Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्रदेश नं. १ मा बैंकहरूको निक्षेपभन्दा कर्जा धैरै

प्रदेश नं. १ मा बैंकहरूको निक्षेपभन्दा कर्जा धैरै

तीन खर्ब ५१ अर्ब निक्षेप संकलन गरी पाँच खर्ब ४२ अर्ब कर्जा प्रवाह


काठमाडौं । प्रदेश नं. १ मा बैंक तथा फाइनान्स कम्पनीहरुले निक्षेपको तुलनामा झण्डै दुर्ई खर्ब रुपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश नं. १ को प्रथम अर्धवार्षिक प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको छ महिनाको अवधिमा उक्त प्रदेशमा निक्षेपभन्दा पनि कर्जा प्रवाह धेरै देखिएको हो ।

प्रतिवेदनअनुसार २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा प्रदेश नं. १ मा अवस्थित बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप परिचालन एक दशमलव चार प्रतिशतले बढेर तीन खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । २०७८ पुस मसान्तमा वार्षिक विन्दुगत आधारमा कुल निक्षेपको वृद्धिदर १२ दशमलव तीन प्रतिशत रहेको थियो । सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोबारमा भएको वृद्धि, तथा बैंकिङ सेवा विस्तार भएकाले उक्त प्रदेशमा निक्षेप परिचालन बढेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार २०७७ पुस मसान्तको तुलनामा २०७८ पुस मसान्तमा उक्त प्रदेशमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३० दशमलव एक प्रतिशतले वृद्धि भई पाँच खर्ब ४२ अर्ब पुगेको छ । २०७८ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा नौ दशमलव छ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २६ दशमलव पाँच प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २०७८ असार मसान्तमा कृषि कर्जाको हिस्सा नौ दशमलव आठ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३० दशमलव ६० प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९ दशमलव सात प्रतिशत थियो ।

२०७८ पुस मसान्तमा प्रदेश नं. १ मा कर्जा निक्षेप अनुपात एक सय ५५ दशमलव दुई प्रतिशत छ । कोभिड १९ का कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले घोषणा गरेको विभिन्न छुट तथा सुविधा, मौद्रिक नीतिले प्रदान गरेको सुविधा, सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा सुविधा, सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, पूर्वाधारको विकास तथा विस्तार आदि कारणले लगानीका लागि वातावरण अनुकूल बन्दै गएकोले कर्जाको माग तथा प्रवाह बढेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०७८ पुस मसान्तसम्म बैंक तथा फाइनान्स कम्पनीहरुले प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश आठ दशमलव छ प्रतिशत, बचत निक्षेपको अंश ४५ दशमलव सात प्रतिशत, मुद्दती निक्षेपको अंश ३९ दशमलव सात प्रतिशत र अन्य निक्षेपको अंश छ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको अंश १० दशमलव आठ प्रतिशत, बचत निक्षेपको अंश ४९ दशमलव छ प्रतिशत, मुद्दती निक्षेपको अंश ३१ दशमलव नौ प्रतिशत र अन्य निक्षेपको अंश सात दशमलव सात प्रतिशत रहेको थियो । २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा निक्षेपकर्ताको संख्या १४ प्रतिशत वृद्धि भई ५४ लाख ९५ हजार पुगेको छ भने ऋणीहरुको संख्या १२ दशमलव नौ प्रतिशत वृद्धि भई दुई लाख ७५ हजार पुगेको छ । २०७७ पुस मसान्तमा निक्षेपकर्ताको संख्या ४५ लाख ६५ हजार र ऋणीहरुको संख्या दुई लाख २३ हजार रहेको थियो ।

यसैगरी २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा विपन्न वर्ग कर्जा १६ दशमलव नौ प्रतिशतले वृद्धि भई ४७ अर्ब ७३ करोड पुगेको छ । २०७७ पुस मसान्तमा उक्त कर्जा ३३ अर्ब ८ करोड रहेको थियो । २०७८ पुस मसान्तसम्म कुल कर्जाको तुलनामा विपन्न वर्ग कर्जाको हिस्सा आठ दशमलव आठ प्रतिशत रहेको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा पुनर्कर्जाको बक्यौता ४६ दशमलव तीन प्रतिशतले वृद्धि भई १५ अर्ब १८ करोड पुगेको छ । २०७७ पुस मसान्तमा उक्त कर्जाको बक्यौता छ अर्ब ४७ करोड रहेको थियो । २०७८ पुस मसान्तसम्म कुल कर्जाको तुलनामा पुनर्कर्जाको हिस्सा दुई दशमलव आठ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तमा सहुलियतपूर्ण कर्जा २० दशमलव दुई प्रतिशतले वृद्धि भई ३२ अर्ब नौ करोड रुपैयाँ पुगेको छ । २०७७ पुस मसान्तमा उक्त कर्जा १६ अर्ब ८५ करोड रहेको थियो । २०७८ पुस मसान्तसम्म कुल कर्जाको तुलनामा सहुलियतपूर्ण कर्जाको हिस्सा पाँच दशमलव नौ प्रतिशत रहेको छ । २०७८ पुस मसान्तमा प्रदेश नं. १ मा कुल एटीएम संख्या पाँच सय ४९ पुगेको छ । यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी एक सय ५२ वटा एटीएम छन् भने खोटाङ जिल्लामा सबैभन्दा कम छवटा एटीएम छन् ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तको तुलनामा २०७८ पुस मसान्तसम्म प्रदेश नं. १ मा बैंक तथा वित्तीय संस्थाका थप एक सय तीनवटा शाखा विस्तार भएका छन् । २०७८ पुस मसान्तसम्म उक्त प्रदेशमा वाणिज्य बंैंकहरुका सात सय ४९, विकास बैंकहरुका एक सय ८५, फाइनान्स कम्पनीहरुका ३० तथा लघुवित्त वित्तीय संस्थाका आठ सय ५२ समेत गरी जम्मा एक हजार आठ सय १६ वटा शाखा छन् । यसमध्ये मोरङ जिल्लामा सबैभन्दा बढी चार सय ४२ र ताप्लेजुङमा सबैभन्दा कम ३७ शाखा रहेको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x