Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाला गुम्मालाई चेक रिपब्लिकबाट एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

नाला गुम्मालाई चेक रिपब्लिकबाट एम्बुलेन्स र मेडिकल उपकरण सहयोग


भक्तपुर, फागुन ५
चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालवाहक गाडी सहयोग गरेको छ । नेपालका लागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले एक समारोहबीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालवाहक गाडीको साँचो हस्तान्तरण गरे ।

एम्बुलेन्समा आपत्कालीन अवस्थामा काम लाग्ने अत्याधुनिक चिकित्सकीय उपकरणहरु समेत जडान गरिएको छ । चेक रिपब्लिकले स्पाइन बोर्ड, भ्याक्युम म्याट्रेस, अक्सिमिटर, आईभी लाइन, ट्रान्सपोर्ट स्ट्रेचर, अक्सिजन सिलिन्डर, सर्जिकल सेट, इक्ज्यामिनेसन बेड, मेच र प्राइभेसी बुथलगायतका सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत विष्णुकुमार अग्रवालको पनि उपस्थिति थियो । ‘यो क्षेत्रमा आवश्यक रहेको एम्बुलेन्स उपलब्ध गराउन पाउँदा हामी खुसी छौं ।

हामीलाई आशा छ, यो एम्बुलेन्सले नाला क्षेत्रका बासिन्दलाई समयमै अस्पताल पुग्न मद्दत गर्नेछ,’ हस्तान्तरण कार्यक्रममा राजदूत मिलान होभोर्काले भने, ‘यो हाम्रो सानै सहयोगले नेपाल र चेक रिपब्लिक र यहाँका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरेका छौं ।’ त्यसैगरी, धाग्पो शिडरब लिङ फाउन्डेसनका प्रतिनिधि लेक्शे घलले सहयोग र साझेदारीका लागि चेक रिपब्लिकका जनता, चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसन र चिकित्सकीय क्षेत्रमा काम गर्ने चेक संस्था मेडेभ्याकप्रति कृतज्ञता प्रकट गरे । ‘एम्बुलेन्सलाई गुम्बाका विद्यार्थी मात्र होइन, नालामा बसोबास गर्ने जोसुकै बिरामीलाई अस्पताल पु-याउन प्रयोग गरिनेछ’, उनले भने ।

नाला क्षेत्र सुविधासम्पन्न अस्पताल भएको काठमाडौं र धुलिखेल दुवै स्थानबाट करिब २० किलोमिटर टाढा पर्छ । यहाँबाट सार्वजनिक यातायातमा सुविधासम्पन्न अस्पतालमा पुग्न करिब दुई घण्टा लाग्छ जसले गर्दा बिरामीको ज्यान जाने जोखिम रहन्छ । चेक रिपब्लिकले नयाँ एम्बुलेन्सले बिरामीलाई राम्रो अस्पतालमा समयमै पु-याउन सहयोग गर्ने अपेक्षा गरेको छ । नेपाल र नेपालीको जीवनस्तर अभिवृद्धि गर्न चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ । यो संस्थाले विशेषगरी, शिक्षा, स्वास्थ्य, सरसफाइ र खानेपानीको क्षेत्रमा काम गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x