८० अर्ब ३९ करोड अमेरिकी अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर
काठमाडौं । अमेरिकाले नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउने ८० अर्ब ३९ करोड (शुक्रबारको विनिमय दरअनुरुप) रुपैयाँ (६५ करोड ९० लाख अमेरिकी डलर) उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । आगामी पाँच वर्षको लागि उक्त रकम उपलब्ध गराउन लागिएको हो ।
अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआइडी)का निर्देशक सेपिदेह केवंसद र अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो सहयोगले मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपालको लक्ष्य हासिल गर्न मद्दत गर्ने अर्थ मन्त्रालय र यूएसएआईडीले संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा निर्देशक केवंसदले पाँच वर्षसम्म सञ्चालन हुने सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नतिमा योगदान गर्ने बताए । अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताए ।
अर्थ मन्त्रालयका अनुसार सो सहयोग गुणस्तरीय शिक्षा एवं स्वास्थ्य प्रणाली, दिगो ऊर्जा र कृषि विकासमा उपयोग गरिनेछ । सहायता रकमलाई सरकारको बजेट प्रणाली (रातो पुस्तक)मा अभिलेख गरेर पारदर्शी रूपमा कार्यान्वयन गरिने जनाइएको छ । नेपाल र अमेरिकाबीच बिहीबार भएको सो पञ्चवर्षीय विकास सहयोग सम्झौताले दुई देशबीचको ७५ वर्षको विश्वास, आपसी सम्मान र प्रतिबद्धताको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया