यौन हिंसा उन्मूलनको लागि महिला सशक्तीकरण
काठमाडौं । हरेक वर्ष जुन १९ मा मनाउँदै आएको द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस यस वर्ष पनि असार ५ गते अर्थात् जुन १९ को दिन विभिन्न कार्यक्रमका साथ विश्वभर मनाइयो । नेपालको कुल जनसंख्याको आधाभन्दा बढी भाग महिलाहरूले ओगटेका छन् । २०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० मध्ये महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ छ भने पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ छ ।
त्यस्तै विश्वको जनसंख्यामा पनि महिला र पुरुषको जनसंख्या झण्डै आधा–आधा जस्तो पाइन्छ । यी तथ्यांकले के देखाउँछन् भने आधा भाग ओगट्ने पुरुषमात्रको प्रयास र विकासले कुनै पनि घर समाज र राष्ट्रको पूरा विकास हुन सक्दैन । महिला र पुरुष भनेको एउटा रथका दुई पाङ्गा ठीक भएमा मात्र रथ राम्रोसँग गुड्न सक्दछ भनेझैँ समाजमा महिला र पुरुष दुवै पक्षले सहभागिता र विकासले मात्र समाजलाई गति दिन सक्दछ । त्यस्तै घर, समाज र राष्ट्रको पूरा विकास हुनका लागि आधा–भाग ओगट्ने, समाजमा पछि परेका कमजोर महिलावर्गको पनि सहभागितका र विकास हुनु त्यत्तिकै जरुरी हुन्छ । विकास भनेको मानिसहरूको आर्थिक सम्पन्नता, सामाजिक प्रतिष्ठाको वृद्धि गराउनु वा उनीहरूको जीवनलाई गुणस्तरीय बनाउनु हो । सामाजिक विकासका लागि पुरुषहरूको विकाससँगै महिलाहरूको पनि समान विकास हुनु जरुरी छ ।
विकासको विश्वव्यापी सन्दर्भलाई हेर्दा सन् १९७० को दशकदेखि आर्थिक विकासमा केन्द्रित रहेर गरेको विकासबाट सबै नागरिकले लाभ हासिल गर्नसक्ने धारणाले विकास भएको पाइन्छ । जसको फलस्वरूप आधारभूत आवश्यकता परिपूर्ति गर्ने क्रममा महिलाहरूको पनि विकासमा संलग्नताको आवश्यकता छ । तर त्यस सन्दर्भले महिलाको सहभागिता र सौहार्दता पाउन सकेको छैन । त्यसपछि १९८० को दशकमा महिला र पुरुषबीच विकासका पक्षहरू शिक्षा, स्वास्थ्य र रोजगारी आदिमा रहेको खाडल कम गर्न लैंगिक विकासको अवधारणा आयो ।
त्यस्तै १९९० को दशकबाट विकास मानिसमा केन्द्रित हुनुपर्दछ, मानवीय विकास नै महत्वपूर्ण विकास हो, मानिस नै विकासको महत्वपूर्ण साधन हो र लक्ष्य पनि हो भने धारणाको विकास भएको पाइन्छ । त्यसैले वास्तवमा विकासका लागि संसारकै करिब आधा भाग ओगट्ने महिला र पुरुषबीच शिक्षा, स्वास्थ्य, रोजगारका साथै आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा समानताका लागि लैंगिक समानताले सहयोग पु-याउँदछ भन्ने दृष्टिकोण आयो । घरभित्रको सन्दर्भ होस् वा समाज र राष्ट्रको परिवेशमा होस् महिला र पुरुषबीच समानता रहे नरहेको विश्लेषण गर्न लैंगिक समानताको यस अवधारणाले मदत पु-याउँदछ भन्ने प्रसङ्गबाट नै क्रमिकरूपमा लैंगिक समानताको अवधारणा विकास भएको पाइन्छ ।
प्रकृतिले छोरा र छोरीबीच कुनै पनि भेदभाव राख्दैन । आमाको गर्भमा रहँदा बच्चा वा बच्ची जे भए पनि एउटै प्रक्रिया र वातावरण विकसित भइरहेको हुन्छ । तर जन्मनेबित्तिकै भने छोराछोरीबीचको विभेद सुरु भइहाल्दछ । मानिस आफैँले भने आफ्नो सृष्टिमा फरक देख्दछ र असमान व्यवहार गर्दछ । बच्चा जति जति बढ्दै जान्छ छोरा र छोरीबीचको असमान व्यवहार पनि क्रमशः बढ्दै जाने गर्दछ । प्रकृतिको सृष्टिमा मानिस मात्र एउटा यस्तो प्राणी हो जसले आफ्नो सृष्टि र आफू–आफूमै विभेद सिर्जना गरी समस्याको खाडल निर्माण गर्दछ ।
समाजले स्थापित गरेको महिला र पुरुषको कतिपय भूमिकालाई आजको आधुनिक र बदलिँदो विश्व परिवेशमा उचित र शोभनीय मान्न सकिँदैन । कैयौँ समाजमा यस्ता लिंगविभेद र महिला–पुरुषबीचको असमान व्यवहार पाइन्छन्, जसले सामाजिक विकासको गतिमा अवरोध पैदा गरिरहेका हुन्छन् । यस्ता अवरोधहरू हटाई समाजका बदलिँदो लोकतान्त्रिक परिवेशमा प्रत्येक समाजले आफूलाई परिवर्तित र गतिशील बनाउँदै लैजानु पर्दछ । समुन्नत, प्रगतिशील समाज निर्माणका निमित्त महिला र पुरुषको भूमिकालाई समय सुहाउँदो परिवर्तन गर्न आवश्यक हुन्छ । यसै सन्दर्भमा समाजमा स्थापित परम्परागत लिंग विभेद र असमान व्यवहारमा समयानुकूल सुधार गरी महिला र पुरुषबीच समान सहभागिता र अवसर स्थापित गर्नु आवश्यक हुन्छ । यसै सिलसिलामा महिलामा हुने हिंसाले महिला सबलीकरणमा ठूलो असर पु-याएको छ ।
यस लेखमा विशेषगरी द्वन्द्वमा हुने यौन हिंसाबारे संक्षेपमा चर्चा गर्न प्रयास गरिएको छ । लेखकलाई लेख्न पनि दुःख लाग्छ । विभिन्न देशमा युद्ध तथा द्वन्द्वमा यौन हिंसा भई लाखौँ महिला तथा बालबालिकाले ठूलो दुःख पाइरहेका छन् । युद्ध तथा द्वन्द्व समाप्त भएको कयौँ वर्षसम्म महिला पीडित भई आफ्नै समुदाय र परिवारबाट अपहेलित हुन्छन् । यस वर्ष द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसमा युद्धको समयमा भएको पीडितहरूको आवाज संयुक्त राष्ट्रमा अझ बुलन्दर गर्ने योजना भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघले द्वन्द्वसम्बन्धी यौन हिंसालाई यसरी परिभाषा गरेको पाइन्छ, ‘महिलामा बलात्कार, यौन दासत्व, बलजफ्ती बेस्या वृद्धि, गर्भपात जनरबन्दी, विवाह र तुलनात्मक यौन हिंसाको कुनै पनि प्रकारलाईं जनाउँछ ।’ महिला, पुरुष, बालबालिकाविरुद्धका पीडक जो–कोहीलाई पनि यस परिभाषामा प्रतिबद्ध गर्दछ । जुन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा द्वन्द्वमा जोडिएका हुन्छन् । देशमा युद्धको क्रममा अनि पछि यौन हिंसा भई मानिस वर्षेनी पीडक हुँदै आएका छन् । नेपालमा पनि सशस्त्र द्वन्द्वको समयमा यस्तो हजारौँ घटना हामीले देखेका वा भोगेका छौँ ।
युद्धमा भएका यौन हिंसाबाट जन्मेका बालबालिकाको मुद्दा अनि समस्या लामो समयसम्म चल्ने गर्दछ भने महिला हिंसाको बेदनाले ध्वनि र प्रतिध्वनिहरू सताब्दीऔँसम्म चल्ने गर्दछ । युद्धको बेला भएको यौन हिंसापश्चात् असुरक्षित गर्भपतन अनि अन्य यौन प्रजनन समस्याका कारण लाखौँले अकालमा मृत्युवरण गरेका छन् । द्वन्द्वको समयमा बालबालिका जन्मदै द्वन्द्वको सिकार हुन्छन् । यी बालबालिकाको देश तथा अन्य वास्तविक परिचय नुहँदा अधिकांशहरू बेचबिखनमा, मानव तस्करलगायत जोखिमयुक्त क्षेत्रमा लगिन्छ । जुन दर्दनाक अनु दुःखलाग्दो हुन्छ । यस्तो कार्यको सम्बोधन गरी अधिकारको प्रत्याभूति गर्दै विश्वसामु उनीहरूको आवाज लैजान हरेक वर्ष जुन १९ तारिखमा संयुक्त राष्ट्र संघले द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको छ ।
विकासका लागि स्त्री र पुरुषको समान भूमिका हुन्छ । धर्म, संस्कृति र जात जातिअनुसार लोग्ने र स्वास्नीको भूमिका फरक हुने गर्छ । हिन्दु धर्मले महिलालाई अर्धाङ्गिनीका रूपमा लिएको छ । जर्मनहरू पत्नीविनाको मानिस टाउकोविनाको शरीर सम्झने गर्छन् । तर पनि महिला र पुरुषबीचको खाडल घरबाट नै छुट्याइएको हुन्छ । छोरीलाई पैतृक सम्पत्तिबाट वञ्चित गर्नु, पत्नीलाई सेविकाका रूपमा लिनु र निर्णय गर्ने अधिकारबाट वञ्चित गर्नुजस्ता सामाजिक मूल्य र मान्यता नै महिलाहरूलाई पुरुषले गर्ने भेदभावका आधार हुन् । यस्ता भेदभावपूर्ण कार्य पुरुषद्वारा निर्माण गरिएका संस्कारहरू हुन् । यसलाई अन्त्य गर्नु आवश्यक छ । पुरुष र महिला दुवैले घरबाट नै बराबर भूमिका निर्माण गर्नुपर्छ ।
अन्त्यमा के भन्न सकिन्छ भने सरकारले अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरमा व्यक्त गरेका द्वन्द्वमा यौन हिंसा उन्मूलनका प्रतिबद्धता र घोषणाहरू, विकास आयाममा देखापरेका विश्वव्यापी एवं राष्ट्रिय चिन्ता तथा समता, न्याय र शान्तिमा आधारित विकास प्राप्तिप्रतिको धारणाले कुनै पनि मुलुकविशेषका लागि निराकरण गर्दै लानुपर्ने अनिवार्य आवश्यकता देखापरेको छ । जर्जर आर्थिक अवस्थाबाट गुज्रिरहेको हाम्रोजस्तो मुलुक यसको अपवाद बन्न सक्दैन । त्यसैले मुलुकको संसद्मा प्रतिविधित्व गरिरहेका प्रमुख राजनीतिक शक्तिहरूले शासन सम्हालेको वा सम्हाल्ने मौका पाउने प्रत्येक केन्द्रीय सरकार तथा प्रादेशिक तथा स्थानीय निर्वाचित सरकारले यौन हिंसाको निराकरण गरी महिला सशक्तीकरणको दिशामा एकीकृत नीति र कार्यक्रमको सफल कार्यान्वयन गर्नु/गराउनुपर्छ । यसको अतिरिक्त यौन हिंसा निराकरणको लागि सशक्तीकरणको सरकारी प्रयासमा साझेदारी गर्न लागिपरेका संयुक्त राष्ट्रसंघीय एकाइहरू, अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र मुलुकभित्रका सम्बन्धित गैरसरकारी संस्थाहरूले यस प्रयोजनका लागि हालसम्म खर्च गरिएको रकमबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेको जनगुनासो भएकोले सो तितो सत्य स्वीकारेर आफ्नो नीति, कार्यशैली र संस्कृतिमा सुधार गरी प्रभावकारी कार्यक्रम समन्वयात्मक ढंगमा सञ्चालन गर्ने प्रतिबद्धतालाई कर्मथलोमा प्रमाणित गर्नुपर्छ ।
यौनहिंसालाई राजनीतिक एवं पेसागत फाइदाका लागि राष्ट्रिय बहसको मुद्दा मात्र बनाउनुको साटो राष्ट्रिय विकासबाट छुट्याउनै नमिल्ने, नसकिने प्राथमिकताको विषय बनाएर सरकार नै अघि सर्ने साथै अन्य सरोकारवालाहरूलाई समेत राष्ट्रिय प्राथमिकताको यस मुद्दाभित्र समेटेर लैजान सके मात्र सो कार्य सफल भई तवमात्र हरेक वर्ष जुन १९ मा विश्वभर मनाइने द्वन्द्वमा यौन हिंसा उन्मूलन अन्तर्राष्ट्रिय दिवसले सार्थकता पाउनेछ । लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
- विकासमा महिलावादी सिद्धान्तको महत्व
- दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणद्धारा आगोलागि पिडितको घर निर्माण
- यसकारण भ्रष्ट छ नेपालको राजनीति
- आम्दानी र खर्च घटेको अर्थ कसरी सुधारियो ?
- अवैध लागुऔषधसहित तीन जना पक्राउ
- मनाइयो संविधान दिवस
- ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया