Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएफडीआई झण्डै २७ अर्बले वृद्धि सबैभन्दा बढी लगानी चीनबाट

एफडीआई झण्डै २७ अर्बले वृद्धि सबैभन्दा बढी लगानी चीनबाट


काठमाडौं, फागुन ७
नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले लगानी गर्ने रकममा पछिल्लो समयमा झण्डै २७ अर्बले वृद्धि भएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को सात महिना अर्थात् साउनदेखि माघसम्ममा मुलुकको उद्योग क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) गत आव (२०७५/०७६) को सोही समयको तुलनामा २६ अर्ब ८२ करोड ९२ लाख बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

चालू आवको सात महिनामा विदेशी लगानीकर्ताहरुले उद्योग क्षेत्रमा ४१ अर्ब ८७ करोड १८ लाख लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले एक सय ६१ वटा उद्योग स्थापना र आठ हजार पाँच सय २० जनालाई रोजगारी दिन उक्त लगानी प्रतिबद्धता गरेका हुन् ।

यता लगानीमा वृद्धि हुँदा उद्योगको संख्यामा भने कमी आएको विभागले जनाएको छ । गत आवको सोही समयमा दुई सय ११ वटा उद्योग स्थापना गर्ने भनेका विदेशी लगानीकर्ताहरुले चालू आवको सोही समयमा एक सय ६१ वटा उद्योग स्थापना गर्ने भन्दै विभागबाट रकम स्वीकृत गराएका छन् ।

गत आवको सोही समयमा विदेशी लगानीकर्ताहरुले उद्योग क्षेत्रमा १५ अर्ब चार करोड २६ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले दुई सय ११ वटा उद्योग स्थापना तथा सात हजार छ सय ७० जनालाई रोजगारी दिने प्रतिबद्धता समेत जनाएका थिए । विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाका अनुसार सरकारले मुलुकमा औद्योगिक विकास चाहेको सन्देश अन्तर्राष्ट्रियस्तरमा पुग्दा विदेशी लगानीकर्ता नेपालमा आकर्षित भएका बताए ।

‘हामीले स्वदेशी वा विदेशी लगानीकर्ताहरु हुन्, उनीहरुलाई उद्योग दर्ता प्रक्रियादेखि स्थापना र सञ्चालनको लागि सहज वातावरण निर्माण गरिदिएका छौँ’, उनले भने, ‘एकल विन्दु सेवा केन्द्रबाट सेवा सहज ऐन नियमका कारण उद्योगी आकर्षित भई लगानी स्वीकृति बढेको हो । लगानी प्रतिबद्धतामा वृद्धि हुनु भनेको भोलिको समयमा मुलुकको विकासले गति लिनु हो ।’

विभागका अनुसार चालू आवको सात महिनामा लगानीकर्ताहरुले सबैभन्दा धेरै लगानी प्रतिबद्धता ऊर्जामा तथा सबैभन्दा कम कृषिमा गरेका छन् । विदेशी लगानीकर्ताहरुले ऊर्जामा ११ अर्ब ८२ करोड २६ लाख तथा कृषिमा ४२ करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले सूचना तथा प्रविधिमा १० अर्ब ४० करोड ४४ लाख, पर्यटनमा आठ अर्ब ४७ करोड ३२ लाख, उत्पादनमा तीन अर्ब आठ करोड ८५ लाख, सेवामा सात अर्ब ६६ करोड ३० लाख लगानी प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धताअनुसार लगानी भित्रिए कृषिमा तीनवटा, ऊर्जामा पाँचवटा, सूचना तथा प्रविधिमा २९ वटा, उत्पादनमा २१ वटा, सेवामा ४२ वटा, पर्यटनमा ६१ वटा गरी एक सय ६१ वटा उद्योग स्थापना हुनेछन् भने आठ हजार पाँच सय २० जनालाई रोजगारी मिल्नेछ ।

गत आवको सोही समयमा लगानीकर्ताहरुले कृषिमा आठ करोड ४० लाख, सूचना तथा प्रविधिमा ३५ करोड ९ लाख, उत्पादनमा सात अर्ब ३९ करोड ८१ लाख लगानी प्रतिबद्धता जनाएका थिए भने खनिजमा एक करोड ८८ लाख, सेवामा एक अर्ब ८० करोड ८० लाख, पर्यटनमा पाँच अर्ब ३८ करोड २८ लाख लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले कृषिमा आठवटा, सूचना तथा प्रविधिमा १५ वटा, उत्पादनमा ४८ वटा, खनिजमा दुईवटा, सेवामा ७० वटा र पर्यटनमा ६८ वटा उद्योग स्थापना गर्ने तथा सात हजार छ सय ७० जनालाई रोजगारी दिने बताएका थिए । चालू आवको छ महिनाको एफडीआई प्रतिबद्धतालाई तुलना गर्दा समेत सात महिनाको अवधिमा लगानी प्रतिबद्धता रकममा वृद्धि भएको छ । छ महिनाको अवधिभन्दा सात महिनाको अवधिमा झण्डै डेढ अर्ब रुपैयाँ बढेको छ ।

लगानीकर्ताहरुले चालू आवको छ महिनाको अवधिमा भने उद्योग क्षेत्रमा १ सय ५० उद्योग स्थापना र ७ हजार ८ सय ६९ लाई रोजगारी दिने गरी ४० अर्ब ६८ करोड ५६ लाख लगानी प्रतिबद्धता जनाएका थिए । विभागका अनुसार नेपालको उद्योग क्षेत्रमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुमा चिनियाँ, भारतीय र बेलायती रहेका छन् । पछिल्लो सात महिनामा सबैभन्दा बढी लगानी रकम प्रतिबद्धता जनाउनेमा चिनियाँ लगानीकर्ता छन् भने त्यसपछि क्रमशः भारतीय र बेलायती लगानीकर्ताहरु छन् ।

चिनियाँ लगानीकर्ताहरुले एक सय १८ वटा उद्योग स्थापना गर्न १७ अर्ब ८९ करोड ९९ लाख, भारतीय लगानीकर्ताले ११ उद्योगका लागि नौ अर्ब ८७ करोड ९९ लाख, बेलायतका लगानीकर्ताहरुले ४ उद्योग स्थापनाका लागि छ अर्ब ६६ करोड ४३ लाख लगानी प्रतिबद्धता जनाएका छन् । यस्तै अष्ट्रेलिया, बंगलादेश, हङकङ, जापान, संयुक्त अरब इमिरेट्स (युएई) पाकिस्तान र मलेसियाका लगानीकर्ताहरुले समेत उद्योग क्षेत्रमा लगानी गर्न चाहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x