Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनिष्पक्ष निर्वाचनको सवाल

निष्पक्ष निर्वाचनको सवाल


काठमाडौं । एक्काईसौँ शताब्दीको लोकतान्त्रिक युगमा नेपाललगायत विश्वको जुनसुकै कुनामा रहेका मानव मस्तिष्कमा लोकतन्त्रको पर्यायवाची शब्दको रूपमा निर्वाचनजन्य गतिविधिहरू स्वतफूर्तरूपमा प्रतिविम्बित हुने गर्दछ । किनभने लोकतन्त्रको यथार्थ धरातल भनेकै निश्चितरूपमा निष्पक्ष एवं धाँधलीरहित सम्पन्न गरिने निर्वाचन प्रणालीलाई लिन सकिन्छ । प्रस्तुत तथ्यलाई मनन गर्दै आगामी २०७९ वैशाख ३० गतेका दिन मुलुकभर स्थानीय तहको निर्वाचन हुन गइरहेको तथ्य सर्वविदितै छ ।

संघीय सरकारको तल्लो इकाइका रूपमा रहेको स्थानीय तहको निर्वाचनले लोकतन्त्रको अनुभूति गाउँ वा नगरको वडास्तरसम्ममा प्रत्याभूत गराउन सक्षम रहनेछ भन्ने मान्यतालाई आत्मसात् गर्दै लोकतन्त्रको संवर्द्धन, प्रवर्द्धन तथा विकासमा मुलुकको संवैधानिक प्रावधानअनुरूपको व्यवस्थालाई मनन गर्दै प्रत्येक पाँच वर्षको अन्तरालमा सम्पन्न गरिने यस प्रकारका निर्वाचनजन्य गतिविधिहरू निश्चितरूपमा लोकतन्त्रका मजबुत खम्बाहरू समेत हुन् भन्दा अत्युक्ति नहोला । जब लोकतन्त्रमा निर्वाचनजन्य गतिविधिले पूर्णता हासिल गर्नेछ, तब अराजक एवं अधिनायकवादी सोचहरू स्वतः पराजित हुनेछन् भन्ने विश्वास लिन सकिनेछ । लोकतान्त्रिक संस्कृतिअनुसारको प्रस्तुत क्रियाकलापको विकासले नागरिक समूहलाई सम्प्रभू बनाउने महत्वपूर्ण कार्यमा निर्णायक भूमिका हासिल गर्नेछ ।

सफल निर्वाचन पद्धतिको अभावमा विश्वका कुनै पनि मुलुकका आमनागरिक समुदायहरू सार्वभौमसत्ता सम्पन्न बन्न सक्दैनन् भन्ने लोकतान्त्रिक मूल्यमान्यतालाई नेपालले पनि अनुसरण गर्दै स्थानीय तह तथा निकट भविष्यमा सम्पन्न गरिने सर्वोच्च विधायिकाको निर्वाचनमा समेत कुनै प्रकारको नकारात्मक प्रभाव नपरोस् भन्ने उद्देश्यले तत्सम्बन्धी आवश्यक पर्ने सुरक्षा प्रबन्धलाई चुस्तदुरस्त बनाउने कार्यमा सुरक्षा निकायलगायतका सम्पूर्ण नागरिक समूहलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न आह्वान गरेको वर्तमान अवस्था हो । यसप्रकारको कदमबाट चुनावी हिंसा न्यून हुनको साथै जनधनको क्षति न्यूनीकरण गर्ने महत्वपूर्ण कार्यमा सर्वपक्षीय सहयोगको अपेक्षा रहने कुरामा विश्वास लिन सकिनेछ ।

आमनागरिक समाजले निर्वाचनलाई सहजरूपमा विश्वास गर्नसक्ने परिस्थिति उत्पन्न गर्न सकिएन भने निर्वाचनको विश्वनीयता, वैधता एवं राज्यको भूमिकाप्रति जनविश्वास गुम्न जाने खतरालाई सहजै नजरअन्दाज गर्न मिल्दैन । प्रस्तुत अवस्था सिर्जना गर्न सकिएन भने निर्वाचन गर्नु वा नगर्नुको कुनै अर्थ रहँदैन ।
किनकि निर्वाचन भन्ने कुरा निर्वाचनमा मात्र सीमित नरही आर्थिक विकास, समृद्धि तथा जनसरोकारसँग सम्बन्धित विविध पक्षको मार्गचित्र कोर्ने सहयात्रा समेत भएको हुँदा विकासप्रेमी नेपाली जनताहरू सफल निर्वाचनको लागि व्यग्र प्रतिक्षारत रहेको देखिन्छ । जसलाई तत् सन्दर्भमा आएको सकारात्मक सोचको उच्चत्तम परिणतिको अब्बल नमूना मान्दा फरक नपर्ला ।

निर्वाचनको समयमा अराजक परिस्थितिको जन्म हुने अवस्था पैदा हुनु भनेको मुलुकका लोकतान्त्रिक समूहमा आएको दण्डहीनताको अभिवृद्धिको साथै उदण्डता तथा अहमताका कारण उत्पन्न हुनसक्ने सम्भावित राजनीतिक एवं गैरराजनीतिक हिंसाजन्य व्यवहारलाई आत्मसात् गर्न खोज्ने समूहको ऋणात्मक आत्म मनोबलको अभिवृद्धि गर्न सहयोग पुग्नेबाहेक अर्को कुनै ठोस राजनीतिक उद्देश्य पूर्ति हुने अवस्था देखिँदैन ।

निर्वाचनजन्य प्रस्तुत महान् कार्यमा समाहित रहँदा विगतमा कायम रहँदै आएका आपसी तिक्तता–बैमनस्यतालाई मुलुकको हितको खातिर थाती राख्दै चुनावकेन्द्रित सकारात्मक सन्देशको प्रभाव श्रीवृद्धि गर्न सकियो भने निश्चितरूपमा राजनीतिक हिंसा र अराजकतामा रमाउन चाहने समूहमा हिंसात्मक भावनाको गतिविधिमा न्यूनता आउने कुरामा हामी कसैको पनि भिन्न मत रहने छैन । जसको विकासले धाँधलीरहित चुनावी माहौलको गतिशीलतालाई अगाडि बढाउन ठूलो सहयोग पुग्ने देखिन्छ ।

यो त्यति बेला पूर्णरूपले सफल रहन्छ, जुन बेला एक लोकतान्त्रिक समूहले अर्को लोकतान्त्रिक समूहलाई हेर्ने राजनीतिक दृष्टिकोणमा समयानुकूूल आमूल परिवर्तन गर्दै लोकतान्त्रिक आचरणअनुरूपको व्यवहारमा जोड दिने संस्कृतिको विकासले नागरिक समाजलाई लोकतान्त्रिक चुनावको सुखानुभूति गराउने अवस्था तयार पार्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । जसको विकासबाट जनहितका लागि स्वस्थ्य लोकतान्त्रिक अभ्यास र पद्धतिलाई आत्मसात् गर्ने वातावरणको निर्माण हुनेछ ।

मुलुकको सुखद भविष्य एवं गणतान्त्रिक शासकीय स्वरूपको सबलीकरणको लागि भयरहित निर्वाचनजन्य अवस्था तयार पार्दै बहुसंख्यक जनसमुदायको बाक्लो उपस्थितिमा चुनाव सम्पन्न गर्न सकिने वातावरण तयार भयो भने मात्र, वास्तविकरूपमा सम्प्रभू नेपाली जनमतले लोकतन्त्र प्राप्तिको अनुभव गर्नेछन् । तदुपरान्त विधिको शासनलाई पछ्याउँदै आर्थिक विकासका लागि स्वदेशी तथा छिमेकी मित्रराष्ट्रहरूमा कायम रहेको उच्च सीप विकासको प्राविधिक तथा सैद्धान्तिक ज्ञानलाई हातेमालो गर्दै भित्र्याउनुपर्ने हुन्छ । जसले हरेक निर्वाचनपछिका दिनहरूमा आउने जनप्रतिनिधिहरूले भ्रष्टाचाररहित ढङ्गबाट दिइएको जिम्मेवारीलाई पूर्ण जवाफदेहिताका साथ आफ्नो निहित स्वार्थलाई मुलुक हितको लागि त्याग्दै प्रत्येक दिन कर्मक्षेत्रमा लाग्ने अवस्था तयार हुने देखिन्छ । जुन केही हदसम्म आर्थिक विकासकेन्द्रित लक्ष्यको आरम्भ विन्दु समेत हो ।

किनभने निर्वाचनमा शान्ति बहाल हुनु भनेको जनमतको आर्थिक विकास र समृद्धिप्रतिको कामनाको प्रतिफलको रूपमा लिन सकिन्छ । जसले भयरहित निर्वाचनलाई बढ्वा दिँदै दलीय भूमिकाको उच्चसम्मान गर्ने परिपाटीको विकास समेत गर्नेछ भन्न सकिन्छ ।

प्रस्तुत कार्यको विकासमा मतदाता शिक्षाको भूमिका प्रभावकारी माध्यम बन्नसक्ने देखिन्छ । जसको माध्यमबाट भयरहित ढंगले स्वविवेकी अधिकारको प्रयोग गर्ने अवस्था तयार हुने भएको हुँदा बदर मतको संख्या स्वतः घट्न जाने प्रबल सम्भावना रहन्छ । जसलाई निर्वाचन जनचेतनाको क्षेत्रमा उल्लेख्य सफलता प्राप्त भएको मान्न सकिनेछ । यसका अतिरिक्त नागरिकको नो भोटको अधिकारलाई पनि राज्यले सुनिश्चितता कायम गर्नुपर्ने हुन्छ ।

यस प्रकारका कार्य व्यवहारहरू निर्वाचनजन्य गतिविधिमा सुनमा सुगन्ध थप्ने दिशातर्फ अग्रसर हुने देखिन्छ । किनकि जसरी मतदान गर्न पाउने नागरिकको संवैधानिक अधिकार राज्यले सुरक्षित गरेको छ, त्यसैगरी म मतदान गर्दिन भन्ने नागरिकको जनभावनालाई समेत कुण्ठित गरिनु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्न कुनै किसमको कसर वाकी राख्नु हुदैन भन्ने तथ्यलाई मनन गर्दै चुनावी रणनीतिमा उपरोक्त तथ्यलाई समावेश गर्न विलम्ब गर्नु हुँदैन । जुन लोकतन्त्रको सबल एवं अब्बल पक्ष पक्ष समेत हो ।

चुनावको कुरा गर्दा विगतको समयको तुलनामा आजको दिनमा बहुसंख्यक नेपाली–जनमा आफ्नो स्वविवेकी अधिकारको सही निर्णय गर्नसक्ने राजनीतिक एवं निर्वाचनजन्य चेतना तथा क्षमतामा अभिवृद्धि भएकै कारण भोट खरिदबिक्रीको सम्भावना क्रमशः न्यून हुँदै गएको वर्तमान अवस्था हो । जसको प्रभावले राम्रा जनप्रतिनिधिहरूको चयन हुने सम्भावना बिस्तारै बढ्न जाने तथ्यलाई अन्यथा लिन मिल्दैन । जसलाई लोकतन्त्रको सुखद एवं निष्पक्ष निर्वाचनजन्य गतिविधिको सान्दर्भिकता मान्न सकिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x