार हजार दुर्ई सय ५० जना गम्भीर घाइते भएका र आठ हजार दुई सय ९० जना सख्त घाइते भएको तथ्यांक रहेको छ ।
नीति के छ ?

हिँड्न नसक्ने दौड्न खोज्ने नीति छ हाम्रो । सडक मर्मत तथा पुनस्र्थापनाका लागि सडक बोर्डबाट खर्च गर्नेगरी पेट्रोल र डिजेलमा लिटरैपिच्छे शुल्क उठाइन्छ र सर्वसाधारणका लागि सडक थप महँगो भएको छ अझ भनौँ राजमार्ग र ठूला सडकहरूको मर्मतका लागि दिगो स्रोत सुनिश्चित गर्न भनी सडक प्रयोगकर्ताबाट शुल्क लिने नीति अवलम्बन गरिएको छ । चीनले बनाइदिएको कोटेश्वर कलंकी चक्रपथ सडकमा सडक सुरक्षा पर्खाल, सवारी सुरक्षा संकेत एवं ट्राफिक संकेतहरू राखिने र गति निर्धारण र त्यसको नियमन गर्ने सरकारी नीति छ, अपांगमैत्री छैन त्यो, फुटपाथ भनिएका ठाउँमा भ्वाङ, प्वालहरू जताततै छन् ।

सडकपेटी छैन सहरमा, पैदलयात्रीको पहिलो अधिकार हो सडकपेटी । कलंकी–बालाजु चाबहिल चक्रपथ विस्तारमा द्रुतगति देखिएन । निर्माण हुने सबै सडक कम्तीमा दुई लेनको हुने र रेलमार्गको अवधारणालाई पनि सरकारले योजना अघि सारेको छ । विद्युतीय रेलमार्गको सम्भाव्यता भइसकेको पूर्वी खण्ड काँकडभित्ताबाट निर्माण सुरु हुने, त्यसपछि मध्य खण्ड र सुदूरपश्चिम खण्डबाट पनि कार्य आरम्भ हुने सरकारी अठोट छ, तर गति धीमा छ । राजधानी काठमाडौंलाई भारत र चीन दुवैतर्पm रेलमार्गले जोड्ने वीरगञ्ज–काठमाडौं, रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरी दुई वर्षभित्र निर्माण आरम्भ गर्ने भनिएको पनि धेरै भइसकेको छ । थानकोट सुरुङमार्ग तय भइसकेको छैन । दक्षिण सीमा नाकाबाट पूर्व–पश्चिम विद्युतीय रेलमार्गको इटहरी–निजगढ, बुटवल र कोहलपुर जोड्ने रेल–वे लाइनको निर्माण, जयनगर विजलपुरा र भारतको बथनाहादेखि यता विराटनगरसम्म रेलमार्ग निर्माणसपन्न गर्ने सरकारी प्रतिबद्धता पुरानै हो ।

नारायणी र कोशी नदीमा जल यातायातको पूर्वाधार विकास गर्ने, राष्ट्रिय राजमार्ग एवं द्रुत मार्गका दूरीहरूमा विश्रामस्थलको व्यवस्था गर्ने भनियो, सडक किनारामा माटोरहित अवस्था राजधानी प्रवेश गर्नुपूर्व सवारीसाधन सफा गर्ने र सम्भाव्यताको आधारमा राजमार्गका कुनै खण्डमा आपत्कालीन हवाइ अवतरणजस्ता स्वर्णिम कल्पना पनि सरकारले तीन वर्षअघि नै गरेको हो । आकाशे पुलको कमी, बाटो पार गर्ने ठाउँ नहुनु नेपालको सडक मापदण्ड ०७१ अनुसार सडकमा पैदलयात्रीका लागि १ दशमलव ८ मिटरको हुनुपर्ने कानुनी प्रावधान लागू नहुनु, सडकमा पहिलो अधिकार पैदलयात्रीकै हुन्छ भन्ने कुरा बिर्सनु, रोडमा जेब्रा क्रसिङ नहुनु, सडक ड्रेन ढकनीमा प्वालै प्वाल हुनु, सडकमा अपांगता भएकाक, अशक्त, बुढाबुढी, बिरामीको ख्यालै नगरिनु, ट्राफिकले सहजीकरणमा भन्दा केवल पैसा असुल्ने मात्रै काम गर्नु, विगतको अध्ययनअनुसार काठमाडौंमा दुर्घटनाको दर ३६ प्रतिशतभन्दा माथि रहनु, सडकको सतह अग्लो–होचो हुनु, साइकलयात्रीको लागि विचारै नगरिनु धेरै छन् नीतिगत समस्याहरू ।

विकास निर्माण र जीवनशैलीका कारण सवारीसाधनको प्रयोगमा वृद्धि भएको छ । प्रयोग भएका सवारीसाधनहरूको तथ्यांक हेर्दा २५ लाख नाघिसकेको छ । जसमध्ये छ लाखभन्दा बढी सवारीसाधानहरू काठमाडौं उपत्यकामा मात्रै चल्ने गर्छन् । राजधानी उपत्यकामा लगभग ६० लाखको बस्ती छ । त्यसमध्ये ३५ लाख मानिसहरू नियमित सवारीसाधन प्रयोग गर्छन् । यो संख्या एकै पटक सडकमा निस्कने हो भने न सडकले धान्न सक्छ न सवारीसाधनले । सवारीचलाक अनुमतिपत्र लिनेको संख्या २५ लाख नाघिसकेकोे छ ।

सरकारले अघिल्लो तीन वर्षे योजनामै २५ लाख सवारी दर्ता प्रमाणपत्र र सवारीचालक अनुमतिपत्र स्मार्ट कार्ड वितरण, १३ लाख सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्ने भनेको थियो । थोत्रा पुराना अवधि नाघेका गाडीहरू पनि हट्न सकेनन् । प्रदूषण यहीँ बढी छ, सवारीसाधनको मर्मत सम्भार छैन र त धेरै दुर्घटना हुनेगरेका छन् । ट्राफिक जामको समस्या उस्तै छ । सरकारले सडक, रेल र जल यातायातकै पूर्वाधारका लागि भनी खर्बौँ रकम खर्च गरिसकेको छ । हाम्रो देशमा वार्षिक कार्यक्रम र बजेट आउने गरेको ७२ वर्ष भइसकेको छ । वर्षैपिच्छे बजेटमा नयाँ रंगरोगन भर्ने चलन पनि छ । लोकतन्त्र प्राप्तिपछि त वर्षमा दुई÷दुई पटक पनि बजेट आएकै हो ।

अब प्रादेशिक सरकारहरू समेत भएको सन्दर्भमा प्रदेशैपिच्छेको अलग–अलग बजेट पनि आइरहेको छ । तर पनि देशको संकट घटेको छैन बढेको छ ।

र अन्त्यमा
पहाडी भू–भाग, कमलो भू–बनोट, दुर्घटनामा उद्धार संयन्त्रको अभाव भनौँ कमजोरी, परोपकारभन्दा पैसामुखी प्रवृत्ति, साँघुरा, उही पुराना सडक तर सवारीको चाप तीव्र वृद्धि, अव्यवस्थित बसाइँसराइ, सहरीकरणको सोख, भूकम्प, आगलागीजस्ता विपत्तिमा दमकल एम्बुलेन्स जान नसक्ने गल्ली सडक, पर्याप्त पानीको अभाव र संवेदहीन पशुतुल्य मानवीय व्यवहारले पनि दिन परदिन विपत्ति नियति बनेर भोग्नुपरेको अवस्था छ । नीतिकारहरूको गैरजिम्मेवारी पना, आम सर्वसाधारणको लापरबाही नै मुख्य कारक बनेर उभिएको परिदृश्य घामजस्तै छर्र्लँग छ, मानव निर्मित घटना, विपत्तिहरूमा ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x