Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविनोद चौधरीकै उद्योगले बिक्री गर्छ उत्पादन मिति र मूल्य उल्लेख नभएको खानेतेल

विनोद चौधरीकै उद्योगले बिक्री गर्छ उत्पादन मिति र मूल्य उल्लेख नभएको खानेतेल


काठमाडौं । नेपालका एकमात्र खर्बपति ‘शंकास्पद‘ उद्योगी/व्यापारी विनोद चौधरीले सर्वसाधारण नागरिकको दैनिक भान्सामा प्रयोग हुने खानेतेलमा कालोबजारी गरेको भेटिएको छ ।

आमनागरिक र देशका लागि भन्दा पनि नितान्त आफ्नो उद्योग र व्यापारलाई संरक्षण गर्नका लागि राजनीतिमा संलग्न चौधरीले आफ्नो ग्रुपअन्तर्गतको कम्पनी सीजी वेल एण्ड डेरिभटिभ्स प्रालिले उत्पादन गरी बिक्री गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा कालोबजारी गरेका छन् ।

संविधानसभामा नेकपा एमालेका सभासद् भएका चौधरी अहिले कांग्रेसको तर्फबाट सांसद र प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकार समेत छन् । राजनीतिमा आबद्ध ‘शंकास्पद‘ उद्योगी/व्यापारी चौधरीले जनताप्रतिको दायित्वलाई पूर्णता बेवास्ता गर्दै नितान्त आफ्नो व्यवसायलाई जसरी पनि कमाइ योजनाका साथ अगाडि बढाएका छन् । अहिलेको चरम महंगीमा जनतालाई राहत दिनुपर्नेमा उनले यही मौका छोपेर खानेतेलमा कालोबजारी गरेका हुन् ।

नेपालमा पछिल्लो समय २२० बाट ३८० प्रतिलिटरसम्म मूल्य पु¥याई बिक्री गरिएको खानेतेलमा चौधरीले बेच्दै आएको शेफ ब्राण्डको तेलको मूल्य नखुलाई बेच्ने गरेको पाइएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को ३८ (ङ) बमोजिम उद्योगीले उत्पादन गरेको कुनै पनि वस्तु तथा सेवाको उत्पादन मिति, प्रयोग गर्ने समय, त्यसले स्वास्थ्यलाई पार्ने असर, त्यसमा गरिएको मिसावट तथा त्यस वस्तुको मूल्य प्रस्ट रुपमा खुलाउनुपर्नेछ ।

तर चौधरी ग्रुपअन्तर्गत रहेको सीजी वेल एण्ड डेरिभटिभ्स प्रालिले उत्पादन गरी बिक्री गर्दै आएको शेफ ब्राण्डको सनफ्लावर तेलमा यसको उत्पादन मिति र यसको बिक्री मूल्य नखुलाई बिक्री गर्दैै आएको पाइएको छ ।

कुनै पनि वस्तुको मुल्य नखुलाई बिक्री गर्दा त्यसले कालोबजारी बढाउने अर्थात् त्यसबाट सर्वसाधारण ठगिने सम्भावना उच्च हुन्छ । चौधरीले पनि एकै पटक कम मूल्य र उपभोग्य मिति नभएको सामानहरु महंगो मूल्यमा बिक्री गरी अर्बौँ घोटाला गरेको पाइएको छ ।

दैनिक उपभोग्य सामानमा नै यसरी खुलेआम कालोबजारी गर्ने चौधरी कार्यकारी अध्यक्ष रहेको चौधरी ग्रुपलाई प्रधानमन्त्री देउवाका नजिकका विश्वास पात्र तथा आर्थिक सल्लाहकार चौधरी भएकै कारण समेत छानबिन हुन सकेको छैन् ।

कालोबजारीको अनुगमन गर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ । विभागका प्रवक्ता समेत रहेका हरि पंगेनीलाई बजारमा मूल्य नलेखिएको चौधरी ग्रुपको शेफ ब्राण्डको तेल बिक्री भइरहेको विषयमा प्रश्न राख्दा आफूहरुलाई सो विषयमा अहिलेसम्म गुनासो नआएको र आफूहरुले गरिरहेको बजार अनुगमनमा समेत त्यस्तो नपाइएको बताए । उनले चौधरी ग्रुपले पछिल्लो समय नेपालमा बिक्रीको लागि ल्याएको चाइनिज ब्राण्डको नेटा भी विद्युतीय गाडीमा कालोबजारी गरेको भन्ने गुनासोमा अनुगमन गरिरहेको र चौधरी ग्रुपकै अर्को ब्राण्ड खानेतेलको कालोबजारीको विषयमा भने विभाग जानकारीमा नरहेको बताए ।

जनताले भेट्ने कालोबजारीमा सरकारले नभेट्ने गरेको यही पहिलो उदाहरण भने होइन । यसअघि पनि विभागका तर्फबाट कालोबजारी भएको नभएको अनुगमन गर्न जाने कर्मचारीहरुले केही नभेटिएको भन्दै फर्किने र त्यही अनुगमन गरेकै ठाउँबाट आम सर्वसाधारणहरुले कालोबजारी भएको प्रमाणसहित विभागलाई जानकारी गराएको प्रशस्तै उदाहरणहरु छन् ।

कालोबजारीविरुद्धको सरकारी अनुगमन गर्ने प्रमुख कार्यालय वाणिज्य विभाग हो र यसको महानिर्देशकमा पछिल्लो समय लिला प्रसाल शर्मा रहेका छन् र शर्माको कार्यकाल सुरु भएपछि आएका कालोबजारीका गुनासोहरुको खासै सम्बोधन हुने नगरेको पीडितहरुले बताउँदै आएका छन् ।

पीडितहरुले भने कालोबजारीको अनुगमन गर्ने निकाय वाणिज्य विभागकै महानिर्देशकले यस्तो विषयमा खासै चासो नदिँदा बजारमा पछिल्लो समय कालोबजारी बढेको आरोप लगाएका छन् । त्यसो त गएको केही दिनदेखि विभागका महानिर्देशक शर्मालाई आर्थिक दैनिकले नै कालोबजारीको विषयमा लगातार सम्पर्क गर्ने र जानकारी दिने गरेको छ तर महानिर्देशक शर्मा भने यस्ता विषयमा गुपचुप बस्दै आएको पाइन्छ । उनले आफ्ना विषयमा समेत प्रश्न उठ्न थाले पनि सामान्य जानकारी समेत मिडियाहरुलाई नगराई जनता ठगी गरी कालोबजारी गर्ने व्यवसायीहरुलाई कुनै कारबाही नगरी बसेको देखिन्छ ।

महंगीले गर्दा जनस्तरबाट सरकारको व्यापक आलोचना भइरहेको समयमा समेत कालोबजारी गरिरहेको प्रमाणसहित आएका समाचारहरुमा वाणिज्य विभागले सामान्य जानकारी नगराउनु अर्थपूर्ण छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x