Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसगरमाथा राष्ट्रिय निकुञ्जमा विना अनुमति प्रयोग भएका ड्रोन क्यामेरा जफत

सगरमाथा राष्ट्रिय निकुञ्जमा विना अनुमति प्रयोग भएका ड्रोन क्यामेरा जफत


महेन्द्र शाही
सोलुखुम्बु, फागुन ४
सगरमाथा राष्ट्रिय निकुञ्जले विना अनुमति प्रयोग गरिएका दुईवटा ड्रोन क्यामेरा जफत गरेको छ । निकुञ्जले चालू आर्थिक वर्षको हालसम्म नियमविपरीत आफ्नो क्षेत्रमा प्रयोग गरिएका दुईवटा ड्रोन क्यामेरा जफत गरेको जनाएको छ । निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामद गरिएको हो । अहिले उक्त ड्रोन क्यामेराहरु विभागमा पठाउने तयारी भइरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा विना अनुमति क्यामेरा तथा ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन तर कतिपयले प्रयोग गर्ने गरेको प्रमुख उपाध्यायको भनाइ छ । विगतमा निकुञ्ज क्षेत्रमा चोरी शिकारका लागि थापिएका विभिन्न प्रकारका धराप, पासोलगायतका सामग्रीहरु बरामद हुने गरिएको भए पनि चालू आर्थिक वर्षको हालसम्म त्यस्ता सामग्री नभेटिएको उनको भनाइ छ ।

वि.सं. २०३२ सालमा स्थापना भएको यस निकुञ्जको कुल क्षेत्रफल १,१४८ वर्ग किमि रहेको छ । सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.), ६,००० मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, अमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरू समेत यसै निकुञ्ज क्षेत्रभित्र पर्छन् । यहाँ स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् । यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । यहाँ कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग (टेमु लगायत १९३ प्रजातिका चराहरू पाइन्छन् ।

सगरमाथा हिमाल र यस क्षेत्रको मनोरम दृश्य हेर्न, पर्वतारोहण गर्न, शेर्पा संस्कृति तथा वन्यजन्तु अवलाकेन गर्न वर्षेनी हजारौं पयर्टकहरू यहाँ आउने गर्दछन । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । त्यसैले यस निकुञ्जभित्र विभिन्न मानवीय क्रियाकलाप गर्न प्रतिबन्ध गरिएको कार्यालयको भनाइ छ । तर पनि अवैधानिक ढंगबाट चोरी निकासी लगायतको कार्य भने भइरहेको स्रोतको भनाइ छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियमविपरीत हेलिकोप्टर उडान तथा अवतरण हुने गरेको छ । निश्चित स्थान तथा क्षेत्रमा उडान तथा अवतरण हुनुपर्ने भए पनि पर्यटक उद्धारको नाममा मनोमानी हेलिकोप्टरले उडान भर्ने गरेको खुम्बुवासीको भनाइ छ । जसले गर्दा यस क्षेत्रका पशुपक्षीलगायत होटल व्यवसायमा समेत प्रत्यक्ष असर परिरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए ।

पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा हुने गरेको अवैधानिक हेलिकप्टर उडानले संरक्षित जन्तुको जीवनचक्रमा गम्भीर असर पर्ने भन्दै विज्ञहरूले समेत चिन्ता व्यक्त गरेका छन् । तर हेलिकोप्टर कम्पनीहरु नियमको ध्वज्जी उडाउँदै आफूखुसी उडान भर्दै आएको निकुञ्जका प्रमुख भूमिराज उपाध्यायको भनाइ छ । सिजनको समयमा दैनिक १ सय ९० भन्दा बढी पटक हेलिकोप्टर उडान तथा अवतरण हुने गरेको लुक्ला विमानस्थलको तथ्यांक छ । तर लुक्लाभन्दा माथिको फाक्दिङ, नाम्चे, होटल एभरेस्ट, दिंबुचे, फेरिचे, गोरक्सेप, आधारशिविरलगायत क्षेत्रमा अवतरण भएको कुनै पनि तथ्यांक छैन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x