Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘आईसीटी अवार्ड’को ११ विधामा अनलाइन आवेदन खुल्ला

‘आईसीटी अवार्ड’को ११ विधामा अनलाइन आवेदन खुल्ला


काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको सातौँ संस्करणको अनलाइन नोमिनेसन (आवेदन) सुरु भएको छ । लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुनलागेको ‘आईसीटी अवार्ड २०२२’ को नोमिनेसन शुक्रबारदेखि सुरु भएको हो ।

आईसीटी अवार्डको लागि विभिन्न ११ विधाहरूमा नोमिनेसन खुल्ला गरिएको र अनलाइन नोमिनेसन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । उनका अनुसार आईसीटी अवार्डमा प्रतिस्पर्धी आफैँ वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन् । अवार्डमा नोमिनेसन गर्न आईसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ ।

आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनाले मंसिरमा आयोजना हुनेछ । यो छ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले पाँचभन्दा बढी चरणका छनौट प्रक्रियालाई अगाडि बढाउनेछ । १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रिजेन्टेसन, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ । यस वर्ष २५ भन्दा बढि जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

यस वर्ष नोमिनेसन खुल्ला गरिएको ११ विधाहरुमा स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी तीन विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्बन्धित विधाहरु छन् । आईसीटीको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड छन् । यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड छन् ।

यस वर्ष आयोजकले गत चैत र जेष्ठ महिनामा सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना गर्दै प्रदेशस्तरीय उत्कृष्ट स्टार्टअपहरु छनौट गरिएको आयोजक समितिका अध्यक्ष लम्सालले बताए । ११ विधाबाहेक हरेक प्रदेशका उत्कृष्ट स्टार्टअपहरुले ग्राण्ड फिनाले कार्यक्रममा सम्मान प्राप्त गर्नेछन् । यसैगरी अन्तर्राष्ट्रियस्तरलाई पनि लक्षित गरेर केही समयपश्चात् कुनै एक विधा घोषणा गरिने आयोजकले जनाएको छ ।

यसैगरी काठमाडौंमा सातै प्रदेशबाट छनौट भएको ४० बढी स्टार्टअप र अवार्डबाट तेस्रो चरणमा छनौट हुने दर्जनौँ स्टार्टअपहरुको विशेष सेसन ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ काठमाडौंमा पनि सञ्चालन हुनेछ । गत वर्ष आयोजना भएको एफवान सफ्ट आईसीटी अवार्डमा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x